काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको २८औँ वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । काठमाडौंको नक्सालस्थित एक बैङ्क्वेटमा सम्पन्न सभाले कम्पनीले शेयरधनीहरुलाई चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश दिने यसअघिको प्रस्तावलाई परित गरेको छ ।
सभामा नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले कम्पनीले गत आर्थिक वर्षमा कम्पनीको प्रिमियम ६.३२ प्रतिशतले वृद्धि भई ३ अर्ब ८६ करोड ५९ लाख बीमा प्रिमियम संकलन गर्न सफल भएको जानकारी दिए ।
उनका अनुसार समीक्षा वर्षमा कम्पनीले कूल २ अर्ब ४६ करोड ३३ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ भने सरकारलाई विभिन्न कर वापत कूल ७९ करोड ८७ लाख रुपैयाँ बुझाएको छ । साथै, उनले कम्पनीको पानीपोखरी स्थित ११ तल्ले नयाँ भवन माघ भित्र सञ्चालनमा ल्याइने सभालाई जानकारी गराउँदै प्रधान कार्यालय नयाँ भवनमा स्थानान्तरण गरेर अन्य तल्ला भाडामा उपलब्ध गराइने बताए ।
संचालक समितिका अध्यक्ष हेमराज ढकालले कम्पनीलाई यहाँसम्म ल्याउन सहयोग पुर्याउने नियामक निकायदेखि सरोकारवाला सबैलाई धन्यवाद दिए । उनले सरकाले अघि बढाइरहेका नीतिगत पहलकदमी, आर्थिक सूचकांकहरुमा देखिन थालेको र क्रमिक सुधार तथा शेयर बजारमा देखिएको सकारात्मक संकेतले समग्र आर्थिक गतिविधि क्रमशः सुदृढ हुँदै गएकाले यसले व्यवसायिक वातावरणमा पनि सकारात्मक प्रभाव पार्ने धारणा राखे ।

ढकालले विश्व बजारमा तीव्र आर्थिक प्रतिस्पर्धा रहेको वर्तमान परिवेशमा सूचना प्रविधिको माध्यामबाट छरितो, सुरक्षित र प्रभावकारी सेवा प्रदान गर्नु अपरिहार्य बन्दै गएको र यही आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले प्रविधिमैत्री सेवामा जोड दिँदै आएको बताए । चालु आर्थिक वर्षमा कम्पनीलाई अझै बढी डिजिटल, सरल र ग्राहक मैत्री बनाउने लक्ष्य रहेको पनि सभालार्ई जानकारी गराए ।
सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीले देशको सातै वटै प्रदेशमा रहेका ९० वटा शाखा सञ्जालबाट आफ्नो बलियो उपस्थिती सहित ५३१ जना कर्मचारीहरु, ४३० अभिकर्ताहरु र १९२ सर्भेयरहरु मार्फत आफ्ना ग्राहक वर्गमा सेवा प्रदान गरिरहेको जानकारी दिए ।
बीमा बजारलाई स्वच्छ, पारदर्शी र भरपर्दो बनाउँदै बीमितको हकहितको संरक्षणसहित आफ्नो दायित्वप्रति कम्पनी सदैव प्रतिबद्ध रहँदै आएको श्रेष्ठले बताए ।















प्रतिक्रिया दिनुहोस्