बरहथवा (सर्लाही) । गोलभेँडाको बजार मूल्य राम्रो भएपछि यसपटक सर्लाहीका किसान निकै उत्साहित बनेका छन् । गोलभेँडाको सहरका रूपमा परिचय बनाएको यहाँको हरिवन, लालबन्दी, ईश्वरपुर, बागमतीलगायत स्थानका किसानलाई यतिबेला गोलभेँडा टिप्ने र बजार लैजाने चटारो छ ।
हरिवन नगरपालिका–१ भोक्टेनीका किसान रामबहादुर महतोले गोलभेँडाबाट यसपटक नसोचेको मूल्य पाएको बताए । उनको अनुहारमा यसपटक युद्ध जितेको सिपाहीको जस्तै सन्तुष्टि देखिएको छ । महतोले यस वर्ष तीन बिघा खेतमा गोलभेँडा रोपेका थिए । ‘१२ कट्ठाको गोलभेँडा सिजनको सुरु असोजबाटै निस्कन सुरु भयो। अहिलेसम्म पनि बेचिरहेको छु ।’ यस वर्ष गोलभेँडा क्रेटको एक हजार ७०० देखि दुई हजार ७०० रुपैयाँ सम्ममा बेचेको उनले सुनाए । अहिलेसम्म १२ कट्ठा खेतबाट महतोले आठ लाख बढीको गोलभेँडा बिक्री गरिसकेका छन् ।
अझै एक डेढ लाखको बिक्री हुने उनको अनुमान छ । विगत २० वर्षदेखि गोलभेँडाखेती गर्दै आएका उनले गत वर्ष भने गोलभेँडामा लगानीसमेत डुबेको सुनाए । अरुको जग्गा भाडामा लिएर लगाएको पाँच बिघा गोलभेँडा टिप्ने पैसासमेत नआएपछि खेतमै ट्र्याक्टर लगाएको उनको भनाइ छ । त्यसको डरले यस वर्ष उनले खेती घटाएर तीन बिघामा मात्र गोलभेँडा लगाएका थिए । यस वर्षजस्तो गोलभेँडाको भाउ उनलाई थाहा भएअनुसार कहिले पाएको थिएन । यस वर्ष गोलभेँडाले पाएको मूल्य ऐतिहासिक रहेको किसानको भनाइ छ । गत वर्ष गोलभेँडाखेतीबाट लागेको झण्डै १० लाख ऋण यस वर्षको आम्दानीले लगभग तिरेको उनले सुनाए । ‘धेरै ऋण तिरिसकेँ, अब थोरै बाँकी छ। अझै गोलभेँडा बेच्न बाँकी छ । यस वर्ष ऋण पूरै तिरिन्छ होला’, महतोले भने ।
गत वर्ष गोलभेँडाको मूल्य नपाएपछि खेतीबाट पछि हटेका धेरै किसान यतिबेला निकै पछुतो मानिरहेका छन्भने गत सिजनको घाटा बिर्सिएर गोलभेँडा रोप्ने अधिकांश किसान निकै खुसी छन् । गत वर्ष सुरुमा निकालेको बाहेक गोलभेँडाले मूल्य नपाउँदा धेरै किसानले गोलभेँडा खेतमै जोत्नुपरेको थियो । त्यही डरले यसपटक धेरै किसानले गोलभेँडा रोप्ने आँट गरेनन् ।
जसले गर्दा बजारमा गोलभेँडाको मागअनुसार उत्पादन नभएको स्थानीय व्यापारी विनोद खड्का बताउँछन् । उनका अनुसार यस वर्ष परेको बेमौसमी वर्षा र गत वर्ष मूल्यमा आएको गिरावटका कारण मूल्यवृद्धिमा सहयोग पुगेको हो । ‘बेमौसमी वर्षाले नेपाल र भारत दुवैतर्फ गोलभेँडाखेतीमा क्षति पुगेको छ । त्यसले गर्दा बजारमा आपूर्ति कम र माग बढी भएपछि मूल्य बढ्नु सामान्य नियम हो’, उनले सुनाए।
यस वर्ष गोलभेँडाले राम्रो मूल्य पाउनु दोस्रो कारण भारतीय गोलभेँडा नेपाली बजार भित्रिन नपाउनु पनि रहेको व्यवसायीको भनाइ छ । विगत वर्षहरूमा यसबेला नेपाली बजारमा भारतीय गोलभेँडा छ्यापछ्याप्ती हुने गरेको थियो । तर, यस वर्ष वर्षात्का कारण खेतीमै क्षति पुगेपछि उतै मागअनुसारको आपूर्ति छैन । त्यसले गर्दा भारतमै गोलभेँडा महँगो भएको व्यवसायी खड्काको भनाइ छ । यस घटनाले नेपालको उत्पादनले उपयुक्त मूल्य पाउन भारतीय उत्पादन खुला रूपमा नेपाल भित्रिने परिपाटी बन्द हुनुपर्ने स्पष्ट भएको धेरै किसानको धारणा छ। गोलभेँडामात्र नभई यस क्षेत्रमा उत्पादन भएका हरेक हरियो तरकारीले समेत यस वर्ष ऐतिहासिक मूल्य पाएको छ । यस वर्ष भान्टा प्रतिकट्ठा रु एक लाख बढीको बिक्री गरेको स्थानीय किसान धनबहादुर तामाङले सुनाए ।
‘पाँच कट्ठामा लगाएको भान्टा अहिलेसम्म पाँच लाख ३३ हजारको बेचिसकेँ’ तामाङले भने। भान्टा निस्किन सुरु भएदेखि अहिलेसम्म तामाङले ७० देखि १२० रुपैयाँ प्रतिकेजी मूल्य पाइरहेको सुनाए । भान्टाको मूल्य पनि यसपटक निकै लामो समय एकैनास रहेको थियो । सँगै लगाएका छिमेकीको भान्टाको बोट बेमौसमी वर्षाले मरेको तर, आफूले निकै मिहिनेत गरेर जोगाएको बोटबाट राम्रो उत्पादन भएको उनको भनाइ छ । हरिवन नगरपालिका–२ का किसान गिरिराज खरेलका अनुसार विगतमा पनि गोलभेँडाको मूल्य सुरुमा राम्रो रहने गरेको थियो । सिजनको सुरुमा चार हजार क्रेटसम्म किसानले लिने गरेका उनको अनुभव छ । तर, हप्ता दिन नबित्दै चार सय क्रेटमा झर्ने गरेको थियो । ‘सिजनको तेस्रो हप्ताबाट मुस्किलले तीन सयदेखि चार सय प्रतिक्रेट किसानले पाउने गरेका थिए । तर, यसपटक त्यसो भएन’, खरेलले भने।
यसपटक किसानले चार महिनासम्म एकैनासको मूल्यमा गोलभेँडा बेच्न पाएका छन् । अझै केही समय गोलभेँडाको मूल्य यस्तै रहने उनको अनुमान छ । आफूले विगत २९ वर्षदेखि गोलभेँडाखेती गर्दै आएको बताउने खरेलले यतिको राम्रो मूल्य अहिलेसम्म आफूलाई थाहा नभएको बताउँछन् । गत वर्ष ऋणमा डुबेका गोलभेँडा किसानले यस सिजन खेतबारी जोड्ने हैसियत बनाएका उनको दाबी छ । सिजनको सुरुमा र अन्तिममा दुईपटक भाउ पाउँदै आएको गोलभेँडाका लागि यस सिजन स्वर्ण वर्षका रूपमा र आएको उनको भनाइ छ ।
हरिवन नगरपालिका–१ का जितेन्द्र महतोले पनि गत वर्ष गोलभेँडा खेतीबाट ऋण बोक्नुपरेको थियो । तर यस वर्ष सबै ऋण तिर्ने उनको योजना छ । तीन बिघा खेतमा गोलभेँडा लगाएका उनले सात लाखबराबरको गोलभेँडा बजारमा बेचिसकेका छन् । गोलभेँडाको मूल्य स्थिर रहने मेसो पाएपछि उनले अन्य किसानको गोलभेँडा खेतसमेत हुण्डामा किनेर गोलभेँडा बजार पुर्याइरहेको बताए ।
जिल्लाको उत्तरी क्षेत्र सिँचाइको हिसाबले असुविधा भएका कारण यहाँका किसान तरकारीखेतीमा निर्भर छन् । यहाँ सिँचाइको एकमात्र विकल्प डिपबोरिङ हो । त्यसैले कम सिँचाइले हुने खेती गोलभेँडा, परवल, बोडी, सिमी, काक्रो, करेला, काउली, भान्टा, बन्दा, भिण्डी, खोर्सानीलगायत हरिया तरकारी यहाँ धेरै मात्रामा उत्पादन हुने गरेको छभने यहाँ उत्पादित तरकारी हरेक दिन लालबन्दीस्थित कृषि थोक बजारमा सङ्कलन गरेर व्यापारीले देशका प्रमुख सहरसम्म पुर्याउने गरेका छन् ।
काठमाडौं, हेटौँडा, विराटनगर, वीरगन्ज, बुटवललगायत सहरबाट व्यापारी तरकारी लिन सर्लाहीको लालबन्दीसम्म आइपुग्ने गरेका कृषि थोक बजार लालबन्दीका व्यवस्थापक शम्भुप्रसाद घिमिरेले जानकारी दिए । रासस
















प्रतिक्रिया दिनुहोस्