काठमाडौं । नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल ब्रान्ड गुरु ट्राभल्स लिमिटेड र क्यान्सर नियन्त्रण तथा जनचेतना अभिवृद्धिमा सक्रिय गैर-नाफामुखी संस्था क्यान्सर काउन्सिल नेपाल बीच सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न जनचेतनामूलक तथा सामुदायिक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले समझदारीपत्र मा हस्ताक्षर भएको छ।
यस साझेदारी अन्तर्गत दुवै संस्थाले देशभर क्यान्सरसम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्ने, विद्यालय तथा कलेजहरूमा सचेतनामूलक अभियान सञ्चालन गर्ने, निःशुल्क स्वास्थ्य शिविर तथा प्रारम्भिक जाँच कार्यक्रम आयोजना गर्ने तथा क्यान्सर बिरामी र तिनका परिवारलाई सहयोग पुर्याउने लक्ष्य राखेका छन्। साथै, पर्यटनसँग जोडिएका स्वास्थ्य सचेतनामूलक यात्रा कार्यक्रम तथा समुदाय केन्द्रित गतिविधिहरूमा समेत सहकार्य गर्ने सहमति भएको छ।
सन् २००९ मा स्थापना भएको क्यान्सर काउन्सिल नेपाल क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि, प्रारम्भिक पहिचान, उपचार सहयोग तथा पालीएटिभ केयर क्षेत्रमा सक्रिय रूपमा कार्यरत संस्था हो। विशेष गरी ग्रामीण तथा दुर्गम क्षेत्रमा यस संस्थाले नियमित रूपमा सचेतना कार्यक्रम र निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ।
त्यसैगरी, गुरु ट्राभल्स लिमिटेड नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल ब्रान्डको रूपमा स्थापित भई आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटन, MICE, साहसिक यात्रा तथा विविध पर्यटन सेवाहरू प्रदान गर्दै आएको छ।
यस सहकार्यबारे बोल्दै गुरु ट्राभल्स लिमिटेडका कार्यकारी अधिकृत नवराज धरेलले भने, ‘हाम्रो उद्देश्य केवल पर्यटन सेवा प्रदान गर्नु मात्र नभई समाजप्रति जिम्मेवार भई सकारात्मक परिवर्तन ल्याउनु पनि हो। क्यान्सर काउन्सिल नेपालसँगको यो सहकार्यले देशभर स्वास्थ्य सचेतना फैलाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएका छौं।’
त्यस्तै, क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुदलाल कडरियाले भने, ‘क्यान्सर जस्तो जटिल रोगविरुद्ध लड्न सामूहिक प्रयास आवश्यक छ। गुरु ट्राभल्स लिमिटेड जस्तो संस्थासँगको सहकार्यले हाम्रो अभियानलाई अझ व्यापक बनाउन मद्दत पुग्नेछ।’
यस समझदारीपत्रमार्फत दुवै संस्थाले दीर्घकालीन सहकार्य गर्दै समाजमा स्वास्थ्य सचेतना वृद्धि, क्यान्सर नियन्त्रण तथा समुदाय सशक्तीकरणमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।















प्रतिक्रिया दिनुहोस्