Advertisement
Advertisement
Corporate Samachar
२० जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

आठपहरिया समुदायले मनाए बैशाखे बिसु पर्व

आठपहरिया समुदायले मनाए बैशाखे बिसु पर्व
विज्ञापन
Advertisement

मोरङ । किरात आठपहरिया समुदायको महत्त्वपूर्ण सांस्कृतिक पर्व वैशाखे बिसु यस वर्ष पनि उर्लाबारी–९ इन्द्रेझोडामा परम्पराअनुसार विभिन्न धार्मिक तथा सांस्कृतिक विधिसहित सम्पन्न भएको छ ।
परम्परा, संस्कार र सामुदायिक एकतालाई जोड्ने यो पर्व बहु दिनसम्म मनाइने विशेषता बोकेको छ ।
बिसु पर्वको सुरुवात भूमि पूजाबाट गरिन्छ । यसलाई प्रकृतिप्रति आस्था र सम्मानको प्रतिकका रूपमा लिने गरिन्छ । दोस्रो दिन मार्ग थान (पूजा स्थल) को सरसफाइ तथा लिपपोत गरिन्छ, जसले पवित्रता र धार्मिक तयारीको सङ्केत गर्दछ । तेस्रो दिन मार्ग थानमै कुखुरा र सुँगुरको बलि चढाउने चलन रहिआएको छ, जसलाई देवीदेवताप्रति श्रद्धा अर्पण गर्ने विधिका रूपमा लिइन्छ।
चौथो दिन ‘भेजो’ अर्थात् राँगा र सुँगुरको सामूहिक भोज आयोजना गरिन्छ, जहाँ गाउँलेहरू एकै ठाउँमा भेला भई परिकार बाँडेर खाने परम्परा छ । पाँचौँ दिन पितृ पूजा गरी आफ्ना पुर्खाहरूको सम्झना गरिन्छ भने छैटौँ दिन गाउँका बुढापाका र युवायुवतीहरू मिलेर सामूहिक वनभोज आयोजना गर्ने चलन रहेको छ ।
यद्यपि पछिल्लो समय जीवनशैलीको परिवर्तनसँगै वनभोजको प्रचलन क्रमशः घट्दै गएको स्थानीयहरू बताउँछन् ।
यसैबिच, इन्द्रेझोडामा आयोजित बिसु कार्यक्रममा ‘तारा आप्पन’ (तिर–धनुष बाण) प्रतियोगिता मुख्य आकर्षणका रूपमा रहेको थियो ।
प्रतियोगिताले परम्परागत खेलकुदलाई संरक्षण गर्नुका साथै नयाँ पुस्तामा सांस्कृतिक ज्ञान हस्तान्तरण गर्ने काम गरेको सहभागीहरूले बताएका छन्।
कार्यक्रम किरात आठपहरिया नेपाल, मोरङका अध्यक्ष गजेन्द्र आठपहरियाको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रमुख अतिथिका रूपमा धुब्र आठपहरिया, केन्द्रीय सदस्य निरुपा आठपहरिया, केन्द्रीय सदस्य तथा उर्लाबारी–९ का जनप्रतिनिधि गणेश किम्दाङ आठपहरिया, तथा भाषा तथा साहित्य विभागका संयोजक बिक्षा आठपहरियाको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन मोहन कुमारी राईले गरिन । प्रतियोगिताका पुरस्कारको सौजन्य गणेश किम्दाङले गरेका थिए ।
आठपहरिया समुदायले बिसु पर्वपछि भदौरे (न्वागी) र मङ्सिरे (वाडाङ्मेट) पर्वसमेत विशेष रूपमा मनाउने गर्दछन्। तीमध्ये वाडाङ्मेटलाई सबैभन्दा ठुलो चाडका रूपमा लिइन्छ । यी पर्वहरूले कृषि चक्र, प्रकृतिप्रति श्रद्धा र सामुदायिक जीवनशैलीसँग गहिरो सम्बन्ध राख्छन्।
फरक पहिचान, भाषा र संस्कार बोकेको आठपहरिया समुदायले आफूलाई आदिवासी जनजातिमा सूचीकृत गर्न माग गर्दै आए पनि हालसम्म त्यसतर्फ पर्याप्त सुनुवाइ हुन सकेको छैन ।
समुदायका अगुवाहरूले आफ्नो मौलिक पहिचान संरक्षण र राज्य स्तरबाट मान्यता प्राप्त गर्नुपर्ने आवश्यकता औँल्याउँदै आएका छन्।
समग्रमा, वैशाखे बिसु पर्वले केवल धार्मिक आस्था मात्र नभई सामाजिक एकता, सांस्कृतिक संरक्षण र पुस्तान्तरणको सशक्त माध्यमका रूपमा आफूलाई स्थापित गर्दै आएको छ।

विज्ञापन
Advertisement
Advertisement
साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit