तेह्रथुम । तेह्रथुममा अनधिकृत रूपमा यार्सागुम्बा सङ्कलन गरेको आरोपमा चार जना पक्राउ परेका छन्। पक्राउ परेकाहरूबाट १३ थान यार्सागुम्बा र नौ वटा मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय तेह्रथुमका सूचना अधिकारी प्रहरी निरीक्षक राजाबाबु ठाकुरका अनुसार पक्राउ पर्नेमा मादी नगरपालिका–९ का जीवन लिम्बू, कर्णबहादुर लिम्बू, बादल लिम्बू र हर्कबहादुर श्रेष्ठ रहेका छन् । उनीहरूले म्याङ्लुङ नगरपालिकाबाट आवश्यक अनुमति नलिई यार्सागुम्बा सङ्कलन गरेको आरोप छ।
विज्ञापन
प्रहरीका अनुसार म्याङ्लुङ नगरपालिका–६ स्थित भुसीने–जिपटारे सामुदायिक वन क्षेत्रमा २० देखि २५ जनाको समूहले यार्सागुम्बा सङ्कलन गरिरहेको सूचनाका आधारमा मंगलबार प्रहरी टोली परिचालन गरिएको थियो। मोटरसाइकल राखिएको स्थानमा पुगेको टोलीले यार्सागुम्बासहित चार जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका व्यक्तिहरूलाई थप कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।
डिभिजन वन कार्यालयका वन अधिकृत बद्रीप्रसाद शाहका अनुसार यार्सागुम्बा सङ्कलन गर्न सम्बन्धित निकायबाट अनुमति लिएर राजस्व तिर्न अनिवार्य छ। अनधिकृत रूपमा यार्सागुम्बा सङ्कलन गरेको पाइएमा प्रतिकिलो ३१ हजार रुपैयाँका दरले जरिवाना हुने तथा प्रतिवटा ३१ रुपैयाँसमेत जरिवाना लाग्ने व्यवस्था रहेको उनले बताए।
डिभिजन वन कार्यालयका सूचना अधिकारी सन्नी झाका अनुसार यार्सागुम्बा निर्यातबाट वार्षिक करिब तीन लाख रुपैयाँ तथा काठजन्य वन पैदावारबाट चारदेखि पाँच करोड रुपैयाँसम्म राजस्व सङ्कलन हुँदै आएको छ।
प्रतिक्रिया दिनुहोस्