काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी ६०औं वार्षिक साधारण सभा तथा निर्वाचनका लागि सरगर्मी बढेको छ। यसै क्रममा नेपाल स्टक ब्रोकर एशोसिएशनका अध्यक्ष सागर ढकालले महासंघको वस्तुगत तर्फबाट केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
एशोसिएशनको हालै बसेको कार्यसमिति बैठकले अध्यक्ष ढकाललाई सर्वसम्मत रूपमा महासंघको केन्द्रीय सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको थियो । पुँजी बजारको विकास र निजी क्षेत्रको साझा समस्या समाधानका लागि ढकालको उपस्थिति आवश्यक रहेको भन्दै एशोसिएशनले उनलाई जिताउन उल्लेखनीय भूमिका खेल्ने प्रतिबद्धता समेत जनाएको छ।
पुँजी बजारलाई अर्थतन्त्रको मेरुदण्ड बनाउने लक्ष्य
उम्मेदवारी घोषणा गर्दै अध्यक्ष ढकालले नेपालको पुँजी बजारमा ७२ लाखभन्दा बढी लगानीकर्ताहरू आबद्ध भइसकेको र बजार पूँजीकरण ५० खर्बको हाराहारीमा पुगेकाले यस क्षेत्रलाई उपेक्षा गर्न नमिल्ने बताए । यसलाई सशक्त बनाएर देशको आर्थिक संमृद्धिमा टेवा पुर्याउन बजारको नीतिगत सुधारका लागि आफूले भूमिका खेल्ने उनको भनाइ छ। ‘पुँजी बजार अब केवल शेयर कारोबारको थलो मात्र होइन, यो समग्र अर्थतन्त्रको ऐना हो। यसलाई सशक्त बनाएर मात्रै मुलुकको आर्थिक समृद्धि सम्भव छ। लगानीकर्ताको हकहित र बजारको नीतिगत सुधारका लागि मैले महासंघमा प्रतिनिधित्व गर्न लागेको हुँ।’
नीतिगत लबिङ र व्यवसायीका समस्या
ढकालका अनुसार हाल उद्योगी र व्यवसायीहरूले भोगिरहेका प्रक्रियागत झन्झट र नीतिगत अस्पष्टता हटाउन सरकारसँग बलियो लबिङको आवश्यकता छ। उनले जलविद्युत, होटल, पर्यटन र कृषि क्षेत्रमा समेत आफ्नो लगानी र अनुभव रहेकाले ती क्षेत्रका समस्यालाई पनि महासंघको प्लेटफर्ममार्फत उठाउने बताए । ‘अहिले पुँजीबजारका साथै नेपालका उद्योग व्यवसायमा धेरै समस्या छन्’ उनले भने, ‘सरकारले ती समस्या समाधान गर्न आलटाल गर्दै आएको छ। जेन्जी आन्दोलनपछि दुईतिहाइको नयाँ सरकार बन्ने क्रममा रहेको र अब बन्ने सरकारलाई व्यवसायीका समस्या समाधान गरी माग सम्बोधन गराउनका लागि पनि मैले महासङ्घको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको हुँ ।’
विशेष गरी देशमा भर्खरै सम्पन्न आम निर्वाचन र नयाँ सरकार बन्ने क्रममा रहेकाले निजी क्षेत्रका मागहरूलाई नयाँ बन्ने सरकारसमक्ष प्रभावकारी ढंगले राख्न आफ्नो उम्मेदवारी महत्वपूर्ण हुने उनको दाबी छ।







कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्