Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

निजी क्षेत्रलाई सम्मान र सुरक्षा दिए आर्थिक रूपान्तरण सम्भव : महासंघ अध्यक्ष ढकाल

निजी क्षेत्रलाई सम्मान र सुरक्षा दिए आर्थिक रूपान्तरण सम्भव : महासंघ अध्यक्ष ढकाल
विज्ञापन
Advertisement

 काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाले निजी क्षेत्रलाई सम्मानित र सुरक्षित वातावरण उपलब्ध गराए देशको आर्थिक रूपान्तरण तीव्र गतिमा सम्भव हुने बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले महासंघको ६० वर्षको यात्रा केवल समयको गणना नभई नेपालको आर्थिक इतिहासमा संघर्ष, साझेदारी र दृढ संकल्पका आधारमा निर्माण भएको महत्वपूर्ण चरण भएको उल्लेख गरे।

उनले यस अवधिमा महासंघले निजी क्षेत्रको आवाज सशक्त बनाउँदै उद्योग, व्यापार र लगानीको वातावरण निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताए।

अध्यक्षले पछिल्लो समय गठन भएको स्थायी सरकार र निजी क्षेत्र प्रवर्द्धन तथा संरक्षण रणनीति को कार्यान्वयनलाई सकारात्मक कदमका रूपमा उल्लेख गर्दै यसले निजी क्षेत्रको भौतिक मात्र नभई नीतिगत सुरक्षासमेत सुनिश्चित गर्ने विश्वास व्यक्त गरे। उनले आर्थिक सुधारका लागि गठित उच्चस्तरीय आयोगका सुझाव कार्यान्वयनमा सरकारले चासो देखाएकोप्रति पनि स्वागत जनाए।

उनका अनुसार मुलुक अहिले अभूतपूर्व अवसरको चरणमा रहेको छ। ‘स्थायित्वसँगै नीतिगत स्पष्टता आए विकासले गति लिन सक्छ,’ उनले भने, ‘तर विगतका अवसरहरू जस्तै यसपटक पनि चुक्न नहुनेमा ध्यान दिनुपर्छ।’

अध्यक्षले देशमा रोजगारी सिर्जना मुख्य चुनौतीका रूपमा रहेको उल्लेख गर्दै हरेक वर्ष श्रम बजारमा प्रवेश गर्ने लाखौँ युवालाई अवसर दिन निजी क्षेत्रलाई थप सक्षम बनाउनुपर्ने बताए। उनले देशभित्रै उच्च ज्याला सहितको रोजगारी सिर्जना गर्न नसके निराशा बढ्ने चेतावनी दिए।

उनले नेपालको अर्थतन्त्र विगत तीन दशकमा औसत ४ प्रतिशत मात्र वृद्धि भएको र प्रत्यक्ष वैदेशिक लगानी अपेक्षाअनुसार भित्रिन नसकेको उल्लेख गर्दै अब नयाँ चरणको आर्थिक सुधार आवश्यक रहेको बताए। ऊर्जा, कृषि, पर्यटन र खनिज क्षेत्रका सम्भावनाको पूर्ण उपयोग गर्दै लगानी वृद्धि गर्नुपर्नेमा उनले जोड दिए।

अध्यक्षले सुशासनलाई लगानीको प्रमुख आधारका रूपमा प्रस्तुत गर्दै प्रविधिको अधिकतम प्रयोग र सदाचार प्रवर्द्धनमार्फत पारदर्शिता कायम गर्नुपर्ने बताए। उनले सरकारी सेवा प्रणालीलाई डिजिटल बनाउँदै नागरिक एपमार्फत व्यवसाय दर्तादेखि अन्य सेवाहरू उपलब्ध गराउनुपर्ने सुझाव पनि दिए।

महासंघले स्वदेशी पुँजी परिचालन गरी १० अर्ब रुपैयाँको लगानी कम्पनी स्थापना गरिसकेको जानकारी दिँदै उनले यसले ठूला आयोजना सञ्चालनमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे। साथै, विदेशी लगानी आकर्षित गर्न विभिन्न देशमा आयोजना गरिएका बिजनेस समिटहरूले सकारात्मक संकेत दिएको बताए।

उनले निजी क्षेत्रले अब आर्थिक सुधारको नेतृत्व लिनुपर्ने धारणा राख्दै सरकारसँग मात्र स्रोतको अपेक्षा नगरी स्वयं सक्रिय हुन व्यवसायीहरूलाई आह्वान गरे।
स्थानीय तथा प्रदेश सरकारसँग सहकार्य गर्दै नयाँ अवसर सिर्जना गर्नुपर्नेमा पनि उनले जोड दिए।

सम्बोधनको अन्त्यमा उनले विगतका चुनौतीहरू—भूकम्प र कोभिड–१९ महामारी—बाट उठ्दै आएको निजी क्षेत्र अब अझ सशक्त बनेको उल्लेख गर्दै भविष्यप्रति आशावादी रहन उद्योगी व्यवसायीहरूलाई आग्रह गरे।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit