Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

नेता गोजीमा राखेर १६ अर्ब कुम्ल्याउनेले देशै कब्जा गरेछन् : अर्थमन्त्री 

नेता गोजीमा राखेर १६ अर्ब कुम्ल्याउनेले देशै कब्जा गरेछन् : अर्थमन्त्री 
विज्ञापन
Advertisement

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको पुँजी बजार र राजनीतिक संस्थाहरूलाई केही सीमित समूहले कब्जामा लिएर आम जनताको अर्बौँ रुपैयाँ अपचलन गरेको खुलासा गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार संघीय संसद्को अर्थ समितिको बैठकमा बोल्दै मन्त्री वाग्लेले विगतमा नीतिगत भ्रष्टाचारमार्फत आर्थिक प्रणालीलाई भड्खालोमा हाल्ने प्रयास भएको दाबी गरे। अर्थमन्त्री वाग्लेका अनुसार विगत केही वर्षदेखि पुँजी बजारमा सीमित समूहले १५ देखि १६ अर्ब रुपैयाँ दुरुपयोग गरेका छन्। उनीहरुले राजनीति प्रभावको आधारमा पुँजीबजार र अन्य संस्थाहरुलाई कब्जामा पारेर निश्चित समूहले बजार म्यानुपुलेसन र इन्साइडर ट्रेडिङमार्फत अर्बौँको चलखेल गरेको बताए ।

‘विगत केही वर्षमा यी संस्था केही व्यक्तिको कब्जामा गएको यथार्थ हो, जनताको १५–१६ अर्ब पैसा अपचलन गरेर मार्केट म्यानुपुलेसन, इन्साइडर ट्रेडिङ गरेर अकूत सम्पत्ति जम्मा गरेको पाइयो,’ अर्थमन्त्री वाग्लेले भने ।

देशको बिग्रँदो अवस्थालाई जेन–जी पुस्ताको हस्तक्षेपले जोगाएको अर्थमन्त्रीको तर्क छ। ‘प्रभावशाली समुहले नेतालाई उनीहरूको गोजीमै राखेर, देशका आर्थिक संस्थाहरू कब्जा गरेको कटु यथार्थ हो’ अर्थमन्त्रीले भने,‘ जेन–जी आन्दोलन नभएको भए हामी साँच्चिकै भड्खालोमा जाकिने क्रममा रहेछौँ। उनीहरूको हस्तक्षेपले मुलुकलाई गलत दिशामा जानबाट रोकेको छ।’

यस्तै, उनले सरकारले अब पुँजी बजारलाई पारदर्शी र विश्वस्तरीय बनाउन सुशासन केन्द्रित योजना ल्याउने बताए। उनका अनुसार स्टक एक्सचेन्जको पुनर्संरचनाका लागि गठित समितिले दिएको सुझाव सरकारले तत्काल कार्यान्वयन गर्नेछ । साथै, आगामी बजेटमार्फत पुँजी बजार सुधारका लागि थप ठोस र उदार नीतिहरू घोषणा गरिने उनको भनाइ थियो ।

प्रधानमन्त्रीको रणनीति अनुसार पहिलो वर्ष सुशासनमा केन्द्रित हुने र त्यसपछि विकास निर्माणलाई गति दिने अर्थमन्त्रीको भनाइ छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit