बारा । बाराको सदरमुकाम कलैयामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका दुई पक्षबीचको विवादले उग्र रूप लिँदा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले सोमबार लाठीचार्ज गरेको छ।
स्थानीयका अनुसार कलैयामा बसोबास गर्ने यौनिक अल्पसङ्ख्यक समुदायका दुई समूहबीच केही समयदेखि आन्तरिक मनमुटाव चल्दै आएको थियो। सोही विवादका क्रममा शान्ति सुरक्षामा खलल पुर्याएको आरोपमा प्रहरीले एक जना ‘किन्नर’ लाई नियन्त्रणमा लिएपछि प्रहरी हिरासतमा रहेको साथीलाई बिनासर्त रिहा गर्नुपर्ने माग राख्दै प्रर्दशन भएको थियो । यद्यपी यसबारे प्रहरीले थप विवरण दिएको छैन् ।
आक्रोशित बनेका समुदायका अन्य सदस्यहरू ठुलो सङ्ख्यामा जिल्ला प्रहरी कार्यालय बाराको मुख्य गेट अगाडि भेला भएका थिए। प्रदर्शनकारीहरूले प्रहरी प्रशासनविरुद्ध चर्को नाराबाजी गर्दै सडकमै अर्धनग्न भएर प्रदर्शन गरे। चोक र सरकारी कार्यालय अगाडि भएको यस्तो अप्रत्याशित प्रदर्शनले गर्दा कलैयाको यातायात र बजार क्षेत्र केही घण्टा ठप्प बन्यो ।
प्रदर्शनकारी समूहले जिल्ला प्रहरी कार्यालयको भित्री परिसरमा प्रवेश गर्न र कार्यालय घेराउ गर्न खोजेपछि सुरक्षा संवेदनशीलता बढेको थियो। प्रहरीको हस्तक्षेपपछि प्रदर्शनकारीहरू तितरबितर भएका थिए। लाठीचार्जका क्रममा केही प्रदर्शनकारीलाई सामान्य चोटपटक लागेको छ।
बारा प्रहरीका अनुसार हाल कलैयाको सुरक्षा व्यवस्था कडा पारिएको छ। झडपपछि सो क्षेत्रको अवस्था अहिले पूर्ण रूपमा नियन्त्रणमा रहेको छ। फोटो: नेपाल न्यूज बैंक


















प्रतिक्रिया दिनुहोस्