गण्डकी । जिल्ला ट्राफिक कार्यालय कास्कीले गत वैशाख महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गर्दै ४४ लाख आठ हजार ५०० रूपैयाँ राजस्व सङ्कलन गरेको छ।
कार्यालयका अनुसार उक्त अवधिमा पाँच हजार २६३ सवारीसाधनका चालक कारबाहीमा परेका छन्। ट्राफिक नियम उल्लङ्घन गरी सञ्चालन भएका सवारीसाधनलाई निगरानीमा राखी कारबाही गरिएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ।
वैशाख महिनाभर २२ वटा सवारी दुर्घटना भएका थिए । दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्। तीमध्ये १२ वटा दुर्घटना तीव्र गतिका कारण भएको कार्यालयले जनाएको छ।
त्यसैगरी, चालक अनुमतिपत्रबिना सवारी चलाएका पाँच तथा मादक पदार्थ सेवन गरेर चलाएका तीन सवारीसाधन दुर्घटनामा परेको तथ्यांक सार्वजनिक गरिएको छ ।
जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरीक्षक सुजितकुमार देवकोटाले मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारी चलाउने र तीव्र गतिमा सवारी हाँक्ने चालकलाई लक्षित गरेर ट्राफिक जाँच कडाइ गरिएको बताए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालयले संयुक्त रूपमा नियमित सवारी जाँच अभियान सञ्चालन गर्दै आएका छन् ।
यस्तै, सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक जाँचका क्रममा प्रहरीले नागरिकसँग गर्नुपर्ने व्यवहार, सुरक्षाका सावधानी तथा नमुना जाँचसम्बन्धी कार्यक्रमसमेत सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।

















प्रतिक्रिया दिनुहोस्