काठमाडौं । भारत सरकारले नेपालसहित विदेशबाट आयात हुने चियाको परीक्षण सम्बन्धी व्यवस्थामा आंशिक सहजीकरण गरेको छ । भारतको टी बोर्डले जारी गरेको नयाँ संशोधित निर्देशनअनुसार पुनः निर्यातका लागि आयात हुने चियामा मात्रै अनिवार्य गुणस्तर परीक्षण गरिने भएको हो ।
टी बोर्ड इन्डियाले मे १९, २०२६ मा जारी गरेको ‘कोरिजेन्डम–२’ अनुसार भारतभित्र आन्तरिक बिक्रीका लागि आयात हुने चियामा तत्कालका लागि टी बोर्डमार्फत अनिवार्य परीक्षण नहुने जनाएको छ । यस्तो चियाको नमुना परीक्षण भने भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण र भन्सार विभागले जोखिम व्यवस्थापन प्रणालीअनुसार गर्ने व्यवस्था गरिएको छ ।
यसअघि भारतले मे १ देखि सबै आयातित चियाको अनिवार्य गुणस्तर परीक्षण गर्ने निर्णय लागू गरेको थियो । उक्त व्यवस्थाले नेपाली चिया निर्यात प्रभावित हुने भन्दै व्यवसायीहरूले चिन्ता व्यक्त गर्दै आएका थिए ।
संशोधित व्यवस्थाअनुसार पुनः निर्यातका लागि ल्याइने चियाको गुणस्तर परीक्षण भने यथावत रहनेछ । टी बोर्डले सम्बन्धित प्रयोगशालालाई नमुना प्राप्त भएको पाँच दिनभित्र परीक्षण प्रतिवेदन अपलोड गर्न निर्देशन दिएको छ ।
भारतीय निकायको पछिल्लो निर्णयपछि नेपाली चिया निर्यातमा देखिएको अन्योल केही हदसम्म कम हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्