काठमाडौं। सहकारी विभागले राष्ट्रिय सहकारी बैंकको चुनावका लागि राजनीतकि दलको हस्तक्षेपबारे गम्भीर ध्यानआकर्षण भएको जनाएको छ ।
विभागले बुधबार एक सूचना जारी गरी सहकारी संघ संस्थाहरूको सञ्चालक समिति निर्वाचनमा राजनीतिक दलका आधारमा प्यानल खडा गरी प्रतिस्पर्धा गर्ने प्रवृत्ति बढ्दै गएको प्रति तीव्र असन्तुष्टि जनाएको छ।
विशेषगरी राष्ट्रिय सहकारी बैंकको निर्वाचनको पूर्वसन्ध्यामा देखिएको दलीय हस्तक्षेपलाई लिएर विभागले आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ। विभागका सूचना अधिकारी सुचित्रा राईद्वारा जारी विज्ञप्तिमा, राजनीतिक दलगत प्रभावका आधारमा निर्वाचन गराइँदा सहकारीको आधारभूत मूल्य, मान्यता र अन्तर्राष्ट्रिय सिद्धान्तको धज्जी उडेको उल्लेख छ।
विभागका अनुसार यस प्रकारका गतिविधिले सहकारी ऐन, २०७४ को प्रस्तावना तथा विद्यमान कानुनी व्यवस्थाहरूमाथि सिधै प्रतिकूल असर पुर्याउने देखिन्छ। दलीय भागबन्डा र प्यानलगत राजनीतिकरणले गर्दा सहकारी संस्थाहरूभित्र अनावश्यक र अस्वस्थ प्रतिस्पर्धा बढ्ने,
संस्थाहरूमा वित्तीय सुशासन कायम गर्न कठिन हुने तथा समग्र सहकारी अभियानकै साख गिर्ने र नकारात्मक असर पर्ने जनाइएको छ।
‘सहकारीका आधारभूत मूल्य, मान्यता र सिद्धान्तहरु विपरित यस्ता गतिविधिहरुबाट सहकारी ऐन, २०७४ को प्रस्तावना र कानूनी व्यवस्थालाई प्रतिकूल असर गर्नुका साथै सहकारीका सदस्यहरुमा अस्वस्थ प्रतिस्पर्धा बढ्न जाने र सहकारी क्षेत्रमा सुशासन कायम गराउनमा समेत नकारात्मक असर पुग्ने भएको छ।’ जारी सूचनामा भनिएको छ । विभागले सहकारी क्षेत्रलाई दलीय राजनीतिबाट टाढै राख्न र यसको मूल मर्म अनुसार अघि बढाउन सबै सरोकारवाला पक्षहरूसँग आग्रह गरेको छ।
राष्ट्रिय सहकारी बैंकको आसन्न चुनावका लागि बागमती प्रदेशमा पूराना तीन दलको सहमतिमा साझा उम्मेद्वारका रुपमा प्रदेशको सञ्चालकका लागि डा. परितोष पौडेललाई घोषणा गरेका छन् । यस्तै, पौडेलको विरुद्ध सहकारीकर्मी रामशरण शर्मा घिमिरे प्रतिष्पर्धामा छन् । अन्य प्रदेशमा भने सहमतिमै निर्विरोध अध्यक्ष चयन भैसकेका छन् । राष्ट्रिय सहकारी बैंक लिमिटेडको सञ्चालक समितिको निर्वाचन यहि जेठ ९ गते हुँदैछ ।















प्रतिक्रिया दिनुहोस्