दाङ । तुलसीपुर नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको बबई नदीको पानी लिफ्टिङ आयोजना सम्पन्न हुन अझै करिब ६ महिना लाग्ने भएको छ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले तीन वर्षअघि सुरु गरेको ५६ करोड ८० लाख रूपैयाँ भन्दा बढी लागतको आयोजना अन्तिम चरणमा पुगे पनि केही काम बाँकी रहेकाले समय थपिएको हो ।
संस्थाका अध्यक्ष यमकान्त भण्डारीका अनुसार हालसम्म अधिकांश पूर्वाधार निर्माण सम्पन्न भए पनि विद्युत् जडान, होम कनेक्सनलगायतका काम बाँकी छन् । पछिल्लो चरणको निर्माणको जिम्मा पाएको ठेकेदारले निर्माण सामग्रीको मूल्य बढेको भन्दै काम रोकेपछि आयोजना केही ढिलो भएको उनले बताए ।
आयोजना अन्तर्गत बबई नदीको पानी लिफ्टिङ गरेर तुलसीपुर ल्याइनेछ । हालसम्म नयाँ पाइप जडान, विभिन्न ठाउँमा एक दर्जनभन्दा बढी ट्याङ्की निर्माण तथा पुराना पाइपलाइन मर्मतको काम सम्पन्न भइसकेको संस्थाले जनाएको छ । तुलसीपुरमा निर्माण भइरहेको मुख्य भण्डारण ट्याङ्की पनि अन्तिम चरणमा पुगेको छ ।
यो आयोजना पूरा भएपछि प्रतिक्षण १०० लिटर पानी आपूर्ति सम्भव हुने र नयाँ बसपार्क, रानीजरुवा तथा तुलसीपुर उपमहानगरपालिका–६ का विभिन्न क्षेत्रमा खानेपानी समस्या समाधान हुने अपेक्षा गरिएको छ ।
संस्थाले खानेपानीका मुहान संरक्षणका लागि मुलकोट, राम्री, चिसापानीलगायत क्षेत्रमा अनधिकृत उत्खनन रोक्ने पहल पनि गरिरहेको जनाएको छ । साथै रक्षाचौर ट्रिटमेन्ट प्लान्टमा पुरानो बालुवा र गिट्टी परिवर्तन गरी सेडिमेन्टेसन प्रविधिमार्फत पानी शुद्धीकरणको काम सम्पन्न गरिएको छ ।
हाल संस्थाले करिब १२ हजार धारामार्फत ७५ हजारभन्दा बढी जनसङ्ख्यालाई खानेपानी वितरण गर्दै आएको छ । गर्मी बढेसँगै मुहान सुक्न थालेपछि केही क्षेत्रमा पानीको समस्या भएको र ट्याङ्करमार्फत निःशुल्क पानी वितरण गरिरहेको संस्थाले जनाएको छ ।

















प्रतिक्रिया दिनुहोस्