बिर्तामोड । नेपालको प्रिमियम विद्युतीय स्कुटर ब्रान्ड ‘एथर नेपाल’ले झापाको बिर्तामोडमा नयाँ ‘एथर एक्सपिरियन्स सेन्टर’ सञ्चालनमा ल्याएको छ ।
आइतबार भुर्टेल इनर्जी प्रालिको डिलर व्यवस्थापनअन्तर्गत सञ्चालनमा आएको उक्त केन्द्रको उद्घाटन गरिएको हो । कम्पनीले यससँगै नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग विस्तार गर्ने आफ्नो अभियानलाई थप मजबुत बनाएको जनाएको छ । नयाँ केन्द्र सञ्चालनमा आएसँगै एथरका देशभर ११ वटा एक्सपिरियन्स सेन्टर पुगेका छन् । काठमाडौं उपत्यकामा पाँचवटासहित पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर र बिर्तामोडमा कम्पनीको उपस्थिति विस्तार भएको छ । कम्पनीका अनुसार देशभर १० वटा आधिकारिक सेवा केन्द्र पनि सञ्चालनमा रहेका छन् ।
कम्पनीले दुईपांग्रे विद्युतीय सवारी खण्डमा आठ वर्षसम्मको विस्तारित ब्याट्री वारेन्टी उपलब्ध गराउँदै आएको जनाएको छ । बिर्तामोडस्थित नयाँ केन्द्रमा ‘एथर ४५० सिरिज’ र ‘एथर रिज्टा’ स्कुटर उपलब्ध हुनेछन् । कम्पनीका अनुसार ‘एथर ४५० सिरिज’ उच्च प्रदर्शन, स्मार्ट प्रविधि र आधुनिक राइडिङ अनुभवका लागि डिजाइन गरिएको स्कुटर हो । यसमा शक्तिशाली गति क्षमता, गुगल नक्सामा आधारित नेभिगेसन, अटो होल्ड, फल सेफ, रिभर्स मोड, विभिन्न राइड मोड तथा टचस्क्रिन ड्यासबोर्डजस्ता सुविधा रहेका छन् ।
त्यस्तै, ‘एथर रिज्टा’ परिवार र दैनिक प्रयोगलाई लक्षित गरी डिजाइन गरिएको स्कुटर हो । यसमा ठूलो सिट, बढी सामान राख्न मिल्ने क्षमता, ट्र्याक्सन कन्ट्रोल, चोरी तथा तानिएर लैजाँदा आउने चेतावनी, ड्यासबोर्डमा ‘ह्वाट्सएप’ सूचना तथा आरामदायी बसाइको सुविधा रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नयाँ केन्द्रमा ग्राहकहरूले स्कुटरको प्रत्यक्ष अवलोकन, परीक्षण सवारी, स्मार्ट प्रविधिबारे जानकारी, वित्तीय सुविधा, एक्सचेन्ज सेवा तथा विद्युतीय सवारी स्वामित्व र चार्जिङसम्बन्धी परामर्श लिन सक्नेछन् । बिर्तामोडमै सेवा केन्द्र सञ्चालनमा आएसँगै ग्राहकहरूले बिक्रीपछिको सेवा, स्पेयर पार्ट्स तथा मर्मत सुविधासमेत सहज रूपमा पाउने कम्पनीको भनाइ छ ।
एथर नेपालले देशभर ४० भन्दा बढी ‘एथर ग्रिड’ द्रुत चार्जिङ सञ्जाल विस्तार गरेको जनाएको छ । प्रदेश १ मा बिर्तामोडको थ्री डिग्री क्याफे, धरानस्थित सीएसई अफिस अटोमेसन तथा इटहरीको खेती खोलास्थित एथर एक्सपिरियन्स सेन्टरमा द्रुत चार्जिङ सेवा उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीले जेठ १७ गतेसम्म बिर्तामोड केन्द्र उद्घाटनको अवसरमा विशेष अफरसमेत ल्याएको छ । यसअन्तर्गत विस्तारित ब्याट्री वारेन्टी, शून्य प्रतिशत ब्याजदरमा वित्तीय सुविधा तथा अतिरिक्त एक्सचेन्ज मूल्यांकन सुविधा उपलब्ध गराइने जनाएको छ । नेपालमा एथर विद्युतीय दुईपांग्रे सवारीको आधिकारिक वितरक वैद्य इनर्जी प्रालि हो । कम्पनीले स्वच्छ, दिगो र वातावरणमैत्री यातायात विस्तारका लागि आधुनिक तथा ग्राहककेन्द्रित विद्युतीय सवारी समाधान उपलब्ध गराउँदै आएको जनाएको छ ।

















प्रतिक्रिया दिनुहोस्