काठमाडौं। नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो ३३औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाएको छ।
बैंकले मंगलबार वार्षिकोत्सवको अवसर पारेर शपथ ग्रहण समारोह आयोजना गर्दै कर्मचारीहरूलाई संस्थाप्रतिको जिम्मेवारी र प्रतिबद्धता दोहोर्याउन प्रेरित गरेको जनाइको छ।
काठमाडौंस्थित बैंकको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले सम्पूर्ण कर्मचारीलाई शपथ ग्रहण गराएका थिए। कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पाण्डे, प्रमुख अनुपालन अधिकृत विष्णुदेव यादवलगायत वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो।
प्रदेश कार्यालय तथा देशभरका शाखा कार्यालयमा कार्यरत कर्मचारीहरू पनि भर्चुअल माध्यमबाट कार्यक्रममा सहभागी भएका थिए। कार्यक्रममा सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत तिवारीले बैंकको विरासतलाई कायम राख्दै वित्तीय क्षेत्रमा अग्रणी संस्थाका रूपमा आफ्नो स्थान अझ सुदृढ बनाउन प्रत्येक कर्मचारीले जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए।
उनले अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासको निरन्तर पालना, सुशासनको प्रवर्द्धन तथा सञ्चालन उत्कृष्टतालाई संस्थागत संस्कृतिका रूपमा विकास गर्दै बैंकले उल्लेखनीय सफलता हासिल गरेको बताए। साथै उनले नैतिकता, इमान्दारिता, नवप्रवर्तन, ग्राहक–केन्द्रित सेवा र सहकार्यमार्फत उत्कृष्टता हासिल गर्न कर्मचारीहरूलाई प्रेरित गरेका थिए।
वार्षिकोत्सवको अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत देशभर विभिन्न सामाजिक गतिविधि पनि सञ्चालन गरेको जनाएको छ। सोही क्रममा काठमाडौंको कमलादीस्थित प्रधान कार्यालयसहित सबै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो।
यसैगरी, विराटनगरस्थित श्री लक्ष्मीनारायण वेद विद्याश्रमलाई प्रविधिमैत्री शिक्षाको प्रवर्द्धनका लागि स्मार्ट बोर्ड हस्तान्तरण गरिएको बैंकले जनाएको छ। साथै विराटेश्वर ज्येष्ठ नागरिक मैत्री क्लिनिकलाई आर्थिक सहयोग प्रदान गरिएको छ। वीरेन्द्रनगरस्थित बैंकले श्री प्रभात माध्यमिक विद्यालय र श्री हरिदिल भूमि माध्यमिक विद्यालयलाई समेत स्मार्ट बोर्ड उपलब्ध गराई प्रविधिमा आधारित शिक्षण सिकाइलाई प्रोत्साहन गरेको जनाएको छ।
नेपाल एसबिआई बैंकले विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ।















प्रतिक्रिया दिनुहोस्