काठमाडौं । सरकारद्वारा निजामती क्षेत्रमा ट्रेड युनियन खारेजी तथा अन्य क्षेत्रमा युनियन अधिकार संकुचन गर्ने निर्णयप्रति आपत्ति जनाउँदै देशका १८ वटा ट्रेड युनियन महासंघहरूले संयुक्त रूपमा आन्दोलन र अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् ।
संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको संयोजनमा सोमबार नेपाल ट्रेड युनियन काँग्रेसको सभाहलमा बसेको महासंघहरूको संयुक्त बैठकले श्रमिक अधिकार संरक्षणका लागि साझा मोर्चा बनाएर अघि बढ्ने निर्णय गरेको हो ।
बैठकमा सहभागी महासंघका प्रतिनिधिहरूले सरकारको पछिल्लो कदमले श्रमिक तथा कर्मचारीहरूको संगठनात्मक स्वतन्त्रता, सामूहिक सौदाबाजीको अधिकार र लोकतान्त्रिक अभ्यासमाथि असर पार्ने भन्दै गम्भीर चिन्ता व्यक्त गरे।
उनीहरूले ट्रेड युनियन अधिकारलाई नेपालको संविधान २०७२ ले सुनिश्चित गरेको मौलिक अधिकारका रूपमा सम्मान गर्नुपर्ने तथा अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) का महासन्धि नम्बर ९८ र १४४ अनुसार श्रमिक अधिकार सुनिश्चित गर्न सरकारलाई आग्रह गरेका छन्। बैठकले श्रमिक अधिकार संरक्षणसँगै सामाजिक सुरक्षा योजना कार्यान्वयन, सुरक्षित तथा मर्यादित रोजगारी, श्रम कानुनको प्रभावकारी कार्यान्वयन र श्रमिकमैत्री नीतिनिर्माणका विषयमा समेत साझा धारणा बनाएको छ।
सहभागीहरूले सरकार, रोजगारदाता र ट्रेड युनियनबीचको त्रिपक्षीय संवादलाई अझ संस्थागत र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। बैठकमा नेपालका प्रमुख ट्रेड युनियन महासंघका अध्यक्षहरू योगेन्द्र कुमार कुँवर, विनोद श्रेष्ठ, जगत सिंखडा, प्रेम खनाल, विष्णु लम्साल, नवराज दाहाललगायतका प्रतिनिधिहरू सहभागी थिए।
नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष योगेन्द्र कुमार कुँवरका अनुसार आगामी दिनमा सबै महासंघहरू संयुक्त रूपमा अघि बढ्ने र साझा मुद्दामा एकताबद्ध अभियान सञ्चालन गर्ने सहमति भएको छ। बैठकले श्रमिक अधिकार, मानव अधिकार र लोकतन्त्रको संरक्षणका लागि संयुक्त मोर्चा बनाएर आन्दोलनात्मक कार्यक्रम अघि बढाउने निष्कर्ष निकालेको छ।

















प्रतिक्रिया दिनुहोस्