काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतको सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा पाँचदिने भ्रमणका लागि दिल्ली पुगेका छन्।
भ्रमणको दोस्रो दिन मंगलबार दिल्लीस्थित भाजपा मुख्यालयमा उनको पञ्चेबाजा, पुष्प वर्षा र सांस्कृतिक झाँकीसहित भव्य स्वागत गरिएको छ। लामिछानेलाई स्वागत गर्न भाजपाका राष्ट्रिय महासचिव एवं राज्यसभा सांसद अरुण सिंह आफैं उपस्थित थिए।
भ्रमणका क्रममा लामिछानेले मंगलबार भाजपा अध्यक्ष नितिन नवीनसँग भेटवार्ता सुरु गरेका छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनी र भारतीय विदेशमन्त्री एस.जयशंकरबीच पनि भेटवार्ताको तयारी भइरहेको छ। यस्तै, बुधबारका लागि प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटघाट समेत तय गरिएको छ। यद्यपी समय भने निर्धारण भैसकेको छैन ।
विगतमा नेपालका प्रधानमन्त्रीहरू जाँदाभन्दा यसपटक रास्वपा सभापतिलाई भाजपाले विशेष प्राथमिकता र सम्मान दिएको देखिन्छ । भ्रमणकै क्रममा लामिछानेको एक लेख ‘हिन्दुस्थान टाइम्स’ मा प्रकाशित भएको छ, जसमा उनले नेपालको पछिल्लो राजनीतिक परिवर्तनलाई ‘मतपेटिका क्रान्ति’ को संज्ञा दिँदै नेपाल–भारत सम्बन्धलाई परम्परागत भू–राजनीतिभन्दा माथि उठाएर आर्थिक साझेदारी, रेल–हवाई कनेक्टिभिटी, ऊर्जा र डिजिटल करिडोर निर्माणमा केन्द्रित गर्नुपर्ने जोड दिएका छन्। जनकपुर–अयोध्या, पशुपतिनाथ–केदारनाथ र लुम्बिनी–बोधगया जस्ता ऐतिहासिक र सभ्यतागत साझा पहिचानलाई स्वीकार गर्दै अब विगतका कमजोरी सच्याएर भविष्यमुखी नयाँ सुरुवात गर्नुपर्ने लामिछानेको भनाइ छ।
यसैगरी, भारतको तीव्र आर्थिक विकास र पूर्वाधार निर्माणको गतिलाई नेपालको हितमा उपयोग गर्नुपर्ने आवश्यकता औंल्याउँदै प्रस्तावित १५० किलोमिटर लामो रक्सौल–काठमाडौं रेलमार्गले दुई देशको व्यापार र पर्यटनमा ठूलो क्रान्ति ल्याउने विश्वास उनको छ। नेपालले केवल सिमाना जोड्न मात्र नभई देशको अर्थतन्त्रलाई गति दिन यो रेलमार्ग चाहेको लामिछानेको भनाइ छ।
यसैगरी, भारतका विभिन्न राज्यहरूको विकास मोडलबाट सिक्दै पोखरा र लुम्बिनीबाट दिल्ली, मुम्बई वा बेंगलुरुसम्म सिधा हवाई उडान सुरु गर्नुपर्ने, काठमाडौं र बेंगलुरुलाई जोड्ने ‘डिजिटल करिडोर’ बनाउनुपर्ने तथा नेपाल–भारत सिमानामा मल कारखाना खोल्नुपर्ने, नेपालमा आईआईटी एआईएमएस जस्ता प्रतिष्ठित भारतीय संस्थाहरू विस्तार गर्दै सूचना प्रविधि र शिक्षाको क्षेत्रमा नयाँ र ढुक्कको सहकार्यको वातावरण बनाउनुपर्नेमा लेखमा जोड दिइएको छ।
साथै, दुई देशबीचका विवादहरूलाई राष्ट्रवादी भाषणभन्दा व्यावहारिक संवाद र प्रमाणका आधारमा सुल्झाउनुपर्ने धारणा राखेका छन्। मुख्य गरी उनले रास्वपाले नेपाल–भारत सम्बन्धलाई राजनीतिक खिचातानीबाट हटाएर विकासको बाटोमा लैजान चाहेको बताएका छन् । सभापति रविले भनेका छन्,‘ हामी यस्तो सम्बन्ध चाहन्छौं जसले दुवै देशका सामान्य मान्छेको जीवनमा सजिलो बनाओस् ।’
लामिछानेले दुई देश बिचको सम्बन्ध सुधार्न नेपाल तत्पर रहेको उल्लेख गर्दै अगस्ट २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदाको सौहार्दपूर्ण सम्बन्धमा पुनः फर्किनुपर्नेमा जोड दिए । ‘नदीले पहाडसँग झगडा गर्दैन, आफ्नो बाटो खोज्दै अघि बढ्छ’ लामिछानेले हिन्दुस्तान टाइम्समा लेखेका छन् , ‘हामीले फेरि त्यही २०१४ को जस्तो विश्वास र न्यानोपनमा फर्कनुपर्छ। हामी पूर्ण इमानदारीका साथ त्यो सम्बन्धको पुल बनाउन तयार छौं, जसले हाम्रा मतभेद मेटाउनेछ र नयाँ सम्भावनाहरू खोल्नेछ।’

















प्रतिक्रिया दिनुहोस्