Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलनले सहकारीकर्मीको योगदान विश्वसामु पुग्नेछ : अध्यक्ष पोखरेल

अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलनले सहकारीकर्मीको योगदान विश्वसामु पुग्नेछ : अध्यक्ष पोखरेल
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले महिला सशक्तीकरण, नेतृत्व विकास, उद्यमशीलता र सहकारी अभियानको अन्तर्राष्ट्रिय अनुभव आदान–प्रदान गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन आयोजना गर्ने भएको छ । सम्मेलन आगामी असार ६ र ७ गते ललितपुरस्थित हेरिटेज गार्डेनमा आयोजना हुनेछ ।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्रिय सहकारी महासंघका कार्यवाहक अध्यक्ष रमेश प्रसाद पोखरेलका अनुसार सम्मेलन महासंघको वार्षिक कार्यक्रमअन्तर्गत नै आयोजना हुन लागेको हो । नेपाल सरकारसँग गत वर्ष गरिएको समन्वयअनुसार सम्मेलनका लागि सरकारी बजेटसमेत प्राप्त भएको र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँगको संयुक्त आयोजनामा विभिन्न निकायको सहयोगमा कार्यक्रम सञ्चालन गर्न लागिएको उनले बताए ।

पोखरेलले नेपालमा करिब ३२ हजार सहकारी संस्था रहेको र तिनमा करिब ९० लाख नागरिक आबद्ध रहेको जानकारी दिए । ती सदस्यमध्ये ५६ प्रतिशत महिला रहेको उल्लेख गर्दै उनले महिलाले नेतृत्व गरेका सहकारी संस्थाहरू तुलनात्मक रूपमा सबल, व्यवस्थित र सफल रहेको अनुभवले देखाएको बताए ।

उनका अनुसार सम्मेलनमार्फत महिला नेतृत्वको प्रवद्र्धन, खाद्य सुरक्षा, वित्तीय साक्षरता, उद्यमशीलता, बजार व्यवस्थापन, उत्पादन वृद्धि तथा अन्तर्राष्ट्रिय अभ्यासको आदान–प्रदानलाई प्राथमिकता दिइनेछ । साथै नेपाली महिला सहकारीकर्मीहरूको योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने र सहकारी अभियानमा देखिएका नीतिगत समस्याबारे सरोकारवालासँग संवाद गर्ने उद्देश्य पनि सम्मेलनको रहेको उनले बताए । पोखरेलले सहकारी क्षेत्र अहिले विभिन्न चुनौतीबाट गुज्रिरहेको स्वीकार गर्दै केही सीमित सहकारी संस्थामा देखिएको समस्या र वित्तीय अनियमितताका कारण समग्र सहकारी अभियानमाथि नै नकारात्मक भाष्य निर्माण भएको बताए । उनका अनुसार ३२ हजार सहकारी संस्थामध्ये केही संस्थामा मात्रै समस्या देखिएपनि त्यसले समग्र अभियानलाई असर पु¥याएको छ ।

उनले सहकारीको मूल दर्शन, मूल्य र सिद्धान्तमा समस्या नभई व्यवहारिक कार्यान्वयन र केही व्यक्तिको गलत गतिविधिका कारण संकट उत्पन्न भएको जिकिर गरे । सम्मेलनले राम्रा सहकारी संस्थाको योगदान सार्वजनिक गर्दै सहकारीप्रतिको विश्वास पुनः स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । कार्यक्रममा नेपाल सरकारका प्रतिनिधि, सहकारी अभियन्ता, महिला सहकारीकर्मी तथा उद्यमीहरूको सहभागिता रहनेछ । महासंघले खुला दर्तामार्फत करिब २०० महिला सहभागी समेट्ने तयारी गरेको छ भने सातै प्रदेशबाट सहभागिताका लागि दर्ता भइरहेको जनाएको छ ।

त्यसैगरी श्रीलंका, थाइल्याण्ड, भारतलगायत एसिया–प्रशान्त क्षेत्रका करिब १५ देशलाई निमन्त्रणा गरिएको र केही देशले सहभागिता सुनिश्चित गरिसकेको पोखरेलले जानकारी दिए । सम्मेलनको मूल नारा ‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ रहेको छ । सम्मेलनको अन्तिम दिन काठमाडौं घोषणापत्र जारी गरिनेछ, जसमा सहकारी उद्यमशीलता प्रवद्र्धन, पारदर्शिता, रोजगारी सिर्जना, युवा सहभागिता, प्रविधिको प्रयोग तथा सहकारी क्षेत्रका नीतिगत अवरोध हटाउन कानुनी सुधारका प्रस्ताव समावेश गरिने महासंघले जनाएको छ ।

पोखरेलका अनुसार सहकारी ऐन कार्यान्वयनमा अवरोध बनेका विभिन्न कानुन संशोधन गर्नुपर्ने आवश्यकता औंल्याउँदै घोषणापत्रमार्फत सरकारलाई नीतिगत सुधारका लागि सुझाव प्रस्तुत गरिनेछ । सम्मेलनले सहकारी क्षेत्रलाई उत्पादनमुखी, पारदर्शी र उद्यमशील बनाउने दिशामा नयाँ बहस र नीतिगत पहलको आधार तयार गर्ने अपेक्षा गरिएको छ ।

बजेट सहकारीमैत्री आएन, अभियानलाई थप सहयोग आवश्यक छ

कार्यवाहक अध्यक्ष पोखरेलले सरकारले सहकारी क्षेत्रलाई संकुचन गर्नेभन्दा व्यवस्थित र उत्पादनमुखी बनाउने नीति लिनुपर्ने बताएका छन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले हालै सार्वजनिक बजेटले सहकारी अभियानलाई अपेक्षित रूपमा सम्बोधन गर्न नसकेको टिप्पणी गर्दै सरकारबाट थप सहयोगी वातावरण आवश्यक रहेको बताए ।

उनले सहकारी अभियान ‘एकका लागि सबै, सबैका लागि एक’ भन्ने सिद्धान्तमा आधारित सामाजिक व्यवसाय भएको उल्लेख गर्दै नेपालको आर्थिक विकास, रोजगारी सिर्जना र उत्पादन वृद्धि गर्न सहकारी क्षेत्रको भूमिका अझ विस्तार गर्नुपर्ने धारणा राखे । बचत तथा ऋण कारोबारलाई सीमित गर्नेभन्दा अझ व्यवस्थित र पारदर्शी बनाउँदै कृषि, उद्योग र मूल्य शृंखलासँग जोड्नुपर्नेमा उनले जोड दिए ।

पोखरेलले सरकारले समस्याग्रस्त सहकारीको बचत फिर्ता र कानुनी सुधारका विषयलाई प्राथमिकतामा राखेको सकारात्मक भएपनि समग्र सहकारी अभियानलाई प्रोत्साहन गर्ने स्पष्ट नीति बजेटमा नदेखिएको बताए । उनका अनुसार सहकारी क्षेत्र अहिले अर्थतन्त्रमा उल्लेखनीय योगदान दिइरहेको भएपनि त्यसलाई अझ सशक्त बनाउन सरकार र अभियानबीचको सहकार्य अपरिहार्य छ ।

अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलनबाट नीतिगत सुधारको पहल गरिने

पोखरेलले आगामी असार ६ र ७ गते आयोजना हुने अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन सहकारी क्षेत्रका लागि महत्वपूर्ण अवसर हुने बताए । सम्मेलनमा नेपालसहित विभिन्न देशका महिला सहकारीकर्मी, विज्ञ तथा अन्तर्राष्ट्रिय प्रतिनिधिहरू सहभागी हुने र महिला नेतृत्व, उद्यमशीलता, डिजिटलाइजेसन, बजार विस्तार, रोजगारी सिर्जना तथा मूल्य शृंखलासम्बन्धी विषयमा छलफल हुने उनले जानकारी दिए ।

उनका अनुसार सम्मेलनमा राष्ट्रिय सहकारी महासंघले नेपालको सहकारी क्षेत्रसम्बन्धी ‘कन्ट्री पेपर’ प्रस्तुत गर्नेछ भने अन्तर्राष्ट्रिय सहकारी महासंघको एसिया प्रशान्त क्षेत्रीय संगठनले क्षेत्रीय अवस्थाबारे प्रतिवेदन प्रस्तुत गर्नेछ । सहभागी देशहरूले पनि आफ्ना मुलुकमा सहकारी र महिला सहभागिताको अवस्थाबारे अनुभव आदान–प्रदान गर्नेछन् ।

सम्मेलनमा महिला सहकारीकर्मीहरूले उत्पादन गरेका वस्तुको प्रदर्शनीसमेत गरिने तथा डिजिटल प्रविधिको प्रयोग, उद्यमशीलता र बजार व्यवस्थापनका नयाँ सम्भावनाबारे बहस गरिने पोखरेलले बताए । उनले सातै प्रदेश र सकेसम्म ७७ जिल्लाबाट सहभागिता सुनिश्चित गर्न आह्वान गर्दै सम्मेलनले सहकारी क्षेत्रका चुनौतीहरूको समाधान खोज्ने, नीतिगत सुझाव तयार गर्ने र अभियानलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरे ।

पोखरेलले राष्ट्रिय सहकारी महासंघले सम्मेलनको आर्थिक व्यवस्थापन पूर्ण पारदर्शिताका साथ गर्ने स्पष्ट पार्दै सहभागीबाट संकलन हुने दर्ता शुल्क, सरकारी सहयोग र विभिन्न संस्थाको सहयोगलाई विधिसम्मत रूपमा खर्च गरिने तथा सम्पूर्ण आय–व्यय महासंघको कार्यसमिति र साधारणसभाबाट अनुमोदन गरिने जानकारी दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit