काठमाडौं। काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
आइतबार आयोजित नगरसभाको १९औँ अधिवेशन बैठकमा कार्यवाहक महानगर प्रमुख सुनिता डंगोलले महानगरलाई आधुनिक, प्रविधिमैत्री र सुरक्षित बनाउने लक्ष्यसहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्। महानगरले आगामी वर्ष वातावरणीय सुधार, आधुनिक फोहोर व्यवस्थापन, डिजिटल प्रणाली र भौतिक पूर्वाधारलाई विशेष प्राथमिकतामा राखेको छ।
महानगरले नीति तथा कार्यक्रममा उपत्यकाको फोहोर व्यवस्थापनमा क्लस्टर र एकद्वार शुल्क प्रणाली लागू गर्ने भएको छ । महानगरले फोहोरमैला व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन ‘सर्कुलर इकोनोमी’ (फोहोरलाई पुनः प्रयोग गर्ने चक्र) लाई प्रवर्द्धन गर्ने भएको छ। यस्तै, फोहोरको वैज्ञानिक व्यवस्थापनका लागि बन्चरे डाँडामा ‘मेकानाइज्ड मेटेरियल रिकभरी फ्यासिलिटी’ सञ्चालनमा ल्याइने उल्लेख छ। यसका लागि महानगरलाई ७ वटा क्लस्टरमा विभाजन गरी प्रविधिको प्रयोग गरिने नीति तथा कार्यक्रममा भनिएको छ।
यसैगरी, ‘फोहोर उत्सर्जन गर्नेले नै शुल्क तिर्ने’ सिद्धान्तका आधारमा अबदेखि एकद्वार प्रणालीबाट मात्र फोहोरको शुल्क संकलन गरिने नीति महानगरले लिएको छ। ‘बञ्चरेडाँडामा फोहोर विसर्जन गर्ने अन्य स्थानीय तहहरूसँग फोहोरको परिमाण र प्रकृतिका आधारमा साझेदारी गरिनेछ। साथै, फोहोर व्यवस्थापनसम्बन्धी सम्पूर्ण सूचना सेवाग्राही र प्रदायकसम्म पुर्याउन अनलाइन एपको व्यवस्था गरिनेछ’ प्रमुख डंगोलले भनिन्। यसैगरी, वायु, जल, जमिन, ध्वनि र दृश्य प्रदूषण नियन्त्रणका लागि आधुनिक प्रविधिको प्रयोग गरिने, यसका लागि संघ, प्रदेश र विज्ञहरूसँग सहकार्य गर्ने महानगरले नीति लिएको छ। यस्तै, महानगरभित्रका खाली ठाउँहरूलाई ज्येष्ठ नागरिक र बालबालिका मैत्री पार्कका रूपमा विकास गरिने, नि :शुल्क पिउने पानी र सार्वजनिक शौचालयको अभियानले निरन्तरता पाउने समेत उल्लेख छ।
राजस्व र सहरी योजनामा डिजिटल प्रणालीलाई महानगरले जोड दिएको छ । आगामी नीति तथा कार्यक्रम मार्फत माहानगरले राजस्व संकलनलाई वैज्ञानिक र पारदर्शी बनाउन ‘एकीकृत करदाता परिचय नम्बर’ लागू गर्ने, बहालमा दिइएका घरजग्गाको विवरणलाई अनिवार्य रूपमा दर्ता गराउनुपर्ने नियम ल्याएको समेत जनाएको छ। विपद व्यवस्थापनतर्फ मनसुन पूर्वतयारी तथा विपद् जोखिम न्यूनीकरणका लागि ‘जीआईएस प्रणाली’ प्रयोग गरिने, सार्वजनिक निजी साझेदारी अन्तर्गत भएका पुराना सम्झौताहरूको समेत पुनरावलोकन हुने प्रमुख डंगोलले बताइन ।
महानगरले पूर्वाधार, यातायात र नक्सा पासमा विशेष छुट दिने भएको छ। ‘उज्यालो महानगर कार्यक्रममार्फत महानगरका सडकहरूमा स्मार्ट स्ट्रिट लाइट र हाईमास्ट लाइट जडान गरी ‘उज्यालो महानगर’ अभियानलाई अघि बढाइनेछ। साझायतायात मार्फत रात्रिकालीन बस सेवाको विस्तार गरिनेछ,’ प्रमुख डंगोलले भनिन् । महिला, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकको नाममा भवन निर्माण गर्दा नक्सा पास दस्तुरमा १५ प्रतिशत छुट दिइने नीति महानगरले दिएको छ। आगामी ५ वर्षभित्र महानगरका सबै भवनलाई विपद् उत्थानशील (सुरक्षित) बनाइने र भवनहरूको बीमा गर्ने प्रबन्ध मिलाइने उल्लेख छ।
सार्वजनिक सम्पत्तिको व्यवस्थापन र सामूहिक आवासतर्फ महानगरले सुन्धारा धरहरा क्षेत्र, भृकुटीमण्डपमा अत्याधुनिक सम्मेलन केन्द्र र काठमाडौं प्लाजाको दिगो व्यवस्थापनका लागि विशेष पहल गर्ने जनाएको छ। त्यस्तै, नदी किनारमा रहेका जोखिमपूर्ण बस्तीको उद्धार गरी सहरी गरिब र विस्थापितहरूका लागि सामूहिक आवासको प्रबन्ध गर्न सरकारसँग समन्वय गरिने कार्यवाहक प्रमुख डंगोलले बताइन्।

















प्रतिक्रिया दिनुहोस्