कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ स्थित गाईमारे क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न प्रदेश सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक डा. हेमराज बिष्टको संयोजकत्वमा समिति गठन गरेको हो। मन्त्रीस्तरीय निर्णयअनुसार गठन गरिएको समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले जानकारी दिए।
समितिमा जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, डिभिजन वन कार्यालय पहलमानपुरका वरिष्ठ डिभिजनल वन अधिकृत जनक पाध्या, यातायात व्यवस्था कार्यालय कैलालीका मेकानिकल इन्जिनियर धोजराज जोशी तथा वन तथा वातावरण मन्त्रालयका कानुन अधिकृत विजयराज ओझा सदस्य रहेका छन्।
गत जेठ २९ गते वन अतिक्रमण हटाउने क्रममा वन कर्मचारीले एक टेम्पोलाई भीरबाट खसालेको भिडियो सार्वजनिक भएपछि उक्त घटनाको देशभर विरोध भएको थियो। सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग उठेको थियो।
मन्त्रालयले घटनालाई गम्भीर रूपमा लिएको जनाउँदै छानबिनबाट प्राप्त निष्कर्षका आधारमा दोषी देखिएकामाथि कानुनी कारबाही गरिने जनाएको छ। यसैबीच घटनाको अनुसन्धानका लागि प्रहरीले १२ जना वन कर्मचारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।















प्रतिक्रिया दिनुहोस्