काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई आपसी विश्वास, सहकार्य र साझा समृद्धिका माध्यमबाट रूपान्तरणकारी विकास साझेदारीमा परिणत गर्नुपर्ने बताएका छन् ।
भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको द्विपक्षीय वार्तापछि नयाँदिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । उनले दुई देशबीच भएका समझदारी तथा अघि बढाइएका परियोजनाको प्रतिफल आम नागरिकले प्रत्यक्ष रूपमा अनुभूति गर्न पाउनुपर्नेमा जोड दिए ।
‘हामीले आज गरेका समझदारीहरू र अघि बढाएका परियोजनाहरूको प्रतिफल किसानको खेतमा समृद्धिका रूपमा देखिनुपर्छ । युवाका हातमा रोजगारी र अवसरका रूपमा पुग्नुपर्छ । विद्यार्थीका सपनामा नयाँ सम्भावनाका रूपमा विस्तार हुनुपर्छ र उद्यमीले नयाँ बजार, लगानी तथा व्यावसायिक विस्तारका अवसरका रूपमा अनुभूत गर्न पाउनुपर्छ भन्नेमा हामी स्पष्ट छौँ,’ उनले भने ।
प्रधानमन्त्री शाहले नेपाल–भारत सम्बन्धलाई पारस्परिक सम्मान, अटल विश्वास र अविच्छिन्न सद्भावले जोडेको उल्लेख गर्दै यस सम्बन्धको केन्द्रमा दुवै देशका जनता रहेको बताए । प्राकृतिक विपद् तथा कठिन परिस्थितिमा भारतले नेपाललाई गर्दै आएको सहयोगप्रति उनले भारतीय सरकार र जनताप्रति आभारसमेत व्यक्त गरे । उनका अनुसार द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्तामा शताब्दीऔँ पुरानो ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ र समयसापेक्ष बनाउने उद्देश्यसहित सम्बन्धका बहुआयामिक पक्षमा गहन छलफल भएको छ। सोही क्रममा नेपाल–भारत सहकार्यका विभिन्न क्षेत्रमा महत्त्वपूर्ण समझदारी हुनुका साथै पूर्वाधार परियोजनाको उद्घाटन र शिलान्यास गरिएको छ।
उनले जलवायु परिवर्तनका चुनौती सामना गर्न नेपाल र भारतबीच सहकार्य आवश्यक रहेको पनि औँल्याए। हिमालयबाट उत्पत्ति भएका नदीहरूले यस क्षेत्रका करोडौँ मानिसलाई जीवन प्रदान गरिरहेको उल्लेख गर्दै जलस्रोतको संरक्षण र जलवायु परिवर्तनका असर न्यूनीकरणमा मिलेर काम गर्नुपर्ने उनको भनाइ थियो । ‘नेपाल र भारतबीचको सम्बन्ध हिमालझैँ अटल र महासागरझैँ विशाल छ। यो यस्तो आत्मीय निकटता हो, जसलाई शब्दको सीमिततामा बाँध्न सकिँदैन,’ बालेनले भने,‘ एक विश्वसनीय छिमेकीका रूपमा भारतले हरेक प्राकृतिक विपद् र कठिन घडीमा अग्रपङ्क्तिमा रहेर सहयोग गर्दै आएकोमा म भारत सरकार र जनताप्रति कृतज्ञता व्यक्त गर्दछु।’
यसैगरी, शाहले नेपाल र भारतबीचको सम्बन्ध धार्मिक, सांस्कृतिक तथा सभ्यतागत रूपमा पनि गहिरो रहेको बताए। भगवान् राम र माता जानकीको पावन सम्बन्धदेखि जोडिएको दुई देशबीचको आत्मीयतालाई थप जीवन्त बनाउन रेल सेवाको शुभारम्भ गरिएको उनले उल्लेख गरे । त्यस्तै, नेपालको आर्थिक समुन्नतिमा साझेदारी गर्न भारतीय लगानीकर्तालाई नेपालमा लगानीका लागि उनले आह्वान गरे। उनले भने,‘यही अवसरमा हाम्रो साझा आर्थिक समुन्नतिमा साझेदारीका निम्ति भारतीय लगानीकर्ताहरूलाई नेपालमा हार्दिक स्वागत गर्दछौं।’
नेपालमा स्थापना हुने भारतीय प्रविधि संस्थान (आईआईटी) मा भारतीय विद्यार्थीसमेत अध्ययन गर्न आउने वातावरण निर्माण गर्नुपर्ने र नागरिकको सहज आवागमनका लागि दुवै देशका सहरबीच प्रत्यक्ष हवाई सम्पर्क विस्तार गर्नुपर्नेमा उनले जोड दिए। ‘आगामी दिनमा, भारतीय विद्यार्थीहरू नेपालमा स्थापना हुने आईआईटीमा अध्ययन गर्न आउने वातावरण बनाउनुका साथै नागरिकको सहज आवागमनका लागि दुवै देशका सहरबीच प्रत्यक्ष हवाई सम्पर्क विस्तार गर्ने दिशामा हामी अघि बढ्नुपर्छ,’ प्रधानमन्त्रीले भनेका छन् ।
यसैबीच, प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तोसमेत दिए । उनले भारतका नागरिकलाई मुक्तिनाथ, पशुपतिनाथ, जनकपुरधाम, जीवित देवी कुमारी र भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीलगायतका धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण गर्न आग्रह गरे। प्रधानमन्त्री शाहले नेपाल–भारत मित्रता विश्वास, सहकार्य र साझा समृद्धिको आधारमा अझ बलियो बन्नुपर्ने बताउँदै दुवै राष्ट्रको समृद्ध भविष्यका लागि मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।















प्रतिक्रिया दिनुहोस्