काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणले नेपाल–भारत आर्थिक सम्बन्धलाई नयाँ दिशामा अघि बढाउने प्रयास गरेको छ। एकातिर नेपालले भारतीय उद्योगी तथा लगानीकर्तालाई नयाँ क्षेत्रमा पुँजी परिचालन गर्न आग्रह गरेको छ भने अर्कोतर्फ दुई देशका निजी क्षेत्रले बाढी प्रभावित समुदायको पुनर्स्थापना र स्थानीय अर्थतन्त्रलाई पुनर्जीवन दिने सहकार्य अघि बढाएका छन् ।
प्रधानमन्त्री शाहसँगै दुईदिने राजकीय भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान गरेका छन्। उनले सूचना प्रविधि, जलविद्युत् र कनेक्टिभिटीलाई सम्भावनायुक्त क्षेत्रका रूपमा प्रस्तुत गर्दै नयाँ लगानी भित्र्याउन र नेपालमा पहिलेदेखि व्यवसाय गरिरहेका कम्पनीलाई आफ्नो लगानी विस्तार गर्न आग्रह गरेका हुन् ।नयाँदिल्लीस्थित होटल ताज प्यालेसमा आइतबार भारतीय उद्योग परिसंघ (सीआईआई) ले आयोजना गरेको ‘इन्डिया–नेपाल बिजनेस राउन्डटेबल’मा सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले नेपालमा लगानीका लागि अनुकूल वातावरण निर्माण भइरहेको बताएका थिए ।
उनले लगानीकर्ताको विश्वास जित्न सरकारले कानुनी तथा प्रशासनिक प्रक्रियालाई सरल बनाउँदै लगेको उल्लेख गरे। विशेषगरी लगानीको सुरक्षा, प्रतिफल प्राप्तिको सुनिश्चितता र कानुनी प्रक्रियामार्फत नाफा स्वदेश फिर्ता लैजान सकिने व्यवस्था सहज बनाउनेतर्फ सरकार केन्द्रित रहेको उनको भनाइ थियो । ‘नेपालमा लगानी गरिसकेका व्यवसायीले आफ्नो लगानी विस्तार गर्नुहोस्, नयाँ लगानीकर्ताले पनि सम्भावनाका क्षेत्र पहिचान गरेर निर्धक्क लगानी गर्नुहोस्।’ कार्यक्रममा भारतीय उद्योगीहरूले नेपालमा व्यवसाय गर्दाका आफ्ना अनुभवसमेत सुनाए ।
भारतीय उद्योगी श्रीकान्त सोमानी, पञ्जाब नेसनल बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत अशोक चन्द्र र एसियन पेन्ट्स नेपालका प्रतिनिधिहरूले नेपालमा लगानीका अनुभव र सम्भावनाबारे धारणा राखेका थिए । यसले नेपालमा नयाँ लगानी भित्र्याउने प्रयाससँगै विद्यमान भारतीय लगानीकर्ताको विश्वास कायम राख्ने विषयलाई पनि भेटमा महत्त्व दिएको देखिन्छ । कार्यक्रममा भारतका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसाद र सीआईआई अन्तर्राष्ट्रिय परिषद्का अध्यक्ष डा. विक्रमजित सिंह साहनीलगायतले सम्बोधन गरेका थिए । प्रधानमन्त्रीको भ्रमण टोलीसँगै पुगेका नेपाली उद्योगी व्यवसायी, करिब डेढ दर्जन भारतीय उद्योगी तथा प्रतिष्ठित कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।
लगानीसँगै बाढी प्रभावित अर्थतन्त्र पुनरुत्थानमा नेपालले खोज्यो सहकार्य
भारत भ्रमणका क्रममा आर्थिक सहकार्यको अर्को महत्त्वपूर्ण उपलब्धिका रूपमा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) बीच बाढी प्रभावित क्षेत्रको राहत, स्वास्थ्य सेवा र आर्थिक पुनर्स्थापनाका लागि भएको समझदारी हो । दुई संस्थाबीच भएको समझदारीपत्रअनुसार नेपालका बाढी तथा पहिरो प्रभावित समुदायलाई तत्काल मानवीय सहायता उपलब्ध गराउनेदेखि उनीहरूको गुमेको जीविकोपार्जन फर्काउने र स्थानीय व्यवसाय पुनः सञ्चालन गर्न सहयोग पुर्याउनेसम्मका कार्यक्रम अघि बढाइनेछ । समझदारीपत्रमा एफएनसीसीआईका उपाध्यक्ष कृष्णप्रसाद शर्मा र सीआईआई अन्तर्राष्ट्रिय परिषद्का सहअध्यक्ष तथा सन इन्टरनेसनल लिमिटेडका अध्यक्ष विक्रमजित सिंह साहनीले हस्ताक्षर गरेका छन् । एक वर्ष अवधिको यस समझदारीले दुई देशका निजी क्षेत्रलाई विपद् व्यवस्थापन र आर्थिक पुनरुत्थानमा संयुक्त रूपमा परिचालन गर्ने आधार तयार गरेको छ ।

गत भदौ १० गते नेपाल–चीन सीमा नजिक हिमताल फुटेर भोटेकोशी र त्रिशूली नदी करिडोरमा आएको विनाशकारी बाढी तथा पहिरोले रसुवा, नुवाकोट र धादिङमा ठूलो मानवीय र भौतिक क्षति पुर्याएको थियो। यसबाट प्रभावित परिवारको स्वास्थ्य, आवास, आयआर्जन र व्यवसायमा परेको असर कम गर्न कार्यक्रम केन्द्रित हुनेछ ।प्रारम्भिक चरणमा बागमती प्रदेशका रसुवा, नुवाकोट र धादिङलाई प्राथमिकता दिइनेछ। आवश्यकताका आधारमा गोरखा र बागलुङ तथा सम्भाव्यता हेरेर मुस्ताङ र मनाङसम्म पनि कार्यक्रम विस्तार गर्न सकिने समझदारीमा उल्लेख छ ।
दुई एम्बुलेन्सदेखि निःशुल्क स्वास्थ्य शिविरसम्म
समझदारीअनुसार पहिलो चरणमा सन् २०२६ नोभेम्बरदेखि २०२७ मार्चसम्म स्वास्थ्य तथा सरसफाइसम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ । यसअन्तर्गत चिकित्सक, नर्स, पारामेडिक्स र फार्मासिस्टसहितको टोली प्रभावित क्षेत्रमा परिचालन गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। बाढीपछि देखिन सक्ने पानीजन्य तथा छालासम्बन्धी रोग, श्वासप्रश्वास समस्या र चोटपटकको उपचारका साथै मातृशिशु स्वास्थ्य सेवा र निःशुल्क औषधि वितरणलाई प्राथमिकता दिइनेछ । त्यसैगरी प्रभावित परिवारलाई व्यक्तिगत सरसफाइ तथा स्वच्छ पिउने पानीको प्रयोगमा सहयोग पुर्याउन साबुन, दन्तमञ्जन, ब्रस, स्यानिटरी प्याड, पानी शुद्धीकरणका सामग्रीलगायत समेटिएका सरसफाइ किट उपलब्ध गराइनेछ। खाद्यान्न, लत्ताकपडा, कम्बल र अस्थायी आवासका लागि पालसमेत वितरण गरिने योजना छ। आपत्कालीन स्वास्थ्य सेवामा पहुँच बढाउन छनोट गरिएका दुई अस्पताललाई आधारभूत जीवनरक्षक सुविधासहितका दुई एम्बुलेन्स हस्तान्तरण गरिनेछ । समझदारीमा उल्लेख भएअनुसार प्रत्येक एम्बुलेन्सबाट वार्षिक करिब चार सय बिरामीलाई अस्पतालसम्म पुर्याउन र करिब छ हजार नागरिकलाई सामुदायिक स्वास्थ्य सेवाको पहुँचमा जोड्न सकिने अपेक्षा गरिएको छ ।
राहतपछि रोजगारी र व्यवसाय पुनःस्थापनामा जोड
यस सहकार्यको महत्त्वपूर्ण पक्ष तत्कालीन राहत वितरणमा मात्र सीमित छैन। दोस्रो र तेस्रो चरणमा प्रभावित परिवारको आम्दानीका स्रोत पुनःस्थापना र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने कार्यक्रम प्रस्ताव गरिएको छ । बाढीबाट प्रभावित साना व्यवसाय, कृषि, पशुपालन तथा स्थानीय सेवा क्षेत्रलाई पुनः सञ्चालन गर्न आवश्यक औजार, उपकरण र सीपमूलक तालिम उपलब्ध गराउने योजना छ। विशेषगरी लघु, घरेलु तथा साना उद्यम (एमएसएमई) को पुनरुत्थानका लागि प्राविधिक परामर्श, वित्तीय पहुँचसम्बन्धी जानकारी र बजारसँगको सम्बन्ध विस्तारमा सहयोग गरिनेछ। महासंघको सर्वेक्षणका आधारमा प्रभावित उद्यमहरूको आवश्यकता पहिचान गरी उनीहरूलाई व्यवसाय पुनः सञ्चालन गर्न सहजीकरण गरिनेछ। प्रभावित क्षेत्रका उद्यमी र भारतीय तथा नेपाली उद्योगीबीच व्यावसायिक आदानप्रदान कार्यक्रमसमेत आयोजना गर्ने योजना समझदारीमा समेटिएको छ। यसबाट बाढीले क्षति पुर्याएका व्यवसायलाई पुनः उठाउने मात्र नभई स्थानीय उत्पादन, रोजगारी र बजारको सम्बन्धलाई समेत पुनर्जीवित गर्ने लक्ष्य राखिएको छ ।
भारतीय उद्योग परिसंघले स्रोत परिचालन गर्ने, महासंघले स्थानीय समन्वय गर्ने
समझदारीअनुसार भारतीय उद्योग परिसंघले आफ्ना सदस्यहरूमार्फत स्रोत परिचालन गर्ने, भारत सरकारसँग आवश्यक समन्वय गर्ने र नेपालमा कार्यक्रम कार्यान्वयनका लागि साझेदार छनोट गर्ने भूमिका निर्वाह गर्नेछ । त्यस्तै, एफएनसीसीआईले नेपाल सरकार तथा स्थानीय तहसँग समन्वय, राहत सामग्री र औषधि भित्र्याउन सहजीकरण तथा प्रभावित क्षेत्रका उद्योगी व्यवसायीसँग समन्वय गर्नेछ ।कार्यक्रमको प्रभावकारिता र पारदर्शिता कायम गर्न लाभग्राहीको अभिलेख, जिओ–ट्याग गरिएका तस्बिर र सामुदायिक गुनासो सुनुवाइ संयन्त्रसमेत लागू गरिनेछ ।
यद्यपि, यो समझदारीपत्रले तत्कालै निश्चित यति रकम उपलब्ध गराउने भनेर वित्तीय प्रतिबद्धता अंकमा उल्लेख गरेको छैन।आवश्यक स्रोत र कार्यक्रमका गतिविधि छुट्टाछुट्टै लिखित सहमतिबाट निर्धारण गरिने तथा आर्थिक पुनरुत्थानका पछिल्ला चरण पहिलो चरणको समीक्षा र स्वीकृतिपछि अघि बढाइने जनाइएको छ। नेपालको जलविद्युत् तथा कनेक्टिभिटी क्षेत्रमा भारतीय लगानी विस्तार र बाढीपछिको पुनर्निर्माणलाई भ्रमणको महत्त्वपूर्ण आर्थिक एजेन्डाका रूपमा हेरिएको छ। अर्थमन्त्री वाग्लेको लगानी आह्वानले निजी क्षेत्रको पुँजी र प्रविधि भित्र्याउने लक्ष्य राखेको छ भने एफएनसीसीआई र सीआईआईबीचको समझदारीले विपद्पछिको पुनर्निर्माणमा निजी क्षेत्रको भूमिका विस्तार गर्ने बाटो खोलेको छ। नेपालका लागि अबको चुनौती भनेको यस्ता समझदारी र लगानीका प्रतिबद्धतालाई व्यवहारमा उतार्नु हो।















प्रतिक्रिया दिनुहोस्