काठमाडौं । ठगी तथा बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ परेका चर्चित नेपाली सेफ सन्तोष साह हाजिर जमानीमा रिहा भएका छन्। पीडित पक्षलाई ठगीको रकम बुझाएपछि सोमबार साँझ उनलाई रिहा गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार साहले पीडित पक्षलाई चार लाख ५० हजार रुपैयाँ बिगो रकम बुझाएर त्यसको प्रमाण प्रहरीसमक्ष पेश गरेपछि उनलाई हाजिर जमानीमा छाडिएको हो।
यसअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले साहलाई गत शुक्रबार जनकपुरबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो। सकुन्तला अधिकारी थापाले दिएको जाहेरीका आधारमा साहविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई पक्राउ गरिएको थियो। प्रहरीका अनुसार गैरीधारास्थित रेष्टुरेन्टसँग सम्बन्धित आर्थिक विवादका विषयमा मुद्दा दर्ता भएको थियो। यही प्रकरणमा रेष्टुरेन्टका अर्का सञ्चालक नारायण साह सुडीलाई पनि प्रहरीले पक्राउ गरेको थियो।
साहविरुद्ध बैंकिङ कसुरसम्बन्धी अर्को मुद्दा भने अझै कायम रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार काठमाडौं जिल्ला अदालतले २०८२ जेठ ३० गते २५ लाख रुपैयाँ बिगो भएको बैंकिङ कसुर मुद्दामा साहलाई एक महिना कैद र एक लाख २५ हजार रुपैयाँ जरिवाना तोकेको छ। उक्त मुद्दामा अदालतमा हाजिर हुन बाँकी म्याद रहेकाले हालसम्म भुक्तानी प्रक्रियाका लागि नपठाइएको जनाइएको छ।
सन्तोष साह नेपाली खानालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने चर्चित सेफका रूपमा परिचित छन्।

















प्रतिक्रिया दिनुहोस्