काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा हवाई इन्धनको मूल्य बढेर अधिकांश देशमा हवाई भाडा महँगिँदै गए पनि नेपालका आन्तरिक वायुसेवा कम्पनीहरूले यात्रु आकर्षित गर्न विभिन्न छुट योजना सार्वजनिक गरेका छन्। यात्रु चाप घटेसँगै एयरलाइन्सहरू छुट अफरमार्फत प्रतिस्पर्धामा उत्रिएका हुन्।
बुद्ध एयर, यति एयरलाइन्स र श्री एयरलाइन्सले आफ्ना वेबसाइट, मोबाइल एप तथा अन्य डिजिटल प्लेटफर्ममार्फत विभिन्न गन्तव्यका लागि छुट सुविधा उपलब्ध गराइरहेका छन्। यसबाट यात्रुहरूले प्रत्यक्ष लाभ पाउन थालेका छन्।
बुद्ध एयरले धनगढी उडानमा १ हजार २०० रुपैयाँ, सुर्खेत र नेपालगञ्जमा १ हजार रुपैयाँ, भद्रपुरमा ८०० रुपैयाँ तथा भैरहवामा ६५० रुपैयाँसम्म छुट प्रदान गरिरहेको जनाएको छ। कम्पनीले आफ्ना ग्राहकलाई माइलेज प्वाइन्टको सुविधा पनि उपलब्ध गराइरहेको छ।
बुद्ध एयरका मार्केटिङ अफिसर रुपेस जोशीका अनुसार हाल लागू गरिएको व्यवस्था भाडादर घटाइएको नभई विशेष छुट योजना हो। उनले ‘फ्लाइ क्लब’ माइलेज कार्डका सदस्यहरूलाई लक्षित गरी जेठ १ गतेदेखि योजना सञ्चालन गरिएको र हाललाई करिब एक महिनासम्म लागू रहने बताए। आवश्यकताअनुसार योजनाको अवधि परिवर्तन हुन सक्ने उनको भनाइ छ।
भद्रपुरबाट काठमाडौं यात्रा गरेकी उर्मिला लिम्बुले छुट योजनाले यात्रा खर्च कम गर्न सहयोग पुगेको बताइन्। धनगढीका आलोक विष्टले पनि महँगो हवाई भाडाका बीच छुट पाउँदा राहत महसुस भएको प्रतिक्रिया दिए।
वर्षायाम र मलमासका कारण आन्तरिक उडानमा यात्रु संख्या घटेपछि एयरलाइन्सहरूले बजार प्रवर्द्धनका लागि छुट योजना ल्याएको व्यवसायीहरू बताउँछन्।
यद्यपि, हवाई सेवामा बढ्दो छुट योजनाले यात्रु आकर्षित गर्न सहयोग गरे पनि यसले एयरलाइन्सहरूको वित्तीय अवस्थामा पार्ने प्रभावबारे चासो व्यक्त हुन थालेको छ। अपुष्ट रूपमा केही आन्तरिक एयरलाइन्समा कर्मचारीको तलब वितरणमा ढिलाइ भएको चर्चा छ। जानकारहरूका अनुसार वित्तीय दबाब बढ्दै गएमा विमान मर्मतसम्भार र इन्जिन व्यवस्थापनमा समेत असर पर्न सक्ने जोखिम रहन्छ।















प्रतिक्रिया दिनुहोस्