काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का नवनिर्वाचित अध्यक्ष मोहनकुमार डाँगीले बुधबार पदभार ग्रहण गरेका छन्।
इप्पानका निवर्तमान अध्यक्ष गणेश कार्कीले उनलाई कार्यालयमा स्वागत गर्दै औपचारिक रूपमा पदबहाली गराएका हुन्।
पदभार ग्रहणपछि अध्यक्ष डाँगीले ऊर्जा क्षेत्रका सम्पूर्ण सरोकारवालालाई एकढिक्का बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। अधिवेशनका क्रममा विभिन्न समूहमा विभाजित देखिए पनि सर्वसम्मत नेतृत्व चयनसँगै अहिले समग्र ऊर्जा क्षेत्र एकजुट भएको उनको भनाइ थियो। ‘चुनावको बेला जे भयो, सकियो। अब हामी सबै एकढिक्का भएर काम गर्नेछौँ। सबैलाई जिम्मेवारी र अधिकारसहित कार्यविभाजन गरेर संस्थालाई थप प्रभावकारी बनाउनेछौँ,’ उनले भने। यसअघि इप्पानका वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका डाँगी विधानअनुसार स्वत अध्यक्ष बनेका हुन्।

निवर्तमान अध्यक्ष गणेश कार्कीले इप्पानका पदाधिकारी तथा सदस्यहरूले सार्वजनिक अभिव्यक्ति दिँदा विशेष जिम्मेवारीबोध गर्नुपर्ने बताए। कुनै पनि विषयमा अपूर्ण जानकारीका आधारमा टिप्पणी गर्दा समग्र ऊर्जा क्षेत्र प्रभावित हुन सक्ने उनको भनाइ थियो। ‘कार्यसमितिको सदस्यले बोलेको विषयको जिम्मेवारी अध्यक्षले लिनुपर्छ। त्यसैले सार्वजनिक रूपमा बोल्दा सल्लाह र तथ्यका आधारमा मात्रै बोल्नुपर्छ,’ कार्कीले भने, ‘१५ खर्ब रुपैयाँभन्दा बढी लगानी भएको ऊर्जा क्षेत्रको हितलाई ध्यानमा राखेर अभिव्यक्ति दिन आवश्यक छ।’
कार्कीले आफ्नो नेतृत्वकालमा उठाइएका अधिकांश ऊर्जा क्षेत्रका मुद्दा राजनीतिक दलका घोषणापत्रमा समावेश हुनुलाई महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गर्दै नयाँ नेतृत्वले ती विषय कार्यान्वयनका लागि निरन्तर दबाब सिर्जना गर्नुपर्ने बताए। नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोनले नेतृत्व परिवर्तन भए पनि ऊर्जा क्षेत्रका साझा मुद्दामा निरन्तर सहकार्य रहने विश्वास व्यक्त गरे। ‘सिट परिवर्तन भए पनि ऊर्जा क्षेत्रको बृहत्तर हितका लागि हामी सधैं सँगै रहनेछौँ,’ उनले भने।
करिब ७०० ऊर्जा उत्पादक कम्पनी आबद्ध रहेको इप्पानको नयाँ नेतृत्व गत जेठ २९ गते चयन भएको थियो। नयाँ कार्यसमितिले असार १ गते शपथ ग्रहण गरेपछि बुधबारदेखि औपचारिक रूपमा पदभार ग्रहण गरेको हो।















प्रतिक्रिया दिनुहोस्