काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल बिमा प्राधिकरणको अध्यक्ष नियुक्तिमा उच्च सतर्कता अपनाइने बताएका छन्।
ती पदहरूमा उम्मेदवारहरूको ‘१० पुस्ते सम्बन्ध’ र विगतका गतिविधिहरू समेत गम्भीरतापूर्वक केलाएर मात्रै नियुक्ति प्रक्रिया टुङ्गोमा पुर्याइने उनको भनाइ छ। बुधबार नेपाल चेम्बर अफ कमर्सद्वारा आयोजित कार्यक्रममा अर्थमन्त्रीले नियमनकारी निकायहरूलाई स्वच्छ र पारदर्शी बनाउन योग्य नेतृत्व चयन गर्ने उल्लेख गर्दै भने,‘हामीले धितोपत्र बोर्डको अध्यक्षका लागि मानिस चुनिसकेका छौं।’
वाग्लेले सम्बन्धित क्षेत्रको गहिरो बुझाइ भएको, नियामकीय अनुभव हासिल गरेको र बजारमा पूर्ण रूपमा स्वच्छ छवि भएको व्यक्तिलाई मात्रै नेतृत्वको जिम्मेवारी सुम्पिने प्रतिबद्धता व्यक्त गरे। ‘राम्रोसँग अध्ययन गरेर १० पुस्ते सम्बन्धहरु केलाएर उसको विगतका गतिविधिहरु हेरेर मात्र अध्यक्ष नियुक्ती गर्न लागि परेका छौं। हामी सही मानिस ल्याउने छौं। बिमा प्राधिकरणको हकमा पनि त्यहि हुनेछ।’
विवादरहित र व्यावसायिक व्यक्तिहरूको आगमनले मात्रै वित्तीय र पूँजी बजारको गरिमा बढ्ने भएकाले सरकारले नियुक्तिमा कुनै हतारो नगर्ने उनको भनाइ छ।















प्रतिक्रिया दिनुहोस्