काठमाडौं । अर्थमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले युवाले अवसर खोज्न विदेशिनुपर्ने बाध्यता अन्त्य हुने खालको नेपाल निर्माण गर्नुपर्ने बताएका छन्।
आइतबार चितवनमा सुरु भएको रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै वाग्लेले श्रम, सीप, ज्ञान र सिर्जनशीलतालाई आफ्नै देशमा सम्मान र अवसर प्राप्त हुने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए। ‘हामी यस्तो नेपाल चाहन्छौँ, जहाँ युवाले अवसर खोज्न आफ्नो देश छोड्नुपर्ने बाध्यता नहोस्, जहाँ श्रम, सीप, ज्ञान र सिर्जनशीलताले यही माटोमा सम्मान र अवसर पाओस्,’ उनले भने।
वाग्लेले नेपालको समस्या स्रोत वा सम्भावनाको अभाव मात्र नभएको उल्लेख गर्दै गलत प्रोत्साहन संरचनाले देशलाई पछाडि धकेलेको दाबी गरे। उनका अनुसार इमानदार मानिसलाई राजनीतिमा प्रवेश गर्न कठिन र पहुँचवालालाई सफल हुन सहज हुने प्रणाली विकसित भएको छ। ‘व्यवसायमा नवप्रवर्तन गर्न कठिन, तर शक्ति केन्द्रसँग निकट हुन सजिलो हुने व्यवस्था बन्यो,’ उनले भने, ‘राज्यले सिर्जना गर्नेभन्दा बाँड्ने, प्रतिस्पर्धा बढाउनेभन्दा नियन्त्रण गर्ने र अवसर विस्तार गर्नेभन्दा पहुँचको संरक्षण गर्ने संस्कार विकास भयो।’
उनले रास्वपाको उद्देश्य केवल सरकार परिवर्तन नभई राजनीतिक संस्कार परिवर्तन रहेको बताए। विवेक, विधि र नियममा आधारित शासन प्रणाली, भागबण्डाको राजनीतिबाट मेरिटोक्रेसीतर्फको यात्रा तथा नागरिक केन्द्रित लोकतन्त्र स्थापना पार्टीको लक्ष्य रहेको उनको भनाइ थियो।
वाग्लेले रास्वपा आन्दोलनकारी शक्तिबाट संस्थागत राजनीतिक शक्तिमा रूपान्तरणको चरणमा प्रवेश गरेको उल्लेख गर्दै नयाँ पुस्ताले केवल प्रश्न उठाउने मात्र नभई समाधान दिने, शासन चलाउने र परिणाम देखाउने क्षमता प्रमाणित गर्नुपर्ने बताए।
उनले रास्वपाले उदार लोकतन्त्र, प्रतिस्पर्धी अर्थतन्त्र, समन्यायिक समाज र सक्षम राज्यको परिकल्पना अघि सारेको बताए। पहुँचभन्दा क्षमता सफलताको आधार बन्नुपर्ने, आसेपासे पुँजीवादको अन्त्य हुनुपर्ने तथा उद्यमशीलता र परिश्रमले समृद्धिको ढोका खोल्नुपर्नेमा उनले जोड दिए। विशेषगरी रास्वपाको अर्थ राजनीतिक बाटो आसेपासे पुँजीवाद वा विकृत समाजवाद नभई समन्यायिक समाज चाहेको उनको भनाइ छ। ‘हामी यस्तो प्रतिस्पर्धी अर्थतन्त्र चाहन्छौँ, जहाँ पहुँच होइन क्षमता सफलताको आधार बनोस्, जहाँ आसेपासे पुँजीवाद वा विकृत समाजवाद होइन, उद्यमशीलता र परिश्रमले समृद्धिको ढोका खोलोस्, उनले थप भने, ‘हामी यस्तो समन्यायिक समाज चाहन्छौँ, जहाँ कुनै बालकको भविष्य उसको थर, जात, भूगोल, भाषा वा परिवारको आर्थिक अवस्थाले होइन, उसको प्रतिभाले निर्धारण गरोस्।’
रास्वपाले नेपालको भविष्य कस्तो देख्छ भन्ने सन्दर्भमा उनले भने– ‘हामी यस्तो उदार लोकतन्त्र चाहन्छौँ, जहाँ निर्वाचनले सरकार बनाओस्, तर संविधान, कानुनको शासन र नागरिक स्वतन्त्रताले सत्तालाई मर्यादित राखोस्, जहाँ बहुमतले शासन गरोस्, तर अल्पमत पनि सम्मानित रहोस्।’ नागरिकमाथि शासन नगर्ने तर नागरिकको सेवा गर्ने राज्य रास्वपाले चाहेको वाग्लेको भनाइ छ।
सम्बोधनका क्रममा उनले किसान, श्रमिक र उद्यमीको सम्मान, भयमुक्त लगानी वातावरण तथा नागरिकमा भविष्यप्रतिको आशा जगाउने राज्य निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए। रास्वपाले उद्यमीले बिना भय लगानी गरी देशको भविष्यमा आशा राख्न सक्ने नेपाल बनाउन चाहेको चर्चा गरे । वाग्लेले भने, ‘यहाँ किसान र श्रमिकले गर्वका साथ बाँच्न सकुन, उद्यमीले बिना भय लगानी गरुन, र प्रत्येक नागरिकले आफ्नो भविष्यप्रति आशावादी हुन सकोस्।’
वाग्लेले रास्वपाको प्रथम महाधिवेशनलाई संगठनात्मक कार्यक्रमभन्दा पनि नेपालको राजनीतिक पुनर्जागरणको प्रारम्भका रूपमा व्याख्या गरे।















प्रतिक्रिया दिनुहोस्