काठमाडौं । नेपालमा विद्याुतीय दुई पाङ्ग्रे सवारीको प्रयोग बढ्दै जाँदा इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडियाले आफ्नो नयाँ इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’ सार्वजनिक गरेको छ।
नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रा.लि. मार्फत आयोजित विशेष कार्यक्रममा उक्त मोटरसाइकल आज सार्वजनिक गरिएको हो। कम्पनीका अनुसार यो नयाँ मोडेलले नेपाली बजारमा प्रदर्शनमुखी इलेक्ट्रिक मोटरसाइकलिङको नयाँ अनुभव प्रदान गर्नेछ।

परम्परागत दैनिक आवतजावत केन्द्रित ईभीभन्दा फरक रूपमा डिजाइन गरिएको याडेया किनेसलाई गति, शक्ति, रोमाञ्चक राइडिङ अनुभव र आकर्षक डिजाइनलाई प्राथमिकतामा राखेर विकास गरिएको कम्पनीले जनाएको छ। मोटरसाइकलमा ११ किलोवाट क्षमताको मिड–ड्राइभ मोटर जडान गरिएको छ, जसले ३०० एनएम टर्क उत्पादन गर्छ।

कम्पनीका अनुसार यसले शून्यदेखि ५० किलोमिटर प्रतिघण्टाको गति केवल ३ सेकेन्डमै हासिल गर्न सक्षम छ भने यसको अधिकतम गति १०० किलोमिटर प्रतिघण्टा रहेको छ।
नेपालका विभिन्न भौगोलिक अवस्था र सडकलाई ध्यानमा राख्दै डिजाइन गरिएको यो मोडेलले २० डिग्रीसम्मको उकालो सहजै पार गर्न सक्ने क्षमता राख्ने कम्पनीले जनाएको छ। यसमा ४.६ किलोवाट–घण्टा क्षमताको ब्याट्री प्रयोग गरिएको छ, जसलाई ४० भन्दा बढी सुरक्षा सुविधासहितको स्मार्ट ब्याट्री व्यवस्थापन प्रणालीले सुरक्षित बनाइएको छ। यसले ब्याट्रीको दीर्घायु र सुरक्षित सञ्चालन सुनिश्चित गर्ने कम्पनीको दाबी छ।

कम्पनीका अनुसार यो मोटरसाइकल केवल यातायातको साधन मात्र नभई शक्ति, प्रदर्शन र रोमाञ्चको समग्र अनुभव हो। नेपालमा याडेया किनेसको अधिकतम खुद्रा मूल्य (एमआरपी) ६ लाख ६० हजार रुपैयाँ तोकिएको छ।
सन् २००१ मा स्थापना भएको याडेया हाल १५० भन्दा बढी देश तथा क्षेत्रमा सक्रिय छ ।















प्रतिक्रिया दिनुहोस्