बागलुङ । बागलुङ सेवा समाज अमेरिकाले धौलागिरि प्रादेशिक अस्पताल परिसरमा सञ्चालित रक्तसञ्चार केन्द्रलाई करिब १५ लाख रुपैयाँ बराबरको जेनेरेटर र रक्तदान गर्ने कुर्सी सहयोग गरेको छ।
नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रको सेवा थप प्रभावकारी बनाउन उक्त सहयोग प्रदान गरिएको हो। नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जगन्नाथ आचार्यका अनुसार बारम्बार विद्युत् अवरुद्ध हुँदा फ्रिजमा भण्डारण गरिएको रगत आवश्यक तापक्रममा राख्न समस्या हुने र रगतको गुणस्तरमा असर पर्ने जोखिम थियो। अब जेनेरेटर सञ्चालनमा आएपछि यस्तो समस्या समाधान हुने विश्वास गरिएको छ।
उनले विद्युत् नहुँदा रातिको समयमा मोबाइलको बत्तीको सहारामा रक्तदान गराउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै अब रगतको सुरक्षित भण्डारण र प्लेटलेट्स तथा प्लाज्माजस्ता रक्त अवयवको उत्पादन तथा व्यवस्थापन सहज हुने बताए।
बागलुङ सेवा समाज अमेरिकाका महासचिव देवलाल शर्माले विदेशमा रहे पनि जन्मभूमिप्रतिको दायित्व सम्झँदै स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
धौलागिरि प्रादेशिक अस्पतालमा चार महिनाअघि मात्रै प्लेटलेट्स र प्लाज्मा उत्पादन सुरु भएको हो। यसअघि यस्ता रक्त अवयव उपलब्ध नभएकाले जटिल बिरामीलाई उपचारका लागि पोखरा पठाउनुपर्ने बाध्यता थियो। प्रयोगशालाको पूर्वाधार निर्माणका लागि यसअघि बागलुङ समाज जापानले १३ लाख ५० हजार रुपैयाँ सहयोग गरेको थियो।















प्रतिक्रिया दिनुहोस्