Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै विचार सर्वकालिक हुँदैन : प्रचण्ड

मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै विचार सर्वकालिक हुँदैन : प्रचण्ड
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन अवस्थामा मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद (जबज) ले नेपाली कम्युनिष्ट आन्दोलनलाई जीवन्त राख्न ऐतिहासिक भूमिका खेलेको बताएका छन्। साथै उनले कुनै पनि विचार, नीति वा सिद्धान्त सर्वकालिक नहुने भन्दै समयअनुसार त्यसको समीक्षा र विकास आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

आइतबार काठमाडौंमा आयोजित मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै प्रचण्डले सोभियत संघको विघटन र पूर्वी युरोपका समाजवादी शासन पतन भएको चुनौतीपूर्ण अन्तर्राष्ट्रिय परिस्थितिमा जबजको अवधारणा अघि सारिएको स्मरण गरे। उनका अनुसार त्यतिबेला नेपाली कम्युनिष्ट आन्दोलनलाई जोगाउन र जीवन्त राख्न उक्त कार्यक्रमले ऐतिहासिक भूमिका खेलेको थियो।

प्रचण्डले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनअघि यही हलबाट तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच कार्यगत एकता तथा पछि पार्टी एकताको घोषणा गरिएको स्मरण गर्दै अहिले फेरि दुवै दलका नेताहरू एउटै मञ्चमा उपस्थित हुनु अर्थपूर्ण रहेको बताए। उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठनको घोषणा मदन भण्डारीको स्मृतिदिवस जेठ ३ गते नै गरिएको उल्लेख गर्दै त्यसको विशेष राजनीतिक र वैचारिक महत्व रहेको पनि बताए।

उनले इतिहास, विचार र नीतिलाई समय तथा परिस्थितिको सन्दर्भमा मूल्याङ्कन गर्नुपर्ने धारणा राख्दै कुनै पनि विचारलाई स्थायी सत्यका रूपमा लिन नहुने बताए। उनका अनुसार माक्र्सवादको मूल आत्मा ठोस वस्तुको ठोस विश्लेषण भएकाले समयको मागअनुसार नीति, सिद्धान्त र कार्यदिशाको विकास गरिरहनुपर्ने हुन्छ।

प्रचण्डले परिवर्तनलाई नै स्थायी सत्यका रूपमा स्वीकार गर्नुपर्ने उल्लेख गर्दै सबै सत्य सापेक्षिक हुने र निरपेक्ष सत्य भन्ने कुरा नहुने धारणा पनि व्यक्त गरे।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit