Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

रचनात्मकताको अभाव कम्युनिष्ट आन्दोलनको मूल समस्या हो, एक निर्वाचनले यसको भविष्य तय गर्दैन: पूर्वराष्ट्रपति भण्डारी

रचनात्मकताको अभाव कम्युनिष्ट आन्दोलनको मूल समस्या हो, एक निर्वाचनले यसको भविष्य तय गर्दैन: पूर्वराष्ट्रपति भण्डारी
विज्ञापन
Advertisement

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद (जबज) आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएकी छन्। उनले एक निर्वाचनको परिणामका आधारमा जबजको सान्दर्भिकता वा कम्युनिष्ट आन्दोलनको भविष्यबारे हतारमा निष्कर्ष निकाल्न नहुने बताइन्।

विज्ञापन
Advertisement
Advertisement

आइतबार काठमाडौंमा मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै भण्डारीले निर्वाचन परिणामलाई आत्मसमीक्षाको अवसरका रूपमा लिनुपर्ने, तर त्यसैलाई आन्दोलनको भविष्यको अन्तिम मापन बनाउन नहुने धारणा राखिन्। उनले भनिन्,‘कुनै एउटा निर्वाचनको परिणामका आधारमा जनताको बहुदलीय जनवादको सान्दर्भिकता वा कम्युनिष्ट आन्दोलनको भविष्यबारे हतारमा निष्कर्ष निकाल्नु उचित हुँदैन।’

उनले नेपाली कम्युनिष्ट आन्दोलनका शीर्ष नेताहरू एउटै मञ्चमा बसेर विचार–विमर्श गर्नु समयसापेक्ष र सकारात्मक पहल भएको उल्लेख गर्दै यसले आन्दोलनको ऐतिहासिक समीक्षा र वर्तमान चुनौतीबारे साझा दृष्टिकोण बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।

भण्डारीले सोभियत सङ्घको विघटन र पूर्वी युरोपका समाजवादी व्यवस्थाहरू पतन भएको कठिन अन्तर्राष्ट्रिय परिस्थितिमा मदन भण्डारीले नेपालको वस्तुगत यथार्थअनुसार ‘जनताको बहुदलीय जनवाद’को मौलिक अवधारणा अघि सारेको स्मरण गरिन्। उनका अनुसार जबज तत्कालीन संकटको उत्तर मात्र नभई नेपालको राजनीतिक यथार्थबाट विकसित मौलिक वैचारिक प्रस्ताव थियो।

उनले जबजले कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिक आधारमा स्थापित गर्दै बहुदलीय प्रतिस्पर्धा, मानव अधिकार, अभिव्यक्ति स्वतन्त्रता र आवधिक निर्वाचनमार्फत समाजवादी रूपान्तरण सम्भव हुने मान्यता स्थापित गरेको बताइन्। भण्डारीले बदलिँदो पुस्ता, डिजिटल युग, प्रविधिको तीव्र विकास र युवाका नयाँ आकांक्षाअनुसार कम्युनिष्ट आन्दोलनले आफ्नो नीति, कार्यशैली र संगठनात्मक अभ्यासलाई समयानुकूल परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याइन्। ‘रचनात्मकताको अभाव नै कम्युनिष्ट आन्दोलनको मूल समस्या हो भन्ने मदन भण्डारीको निष्कर्ष आज झन् बढी सान्दर्भिक भएको अनुभव हुन्छ,’ उनले भनिन्।

उनले गुणस्तरीय शिक्षा, रोजगारी, स्वास्थ्य, सुशासन, उत्पादनमुखी अर्थतन्त्र र राष्ट्रिय आत्मनिर्भरताजस्ता विषयमा व्यवहारिक नीति विकास गर्न सके मात्रै कम्युनिष्ट आन्दोलन थप सुदृढ र लोकप्रिय बन्न सक्ने धारणा राखिन्।

संविधान संशोधनबारे बोल्दै भण्डारीले संविधानलाई समयानुकूल परिमार्जन गर्न सकिने भए पनि त्यसका मूलभूत मूल्य, मान्यता र अन्तरवस्तुलाई कमजोर पार्ने गरी संशोधन गर्न नहुने स्पष्ट पारिन्। साथै, नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक समाजका लागि प्रत्यक्ष कार्यकारी शासन प्रणाली उपयुक्त नहुने उनको भनाइ थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit