Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल

वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी शक्तिहरूबीच एकता नहुँदा देशमा वर्तमान राजनीतिक अवस्था सिर्जना भएको बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

आइतबार काठमाडौंमा आयोजित मदन भण्डारी राष्ट्रिय पुरस्कार समारोहलाई सम्बोधन गर्दै उनले नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) बीच निर्वाचनअघि कार्यगत एकता भएको भए अहिलेको राजनीतिक अवस्था फरक हुने दाबी गरे।

खनालले वामपन्थी दलहरूले पछिल्लो निर्वाचनको समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याउँदै एकताबिना भविष्य सुरक्षित नहुने बताए। उनले भने, ‘यदि यही दुईटा दल मात्रै निर्वाचनअघि कार्यगत एकता गरेको भए ७४ होइन, करिब १०० सिट वामपन्थीको हुन्थ्यो। बालेन्द्र तानाशाही परिस्थिति देख्नुपर्ने थिएन।’

उनले कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्न देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरू सक्रिय रहेको आरोप पनि लगाए। मदन भण्डारीको मृत्यु कम्युनिष्ट आन्दोलनलाई निस्तेज पार्ने षड्यन्त्रको परिणाम भएको उनको दाबी थियो। ‘उहाँमाथि भएको षड्यन्त्र नेपालका कम्युनिष्ट आन्दोलनलाई निस्तेज पार्ने देशी–विदेशी प्रतिक्रियावादीहरूको घोर षड्यन्त्र थियो,’ उनले भने।

खनालले वर्तमान राजनीतिक अवस्था समाजवादी क्रान्तिको नयाँ चरण भएको उल्लेख गर्दै पुराना कार्यदिशा र नाराले मात्र नपुग्ने बताए। समयअनुकूल नयाँ नीति, सिद्धान्त र कार्यदिशा विकास गर्नुपर्नेमा उनले जोड दिए। उनले लामो समयदेखि वामपन्थी दलहरूबीच रहेको वैचारिक विभाजन अन्त्य गरी साझा मुद्दामा कार्यगत एकता गर्न आग्रह गरे।‘अब समयले हामीलाई एक ठाउँमा ल्याउन थालेको छ। आजको आवश्यकता वामपन्थी एकता हो,’ उनले भने।

सरकारको नीति तथा कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै खनालले किसान, मजदुर र निम्न वर्गका जनताको हितविपरीत काम भइरहेको आरोप लगाए। बजेट माथिल्लो वर्गको हितमा केन्द्रित रहेको तथा बढ्दो ऋण र महँगीले आम नागरिकलाई थप समस्यामा पारेको उनको भनाइ थियो।

उनले गणतन्त्र, संविधान र राष्ट्रियतामाथि खतरा बढिरहेको दाबी गर्दै त्यसको रक्षा गर्न वामपन्थी शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याए। ‘देश संकटतर्फ जाँदै छ। राष्ट्रियता, गणतन्त्र र संविधानमाथि खतरा बढिरहेको छ। यो संकटबाट राष्ट्रलाई मुक्त गर्ने वास्तविक देशभक्त शक्ति वामपन्थी शक्ति नै हो,’ उनले भने।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit