काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने कुनै मनसाय नराखेको स्पष्ट पार्दै प्रेस स्वतन्त्रताको संरक्षणमा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।
आइतबार नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारले पहिलो १०० दिन नागरिकलाई परिणाममुखी काम दिनमा केन्द्रित रहेकाले प्रेस स्वतन्त्रता हनन गर्न खोजिएको भन्ने आशंका निराधार रहेको बताए ।
मन्त्री तिमिल्सिनाले लोकतन्त्रको आधारस्तम्भ नै प्रेस स्वतन्त्रता भएकाले त्यसको हनन कसैले पनि गर्न नसक्ने उल्लेख गरे। संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको अधिकार कार्यान्वयनमा कुनै समस्या देखिए कानुनी र संस्थागत संयन्त्रमार्फत समाधान गर्न सकिने उनले बताए।
उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तर्फबाट प्रेस स्वतन्त्रतासम्बन्धी कुनै गुनासो वा समस्या भए संवाद र छलफलमार्फत समाधान गर्न सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गरे।
पत्रकारितालाई लोकतन्त्रको चौथो अंगको रूपमा उल्लेख गर्दै उनले यसलाई अझ बलियो, संस्थागत, विश्वसनीय र व्यावसायिक बनाउन सरकार प्रतिबद्ध रहेको बताए। साथै पत्रकारिता क्षेत्रले पनि आफ्नो विश्वसनीयता, गरिमा र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सञ्चारसम्बन्धी कानुन, प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिताबारे राष्ट्रिय बहस आवश्यक रहेको बताइन्। उनले संघीय सञ्चार कानुनको स्वरूप, पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन तथा पत्रकारको व्यावसायिक उत्तरदायित्व सुदृढ बनाउने विषय सम्मेलनका प्रमुख एजेन्डा रहेको जानकारी दिइन्।















प्रतिक्रिया दिनुहोस्