लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष कुल आचार्यले नेपालका ठूला पूर्वाधार, जलविद्युत र पर्यटन क्षेत्रमा लगानी बढाउन बेलायतस्थित नेपाली डायस्पोरा तथा विदेशी लगानीकर्तालाई आह्वान गरेका छन्।
लन्डनस्थित नेपाली दूतावासमा आयोजित व्यापार तथा लगानी प्रवर्द्धन सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै उनले नेपालमा लगानीका लागि प्रशस्त सम्भावना रहेको र गैरआवासीय नेपालीहरूले सामूहिक रूपमा लगानी विस्तार गर्नुपर्ने बताए। आचार्यले गैरआवासीय नेपाली नागरिकताको व्यवस्था सुनिश्चित गर्न आफूले लामो समय नेतृत्वदायी भूमिका निर्वाह गरेको स्मरण गर्दै नागरिकतासम्बन्धी कानुनी जटिलता हटेसँगै लगानीको वातावरण थप सहज हुने विश्वास व्यक्त गरे।
नेपाल चीन र भारतजस्ता दुई ठूला अर्थतन्त्रबीच रहेकाले बजार विस्तार र आर्थिक विकासको उच्च सम्भावना रहेको उल्लेख गर्दै उनले पूर्वाधार, ऊर्जा र पर्यटन क्षेत्र विदेशी तथा गैरआवासीय नेपाली लगानीका प्रमुख गन्तव्य बन्न सक्ने बताए। उनले सन् २०१७ मा स्थापना भएको एनआरएनए इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी सन् २०२० देखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भई लगानीकर्तालाई प्रतिफल वितरण गरिरहेको जानकारी दिए। कम्पनीमार्फत जलविद्युतलगायत विभिन्न क्षेत्रमा गैरआवासीय नेपालीहरूको सामूहिक लगानी विस्तार भइरहेको उनको भनाइ थियो।
आचार्यका अनुसार नेपालमा सुरक्षित लगानीका लागि स्थापित व्यावसायिक समूहहरूसँग रणनीतिक साझेदारी गरिएको छ। आईएमई ग्रुपसँग मिलेर हिमालय पावर पार्टनरलगायत जलविद्युत आयोजनामा तथा सानिमा ग्रुपसँग हाइड्रो र बैंकिङ क्षेत्रमा सहकार्य भइरहेको उनले बताए। साथै केसी ग्रुपसँग जलविद्युत, पर्यटन, हस्पिटालिटी, सर्भिस सेन्टर र अपार्टमेन्ट परियोजनामा सहकार्य अघि बढाइएको जानकारी दिए।
उनले भैरहवास्थित टाइगर प्यालेस रिसोर्ट सफलतापूर्वक सञ्चालन भइरहेको उल्लेख गर्दै त्यहाँ १,१०० भन्दा बढीले रोजगारी पाएको र उक्त परियोजनामा बेलायत तथा अमेरिकास्थित गैरआवासीय नेपाली व्यवसायीहरूको संयुक्त लगानी रहेको बताए। आचार्यले बेलायतमा रहेका नेपाली व्यवसायीलाई गोलमेच बैठकमार्फत बृहत् लगानीको प्रतिबद्धता जनाउँदै नेपालको आर्थिक रूपान्तरणमा साझेदार बन्न पनि आग्रह गरे।















प्रतिक्रिया दिनुहोस्