काठमाडौं। अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट २०४८ सालपछिकै सबैभन्दा रूपान्तरणकारी र ऐतिहासिक हुने दाबी गरेका छन् ।
स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पदाधिकारीहरूसँग आज बिहान भएको भेटमा उनले देशको अर्थतन्त्र सुधारका लागि सरकारले ठूलो फड्को मार्ने तयारी गरिरहेको बताएका हुन् ।
उनले अर्थतन्त्रका लागि अब ‘स्वर्णिम समय’ आउन लागेको उल्लेख गर्दै बजारमा व्याप्त नकारात्मक हल्ला र अफवाहको पछि नलाग्न सबैलाई आग्रह गरे । ‘हामी मुलुकको अर्थतन्त्र रूपान्तरण गर्ने दिशामा स्पष्ट मार्गचित्रका साथ अघि बढिरहेका छौँ,’ अर्थमन्त्रीले भनेका छन्,‘आगामी बजेटले यसको ठोस आधार तय गर्नेछ ।’
यस्तै, वाग्लेले सरकार शेयर बजारप्रति उदार रहेको उल्लेख गर्दै बजारको मनोबल गिराउने खालका गतिविधिलाई सरकारले नजिकबाट नियालिरहेको बताए । ब्रोकर एसोसिएसनका प्रतिनिधिलाई लगानीकर्तालाई सुरक्षित र ढुक्क भएर लगानी गर्ने वातावरण निर्माण गरिने आश्वासन वाग्लेले दिए ।
भेटमा एसोशिएसनका अध्यक्ष सागर ढकाल र महासचिव भक्तिराम घिमिरे सहितको टोलीले अर्थमन्त्रीलाई ६ बुँदे मागपत्र बुझाउँदै बजारमा देखिएका व्यावहारिक समस्या समाधान गर्न आग्रह गरेका थिए। ब्रोकरहरुले पुँजीबजार सुधार कार्यदलले दिएको सुझावहरूलाई तत्काल कार्यान्वयन गर्नुपर्ने, अक्सन मार्केटको सुरुवात गर्नुपर्ने, आगामी बजेटमार्फत पुँजीगत लाभकरलाई नै अन्तिम कर कायम राखिनुपर्ने, सेयर खरिद गरेपछि बिक्री गर्न ६ महिना कुर्नुपर्ने हालको व्यवस्थालाई हटाएर लगानीको वातावरण सहज बनाउनुपर्ने, एनआरएनए नेपालीलाई दोस्रो बजारमा लगानी गर्न खुला गर्नुपर्ने लगायतका मागपत्र बुझाएका हुन् ।
प्रतिनिधिहरूले शेयर बेचेर बाहिरिएका र पुनः सस्तोमा छिर्न खोज्ने समूहले बजारमा साना लगानीकर्तालाई त्रसित बनाउने गरी अफवाह फैलाइरहेको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण समेत गराएका छन् । ७६ लाखभन्दा बढी लगानीकर्ता जोडिएको पुँजी बजारलाई चलायमान बनाउन नीतिगत सुधार र कानुन संशोधनका लागि सरकार तयार रहेको अर्थमन्त्रीको आश्वासनपछि लगानीकर्तामा केही उत्साह थपिने देखिएको छ ।

















प्रतिक्रिया दिनुहोस्