काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले युवालाई नवप्रवर्तनमार्फत स्वदेशमै अवसर सिर्जना गर्न विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम ल्याइने बताएका छन्। उनले विज्ञान र प्रविधिमा लगानी बढाएर विदेशिने प्रतिभालाई स्वदेशमै परिचालन गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गरेका हुन्।
सोमबार राष्ट्रियसभामा ‘विनियोजन विधेयक, २०८३’ माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय स्थापनापछि यस क्षेत्रले प्राथमिकता पाउन थालेको र आगामी दिनमा बजेट तथा कार्यक्रम थप विस्तार गरिने बताए। उनका अनुसार मन्त्रालयका लागि पुँजीगत खर्चको एक प्रतिशत अर्थात् करिब चार अर्ब रुपैयाँ विनियोजन गरिएको छ। बजेट प्रस्तुत हुँदा मन्त्री नियुक्त नभएकाले तीन अर्ब ४० करोड रुपैयाँ अवण्डामा राखिएको उनले जानकारी दिए।
मन्त्री पुनले प्रदेश र स्थानीय तहलाई पनि पुँजीगत बजेटको एक प्रतिशत विज्ञान र प्रविधिका क्षेत्रमा विनियोजन गर्न आग्रह गरिएको बताए। मन्त्रालयले नियम–कानुन निर्माण, सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणलगायतका काम अघि बढाइसकेको र युवा वैज्ञानिकबाट अनुसन्धान प्रस्ताव आह्वान गर्ने तयारी भइरहेको उनको भनाइ थियो। उनले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक’ विचाराधीन रहेको तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको बजेटसमेत वृद्धि गरिने जानकारी दिए।
नेपालमा हालसम्म जम्मा ९० वटा मात्रै ‘प्याटेन्ट राइट्स’ दर्ता भएको उल्लेख गर्दै मन्त्री पुनले विज्ञानमा हुने खर्चलाई दीर्घकालीन लगानीका रूपमा लिनुपर्ने बताए। विकसित राष्ट्रहरूले विज्ञान र प्रविधिमा निरन्तर लगानी गरेर समृद्धि हासिल गरेको उल्लेख गर्दै उनले विदेशमा रहेका नेपाली वैज्ञानिक र प्रतिभालाई स्वदेश फर्काएर राष्ट्र निर्माणमा परिचालन गर्न सरकारले काम गरिरहेको बताए।















प्रतिक्रिया दिनुहोस्