सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयको टोलीले सिरहाको सब डिभिजन वन कार्यालय बन्दिपुरका प्रमुख वन अधिकृत रामकेवल राय यादवलाई १२ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ गरेको छ।
अख्तियारका अनुसार कर्जन्हा नगरपालिका–२ मा सञ्चालित एक काठ उद्योगका सञ्चालकसँग विभिन्न स्थानबाट ल्याइएका तीन ट्रक काठको व्यवस्थापन तथा सहजीकरण गरिदिने भन्दै यादवले प्रतिट्रक चार हजार रुपैयाँका दरले कुल १२ हजार रुपैयाँ घुस मागेका थिए। सेवाग्राहीको उजुरीपछि अख्तियारले निगरानी बढाएको थियो।
सोही क्रममा कर्जन्हा नगरपालिका–४ बाट घुस रकम लिइसकेको अवस्थामा अख्तियारको टोलीले यादवलाई नियन्त्रणमा लिएको हो। घटनास्थलमै मुचुल्का तयार गर्ने, प्रमाण संकलन गर्ने तथा अन्य कानुनी प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ।
अख्तियार बर्दिबासका प्रवक्ता प्रकाश पोखरेलका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि पक्राउ परेका वन अधिकृतलाई थप अनुसन्धानका लागि बर्दिबास कार्यालय लगिनेछ। घटनापछि वन कार्यालयमा हुने अनियमितता र घुसखोरीबारे फेरि बहस सुरु भएको छ। अख्तियारले भ्रष्टाचारजन्य गतिविधिविरुद्ध शून्य सहनशीलताको नीति अनुसार अनुसन्धानलाई निरन्तर अघि बढाइरहेको जनाएको छ।















प्रतिक्रिया दिनुहोस्