काठमाडौ । नेपालको पर्यटन उद्योगकै सबैभन्दा जेठो र गरिमामय छाता संगठन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सु (नाट्टा) को आगामी २०२६–२०२८ कार्यकालका लागि चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ।
नयाँ नेतृत्व चयनको यो महासंग्राममा पर्यटन, उच्च शिक्षा, अन्तर्राष्ट्रिय स्वयंसेवा तथा सामाजिक रूपान्तरणको क्षेत्रमा झन्डै तीन दशक लामो सफल इतिहास बनाएका गतिशील उद्यमी सुशील पन्तले महासचिव पदमा आफ्नो सशक्त उम्मेदवारी घोषणा गरेका छन् । नाट्टाको गौरवमय विरासतलाई आधुनिक युग अनुकूल प्रविधिमैत्री र व्यावसायिक बनाउने अठोटका साथ पन्त मैदानमा उत्रिएका हुन्। अनुभव, नवप्रवर्तन र समावेशी नेतृत्वू को मूल मन्त्रसहित उनी यसपटक स्थापित पर्यटन व्यवसायी जी स्वा तुलाधरको नेतृत्वमा रहेको सुदृढ र समावेशी प्यानलबाट महासचिवको साझा उम्मेदवार बनेका छन्। उनको यो उम्मेदवारीलाई पर्यटन बजारमा संस्थागत सुधार र व्यावसायिक सुरक्षाको ग्यारेन्टीका रूपमा निकै चासोका साथ हेरिएको छ।
कानुनी र प्रशासनिक जगमा उभिएको सबल व्यक्तित्व
ऐतिहासिक एवं पर्यटकीय भूमि गोरखाको पालुङटारमा वि.सं. २०३३ सालमा जन्मिएका सुशील पन्तको व्यावसायिक यात्रा लगनशीलता र संघर्षको अनुपम उदाहरण हो। ग्रामीण परिवेशको सीमित स्रोत–साधनबीच हुर्किएर राष्ट्रियस्तरको उद्यमी बन्न सफल पन्तले त्रिभुवन विश्वविद्यालयबाट कानुन विषयमा स्नातक र सार्वजनिक प्रशासनमा स्नातकोत्तर सम्मको उच्च शिक्षा हासिल गरेका छन्।
नेपाल बार काउन्सिलका प्रमाणित अधिवक्ता (प्रमाणपत्र नं. १५११५) समेत रहेका पन्तसँग कानुनी जटिलताहरूलाई नजिकबाट बुझ्ने र नीतिगत तहमा सबल पैरवी गर्न सक्ने प्राज्ञिक क्षमता छ। सन् १९९८ देखि पर्यटन उद्योगमा औपचारिक रूपमा क्रियाशील उनी ‘गोरखा इन्टरनेशनल ट्राभल्स’ र ‘एडभेन्चर गोर्खाल्याण्ड ट्रेक्स एन्ड एक्सपिडिसन’ का प्रबन्ध निर्देशक हुन्। पर्यटन क्षेत्रलाई आधुनिक सूचना प्रविधिसँग जोड्न उनले ‘ओनभिरो टेक’ (IT Company) मार्फत डिजिटल रूपान्तरणको समेत सफल अभ्यास गरिरहेका छन्।
नेपाल–जापान सम्बन्धका अन्तर्राष्ट्रिय सेतु
सुशील पन्तको पहिचान नेपालको आन्तरिक बजारमा मात्र सीमित छैन, उनी जनस्तरको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र कूटनीतिमा समेत उत्तिकै स्थापित नाम हो। उनले ‘KIVO Japan’ (International Student Volunteering Cooperation) को नेपाल संयोजकका रूपमा लामो समयदेखि ऐतिहासिक भूमिका निर्वाह गर्दै आएका छन्। सन् २००९ देखि हालसम्म पन्तको प्रत्यक्ष संयोजनमा १,००० भन्दा बढी जापानी विद्यार्थी तथा स्वयंसेवकहरू नेपालका ग्रामीण क्षेत्रमा पुगिसकेका छन्। विशेष गरी गोरखा र धादिङका दुर्गम भेगका सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार विकास, ग्रामीण सरसफाइ, स्वास्थ्य शिविर, वातावरण संरक्षण र ग्रामीण पर्यटन प्रवर्द्धनमा ती स्वयंसेवकहरूले महत्त्वपूर्ण योगदान दिएका छन्। यस बृहत् अन्तर्राष्ट्रिय नेटवर्कले नेपाली पर्यटनलाई विश्व बजारमा प्रवद्र्धन गर्न र नेपाल–जापान मैत्री सम्बन्धलाई नयाँ उचाइ दिन रणनीतिक भूमिका खेलेको छ।
‘रेनबो टुरिजम’ र सामाजिक समावेशीकरणका प्रणेता
समाजका सबै वर्ग, लिङ्ग र समुदायलाई समेटेर मात्र साँचो अर्थमा दिगो पर्यटन सम्भव हुन्छ भन्ने प्रगतिशील दृष्टिकोण पन्तमा पाइन्छ। उनले शारीरिक रूपमा फरक क्षमता (अपाङ्गता) भएका व्यक्तिहरूको आर्थिक तथा सामाजिक सशक्तीकरणका लागि ‘Entire Power in Social Action (EPSA) Nepal’ को संस्थापक सदस्य र कानुनी सल्लाहकारका रूपमा लामो समयदेखि निःस्वार्थ सेवा गर्दै आएका छन्। त्यति मात्र होइन, विश्व पर्यटन बजारमा उदीयमान र उच्च आर्थिक सम्भावना बोकेको ‘समावेशी पर्यटन’ को अवधारणालाई नेपालमा भित्र्याउने श्रेय पनि पन्तलाई नै जान्छ। सन् २०२५ मा काठमाडौंमा सम्पन्न नेपालकै पहिलो ‘Rainbow International Convention’ को सफल आयोजनामा उनले महत्त्वपूर्ण नेतृत्वदायी समन्वय गरेका थिए। यो ऐतिहासिक सम्मेलनले LGBTQI+ समुदायका अन्तर्राष्ट्रिय पर्यटकहरूका लागि नेपाललाई दक्षिण एसियाकै एक सुरक्षित र स्वागतयोग्य गन्तव्यका रूपमा स्थापित गर्यो, जसको जगमा हाल थुप्रै नयाँ ट्राभल एजेन्सी र सेवा प्रदायकहरू फस्टाउने अवसर पाएका छन्।
नाट्टा सुदृढीकरणका स्पष्ट योजना र एजेन्डा
नाट्टाका विगतका नेतृत्व चयन प्रक्रियाहरूमा सधै रचनात्मक रूपमा सक्रिय रहँदै आएका पन्तले यसपटक संस्थालाई पूर्ण रूपमा ‘सदस्य–केन्द्रित, पारदर्शी र प्रविधिमैत्री’ बनाउने मुख्य प्रतिज्ञा गरेका छन्। सार्वजनिक प्रशासन र सूचना प्रविधिको व्यावहारिक ज्ञान भएकाले नाट्टाको सचिवालयलाई आधुनिक र उत्तरदायी बनाउने उनको सोच छ। साना तथा मझौला पर्यटन व्यवसायीहरूको हित संरक्षण, नयाँ अन्तर्राष्ट्रिय गन्तव्यहरूको खोजी, सरकारी नीति–नियमहरूमा व्यवसायी अनुकूल परिमार्जनका लागि बलियो पैरवी र पर्यटन क्षेत्रमा भित्रिएका नयाँ चुनौतीहरूको डिजिटल समाधान नै उनका चुनावी एजेन्डाका मुख्य खम्बाहरू हुन्। यसअघि ‘भिटोफ नेपाल’ (VITOF) र ‘सिट्टो नेपाल’ (SOTTO) मा कार्यकारी सदस्यको रूपमा सफल कार्यकाल पूरा गरिसकेका तथा पाटा (PATA), टान (TAAN) एवं ठमेल पर्यटन विकास परिषद् (TTDC) जस्ता गरिमामय संस्थाहरूमा सक्रिय सदस्य रहेका पन्तको संगठनात्मक अनुभव नाट्टाको समग्र विकासका लागि कोसेढुङ्गा साबित हुने निश्चित छ।
परिपक्व नेतृत्व र भावी संकल्प
वि.सं. २०७९ को प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नं. २ बाट उम्मेदवारी दिएर राष्ट्रिय राजनीति र सुशासनको बहसमा समेत आफ्नो दरिलो उपस्थिति जनाइसकेका पन्त बहुआयामिक व्यक्तित्वका धनी हुन्। शिक्षा क्षेत्रमा ‘प्रेसियस नेशनल कलेज’ को अध्यक्षका रूपमा युवाहरूलाई व्यावसायिक शिक्षा प्रदान गर्दै आएका उनी देशको माटो बुझेका, कानुन जानेका र पर्यटनको मर्म बुझेका परिपक्व व्यावसायिक नेता हुन्। ‘नाट्टाको महासचिव पद मेरो लागि केवल ओहोदा मात्र होइन, यो त सम्पूर्ण पर्यटन व्यवसायीहरूको साझा हित, संस्थागत सुदृढीकरण र नेपालको पर्यटन उद्योगलाई नयाँ उचाइमा पुऱ्याउने साझा दायित्व हो,’ उनी भन्छन्। नाट्टा जस्तो जिम्मेवार र कार्यकारी पदमा सुशील पन्त जस्तो दूरदर्शी, अन्तर्राष्ट्रिय सञ्जाल भएका र कानुनी रूपमा सबल व्यक्तित्व पुग्नु सम्पूर्ण पर्यटन व्यवसायीहरूका लागि सुखद अवसर हुनेछ। उनको यो उम्मेदवारीले निजी क्षेत्रको आत्मविश्वास बढाउने र नेपाली पर्यटन उद्योगलाई नवप्रवर्तनको मार्गमा डोऱ्याउने स्पष्ट संकेत गरेको छ।















प्रतिक्रिया दिनुहोस्