काठमाडाैं । नेपालको आर्थिक गतिविधिमा प्रमुख भूमिका खेल्ने एक प्रमुखमध्ये पर्यटन क्षेत्र एक हो । हालै सरकारले ल्याएको बजेट, निजी क्षेत्रले गरेको पूर्वाधार निर्माणको क्षेत्र, आगामी २०८५को पर्यटन वर्षको तयारी र सन् २०२७ लाई वेलनेशको वर्षको रुपमा सरकारको घोषणामा निजी क्षेत्रको तयारी, अगामी दिशा र सम्भावनाको विषयमा होटल संघका अध्यक्ष विनायक शाहसँग गरिएको कुराकानीको सम्पादित अंश :
सरकारले चालु आर्थिक वर्षको बजेटमा पर्यटन क्षेत्रलाई कसरी हेरेको छ, विगतको भन्दा यो पटकको बजेट र नीति तथा कार्यक्रममा पर्यटनको कुन कुन कुरालाई छोयो ?
दुईतिहाइ नजिकको बहुमत र पाँच वर्षको स्पष्ट जनादेश प्राप्त सरकार हो। स्वाभाविक रूपमा यस्तो सरकारबाट सबै क्षेत्रले धेरै अपेक्षा गरेका छन्, पर्यटन क्षेत्रको अपेक्षा पनि उत्तिकै ठूलो छ। सरकार गठन भएयता नीति, कार्यक्रम र बजेटमार्फत आर्थिक विकास तथा सुशासनलाई प्राथमिकतामा राख्ने संकेत देखिएको छ। यही कारणले पर्यटन व्यवसायीहरूमा पनि आशा बढेको छ।
देशको अहिलेको मुख्य आवश्यकता आर्थिक विकास, रोजगारी सिर्जना र समृद्धि हो। पछिल्लो समय युवाहरूले व्यक्त गरेको परिवर्तनको चाहना पनि विकास, सुशासन र भ्रष्टाचार नियन्त्रणसँग जोडिएको छ। त्यसैले सरकारको नीति तथा बजेटले यी विषयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके पर्यटन क्षेत्रले उल्लेखनीय योगदान दिन सक्छ।
यस वर्षको बजेटको सकारात्मक पक्ष भनेको सरकारले पर्यटनलाई देशको आर्थिक विकासको प्रमुख आधारका रूपमा स्वीकार गरेको छ। साथै, प्रविधिमैत्री विकास, निजी क्षेत्रसँग साझेदारी र पर्यटनलाई आर्थिक समृद्धिको महत्वपूर्ण माध्यमका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ। सरकारले २०८५ लाई नेपाल भ्रमण वर्ष र २०२७ लाई अन्तर्राष्ट्रिय वेलनेस वर्षसँग जोडेर पर्यटन प्रवद्र्धन गर्ने योजनालाई पनि बजेटले सम्बोधन गरेको छ।
यसपटकको अर्को महत्वपूर्ण पक्ष भनेको पर्यटन विकासलाई केन्द्रमा मात्र सीमित नराखी प्रदेशगत र क्षेत्रगत अवधारणालाई पनि प्राथमिकता दिइएको छ। डाँफे रुट, शालिग्राम रुट, निर्वाण रुट तथा ग्रेट हिमालयन ट्रेलजस्ता परियोजनामार्फत देशभरका पर्यटन गन्तव्यलाई जोड्ने प्रयास सकारात्मक छ। यसबाट स्थानीय तह, निजी क्षेत्र र आम नागरिकसम्म पर्यटनको प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गर्न सकिन्छ।
यद्यपि, बजेट सफल हुने वा नहुने कुरा कार्यक्रम घोषणा मात्रले तय गर्दैन, यसको प्रभावकारी कार्यान्वयनमा निर्भर हुन्छ।
केही योजना निकै महत्वाकांक्षी देखिन्छन्। उदाहरणका लागि, देवघाटलाई मुक्तिनाथसँग जोड्ने धार्मिक पर्यटन मार्ग जस्ता परियोजना एक आर्थिक वर्षभित्र पूरा हुने प्रकृतिका होइनन्। यस्ता आयोजनालाई दीर्घकालीन गुरुयोजनाअन्तर्गत चरणबद्ध रूपमा अघि बढाउन आवश्यक छ।
मेरो विचारमा अहिले नेपाललाई सबैभन्दा बढी आवश्यक परेको कुरा पाँच वर्षे पर्यटन गुरुयोजना हो। सरकारले पाँच वर्षमा पर्यटन क्षेत्रमा के उपलब्धि हासिल गर्ने, कति पर्यटक भि¥याउने, पर्यटनबाट अर्थतन्त्रमा कति योगदान बढाउने भन्ने स्पष्ट मार्गचित्र तयार गर्नुपर्छ।
कोभिड–१९ का कारण पर्यटन क्षेत्र निकै प्रभावित भएको थियो। सन् २०१९ मा नेपालमा करिब ११ लाख ९६ हजार विदेशी पर्यटक आएका थिए भने अहिले पुनः पर्यटन क्षेत्र विस्तारै पुरानै लयमा फर्किरहेको छ। यो सकारात्मक संकेत भए पनि अझै स्पष्ट राष्ट्रिय रणनीति आवश्यक छ।
नेपाल भारत र चीनजस्ता विश्वकै ठूलो पर्यटक बजार भएका दुई देशको बीचमा अवस्थित छ। ती देशबाट विदेश भ्रमणमा जाने पर्यटकमध्ये केवल दुई प्रतिशतलाई मात्रै नेपाल आकर्षित गर्न सकियो भने पनि आगामी पाँच वर्षभित्र ५० लाख पर्यटक भि¥याउन लक्ष्य असम्भव होइन।
आज नेपालको होटल उद्योग करिब ४० लाख पर्यटकलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा दिन सक्ने अवस्थामा पुगिसकेको छ। अब आवश्यक कुरा भनेको पर्यटक ल्याउने पूर्वाधार र नीति हो। काठमाडौंसँगै पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याउने, सडक सञ्जाल सुधार गर्ने तथा राष्ट्रिय स्तरमा समन्वित पर्यटन रणनीति लागू गर्न सके पर्यटन क्षेत्र नेपालको आर्थिक विकासको प्रमुख आधार बन्न सक्छ।
अहिले नेपालको होटल उद्योगको वास्तविक अवस्था कस्तो छ? बढ्दो लगानी र नयाँ होटलहरूको विस्तारलाई कसरी हेर्नुभएको छ?
नेपालको होटल उद्योगलाई अहिले नकारात्मक दृष्टिकोणबाट मात्र हेर्नु उचित हुँदैन। पछिल्लो समय देशमा केही छैन, अवसर छैन भन्ने भाष्य निर्माण भएको भए पनि होटल तथा पर्यटन क्षेत्रले त्यसलाई व्यवहारमै चुनौती दिएका छन्। आज विश्वका प्रतिष्ठित अन्तर्राष्ट्रिय होटल ब्रान्डहरू नेपालमा प्रवेश गरिरहेका छन्। केही दिनअघि मात्रै मेरियट इन्टरनेशनलका उच्च अधिकारीहरू नेपाल आएर नयाँ होटल विस्तारका लागि विभिन्न सम्झौताहरू गरेका छन्। यसले अन्तर्राष्ट्रिय लगानीकर्ताले नेपालको पर्यटन सम्भावनामाथि गहिरो विश्वास गरेको स्पष्ट देखाउँछ।
आज नेपालमा ४० भन्दा बढी अन्तर्राष्ट्रिय होटल ब्रान्ड सञ्चालनमा आइसकेका छन्। यति ठूलो लगानी कुनै संयोगले भएको होइन। दीर्घकालीन सम्भावना देखेर नै अन्तर्राष्ट्रिय तथा स्वदेशी लगानीकर्ताले होटल क्षेत्रमा अबौं रुपैयाँ लगानी गरिरहेका छन्। त्यसैले होटल उद्योग संकटमा छ भन्नेभन्दा पनि यसको भविष्यप्रति लगानीकर्ताहरू आशावादी छन् भन्ने बुझ्नुपर्छ।
हामीसँग अहिले करिब ४० लाख पर्यटकलाई अन्तर्राष्ट्रिय स्तरको सेवा दिन सक्ने होटल पूर्वाधार निर्माण भइसकेको छ। चुनौती सेवा दिन सक्ने क्षमतामा होइन, पर्यटक नेपालसम्म ल्याउने पक्षमा छ। त्यसका लागि हवाई तथा स्थल यातायातको पहुँच विस्तार गर्नुपर्छ। काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलले मात्र ठूलो भार बोकिरहेको छ भने पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल अझै अपेक्षित रूपमा सञ्चालन हुन सकेका छैनन्।
यी विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा आए र प्रमुख पर्यटन गन्तव्य जोड्ने सडक पूर्वाधार समयमै सम्पन्न भए पर्यटक आगमन उल्लेखनीय रूपमा बढाउन सकिन्छ। होटल उद्योगको दिगो विकासका लागि सरकारसँग स्पष्ट राष्ट्रिय पर्यटन रणनीति हुनु आवश्यक छ। अहिले नीति तथा कार्यक्रममा विभिन्न योजना समेटिएका छन्, तर ती योजनालाई एउटै राष्ट्रिय उद्देश्यसँग जोड्ने कार्ययोजना अझै आवश्यक देखिन्छ। पूर्व, पश्चिम र काठमाडौंलाई छुट्टाछुट्टै कार्यक्रमले मात्र पुग्दैन।
देशले पर्यटनमार्फत कस्तो आर्थिक उपलब्धि हासिल गर्ने भन्ने स्पष्ट लक्ष्यसहितको पाँच वर्षे कार्ययोजना हुनुपर्छ। सरकार, निजी क्षेत्र, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय स्थापित गरेर पर्यटनलाई राष्ट्रिय प्राथमिकताको रूपमा अघि बढाउन सके अहिले भएको लगानीले अपेक्षित प्रतिफल दिन्छ। नेपालमा सम्भावना पर्याप्त छ, अब आवश्यक कुरा भनेको योजनाबद्ध कार्यान्वयन र प्रभावकारी पूर्वाधार विकास मात्र हो।
पछिल्लो संख्यामा पर्यटन देखिएन पनि आउने पर्यटकको बसाइ र खर्च गराई न्युन छ, उनिहरुलाई यहाँको बसाई अवधि र खर्च बढाउन के गर्नुपर्ला?
हामीले अहिले तीनवटा विषयलाई एकैसाथ सुधार गर्न आवश्यक छ। पहिलो, नेपाल आउने विदेशी पर्यटकको संख्या बढाउनुपर्छ। अहिले पनि वार्षिक पर्यटक आगमन १२ लाखको हाराहारीमा मात्र सीमित छ, जबकि नेपालको होटल उद्योग ४० लाखभन्दा बढी पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको सेवा दिन सक्षम भइसकेको छ। त्यसैले अब मुख्य चुनौती क्षमता निर्माण होइन, पर्यटक आकर्षित गर्नु हो।
दोस्रो, नेपाल आउने पर्यटकको बसाइ अवधि बढाउनुपर्छ।
अहिले विदेशी पर्यटक औसत १२ दिनजति मात्र नेपाल बस्ने गरेका छन्। त्यसलाई कम्तीमा दुई हप्तादेखि २० दिनसम्म पु¥याउने लक्ष्य राख्नुपर्छ। बसाइ अवधि बढेपछि उनीहरूको खर्च स्वतः बढ्छ र त्यसको प्रत्यक्ष लाभ होटल, रेष्टुरेन्ट, यातायात, कृषि, हस्तकला तथा स्थानीय व्यवसायसम्म पुग्छ।
तेस्रो, प्रति पर्यटक हुने खर्च बढाउनु आवश्यक छ।
त्यसका लागि पर्यटकलाई घुम्न, अनुभव लिन र खर्च गर्न सक्ने नयाँ गन्तव्य तथा गतिविधिहरू सिर्जना गर्नुपर्छ। अहिले अधिकांश पर्यटक काठमाडौं, पोखरा, चितवन र लुम्बिनीमा मात्र सीमित छन्। जबकि सातै प्रदेशमा सयौं प्राकृतिक, धार्मिक, सांस्कृतिक र साहसिक गन्तव्य छन्, जसलाई अझै व्यवस्थित रूपमा पर्यटनसँग जोड्न सकिएको छैन।
नेपाल प्रकृति, संस्कृति र साहसिक पर्यटनका लागि विश्वमै विशिष्ट गन्तव्य हो। यसका अतिरिक्त वेलनेस पर्यटन, आध्यात्मिक पर्यटन, धार्मिक पर्यटन, खेल पर्यटन, ग्रामीण पर्यटन, कृषि पर्यटन तथा सांस्कृतिक पर्यटनजस्ता नयाँ आयामहरूलाई पनि योजनाबद्ध रूपमा विकास गर्नुपर्छ। पर्यटकले धेरै ठाउँ घुम्ने, धेरै गतिविधिमा सहभागी हुने र विविध अनुभव प्राप्त गर्ने वातावरण बनेपछि उनीहरूको बसाइ पनि लम्बिन्छ र खर्च पनि बढ्छ।
त्यसैले सरकारले पाँच वर्षे पर्यटन गुरुयोजना बनाएर नयाँ गन्तव्य विकास, पूर्वाधार विस्तार, पर्यटन उत्पादनको विविधीकरण र प्रभावकारी अन्तर्राष्ट्रिय प्रवद्र्धनलाई प्राथमिकतामा राख्नुपर्छ। यस्तो समग्र रणनीतिमार्फत मात्र नेपालले पर्यटनबाट अपेक्षित आर्थिक लाभ हासिल गर्न सक्छ।
होटल क्षेत्रमा लगानी निरन्तर बढिरहेको छ। भविष्यमा यति धेरै होटल सञ्चालनमा आउँदा बजारले धान्न सक्छ भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ?
होटल क्षेत्रमा भइरहेको लगानी आकस्मिक वा भावनात्मक निर्णय होइन। कुनै पनि लगानीकर्ताले भविष्यको सम्भावना, बजारको अवस्था र दीर्घकालीन प्रतिफलको मूल्याङ्कन गरेर मात्र अबौं रुपैयाँ लगानी गर्छ। त्यसैले नेपालमा अहिले भइरहेको होटल विस्तारले पनि पर्यटन क्षेत्रप्रतिको विश्वासलाई नै प्रतिबिम्बित गर्छ।
नेपाल विश्वकै तीव्र आर्थिक वृद्धि गरिरहेका दुई ठूला मुलुक भारत र चीनको बीचमा अवस्थित छ। यी दुई देशबाट हरेक वर्ष करोडौं मानिस विदेश भ्रमणमा निस्किन्छन्। यदि तीमध्ये सानो प्रतिशत पर्यटकलाई मात्रै नेपाल ल्याउन सकियो भने पनि हाम्रो होटल उद्योगले पर्याप्त व्यवसाय पाउन सक्छ। त्यसका लागि स्पष्ट रणनीति, प्रभावकारी प्रवद्र्धन र सहज पहुँच अत्यावश्यक छ।
आज पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भइसकेका छन्। सडक पूर्वाधार पनि विस्तार हुँदैछ। यी पूर्वाधार पूर्ण रूपमा सञ्चालनमा आएपछि नेपालमा पर्यटक आगमन उल्लेखनीय रूपमा बढ्ने आधार तयार हुनेछ। त्यसैले अहिलेको लगानी भविष्यको मागलाई ध्यानमा राखेर गरिएको लगानी हो।
हाल नेपालमा करिब ३५–३६ वटा पाँचतारे होटल सञ्चालनमा छन् भने आगामी केही वर्षभित्र थप दर्जनौं अन्तर्राष्ट्रियस्तरका होटल सञ्चालनमा आउने तयारीमा छन्। यसले निजी क्षेत्र अझै पनि नेपालको पर्यटन सम्भावनामाथि विश्वस्त रहेको देखाउँछ। तर लगानी मात्र पर्याप्त हुँदैन। सरकारले पर्यटनलाई राष्ट्रिय आर्थिक रणनीतिको केन्द्रमा राखेर दीर्घकालीन गुरुयोजना कार्यान्वयन गर्नुपर्छ। अन्तर्राष्ट्रिय उडान विस्तार, नयाँ पर्यटन गन्तव्यको विकास, सडक सञ्जाल सुधार, प्रभावकारी अन्तर्राष्ट्रिय प्रचारप्रसार तथा सहज लगानी वातावरण निर्माण गर्न सके होटल उद्योगले सहज रूपमा बजार पाउनेछ।
अर्को महत्वपूर्ण पक्ष आन्तरिक पर्यटन पनि हो। विदेशी पर्यटकसँगै नेपालीहरूलाई आफ्नै देश घुम्ने संस्कृतिलाई प्रोत्साहन गर्नुपर्छ। सरकारले आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके होटल उद्योग वर्षभरि चलायमान रहन्छ। यसको प्रत्यक्ष लाभ होटल व्यवसायी मात्र होइन, किसान, यातायात व्यवसायी, हस्तकला उद्योग, स्थानीय उद्यमी र समग्र अर्थतन्त्रले प्राप्त गर्नेछ।
त्यसैले अहिले भइरहेको होटल क्षेत्रमा लगानीलाई जोखिमभन्दा पनि नेपालको पर्यटन क्षेत्रप्रतिको दीर्घकालीन विश्वासका रूपमा लिनुपर्छ। उचित नीति, पूर्वाधार र प्रभावकारी कार्यान्वयन भए नेपालले यो सम्भावनालाई आर्थिक समृद्धिमा रूपान्तरण गर्न सक्छ।
पछिल्लो समय सरकारले आरोग्य (वेलनेस) पर्यटनलाई प्राथमिकतामा राख्न थालेको छ। यसको सम्भावना कत्तिको देख्नुहुन्छ?
आरोग्य वा वेलनेस पर्यटन नेपालको पर्यटन क्षेत्रका लागि अत्यन्तै सम्भावनायुक्त नयाँ आयाम हो। नेपाल हिमाल, पहाड, प्राकृतिक सौन्दर्य, जैविक विविधता र जडीबुटीको धनी देश हो। हाम्रो परम्परागत जीवनशैली, योग, ध्यान, आयुर्वेद र प्राकृतिक उपचार पद्धतिले विश्वभरका मानिसलाई आकर्षित गर्न सक्ने क्षमता राख्छ। त्यसैले वेलनेस पर्यटनलाई व्यवस्थित रूपमा विकास गर्न सकियो भने यसले नेपालको पर्यटन उद्योगलाई नयाँ उचाइमा पु¥याउन सक्छ।
हालै नेपालकै प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्ष अप्रिल १५ लाई अन्तर्राष्ट्रिय वेलनेस दिवसका रूपमा मनाउने निर्णय गरेको छ। यो नेपालका लागि ठूलो कूटनीतिक उपलब्धि पनि हो। यसले नेपाललाई विश्वसामु आरोग्य पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्ने अवसर प्रदान गरेको छ।
त्यसैगरी सरकारले सन् २०२७ लाई नेपाल अन्तर्राष्ट्रिय वेलनेस वर्ष का रूपमा मनाउने घोषणा गरिसकेको छ। यसलाई सफल बनाउन निजी क्षेत्र, सरकार र सम्बन्धित सबै निकायले संयुक्त रूपमा तयारी गरिरहेका छन्। अब यो घोषणालाई व्यवहारमा उतार्ने गरी गुणस्तरीय पूर्वाधार, अन्तर्राष्ट्रियस्तरका वेलनेस केन्द्र, योग तथा ध्यान कार्यक्रम, आयुर्वेद उपचार सेवा र प्राकृतिक जीवनशैलीमा आधारित पर्यटन उत्पादन विकास गर्न आवश्यक छ।
आज विश्वभरका पर्यटक केवल घुम्नका लागि मात्र यात्रा गर्दैनन्, उनीहरू मानसिक शान्ति, शारीरिक स्वास्थ्य र स्वस्थ जीवनशैलीको खोजीमा पनि यात्रा गरिरहेका छन्। नेपालले यही आवश्यकता बुझेर योग, ध्यान, आयुर्वेद, पञ्चकर्म, प्राकृतिक उपचार, जैविक खानपान र हिमाली वातावरणलाई पर्यटनसँग जोड्न सके विश्व बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सक्छ।
वेलनेस पर्यटनको विकासले पर्यटकको बसाइ अवधि पनि बढाउँछ, प्रतिपर्यटक खर्च पनि वृद्धि गर्छ र स्थानीय उत्पादन, जडीबुटी, कृषि, स्वास्थ्य सेवा तथा ग्रामीण अर्थतन्त्रलाई समेत प्रत्यक्ष लाभ पुग्छ। त्यसैले आरोग्य पर्यटनलाई केवल एउटा नयाँ पर्यटन उत्पादनका रूपमा नभई नेपालको दीर्घकालीन आर्थिक विकासको महत्वपूर्ण आधारका रूपमा विकास गर्नुपर्छ। सही नीति, प्रभावकारी प्रवद्र्धन र निजी–सरकारी साझेदारीमार्फत नेपाल आगामी केही वर्षमै विश्वको प्रमुख वेलनेस पर्यटन गन्तव्य बन्न सक्ने पर्याप्त सम्भावना राख्छ।
अन्त्यमा, नेपालको पर्यटन क्षेत्रको दिगो विकासका लागि सरकार र निजी क्षेत्र कसरी अघि बढ्नुपर्छ ?
नेपालको आर्थिक समृद्धिको सबैभन्दा बलियो आधारमध्ये पर्यटन क्षेत्र एक हो। यसको विकास केवल पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड वा पर्यटन व्यवसायीहरूको मात्र जिम्मेवारी होइन, यो सम्पूर्ण राष्ट्रको साझा दायित्व हो। पर्यटनको विकाससँग अर्थ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, कृषि, संस्कृति, शिक्षा, पूर्वाधार, स्थानीय सरकारदेखि निजी क्षेत्रसम्म सबै निकाय प्रत्यक्ष रूपमा जोडिएका हुन्छन्। त्यसैले पर्यटनलाई एकीकृत राष्ट्रिय अभियानका रूपमा अघि बढाउन आवश्यक छ।
यस वर्षको बजेटले विभिन्न मन्त्रालयका कार्यक्रममार्फत पर्यटनसँग सम्बन्धित केही महत्वपूर्ण विषय समेटेको छ, जुन सकारात्मक सुरुवात हो।
तर अब यसलाई व्यवहारमा उतार्न प्रभावकारी समन्वय, स्पष्ट कार्ययोजना र निरन्तर कार्यान्वयन आवश्यक छ। पर्यटन विकासलाई केवल होटल वा ट्राभल व्यवसायको विषयका रूपमा नभई समग्र अर्थतन्त्र चलायमान बनाउने माध्यमका रूपमा बुझ्नुपर्छ।
पर्यटक नेपालमा धेरै आए, लामो समय बसे र बढी खर्च गरे भने त्यसको प्रत्यक्ष लाभ होटल व्यवसायीलाई मात्र होइन, किसान, हस्तकला व्यवसायी, यातायात क्षेत्र, स्थानीय उद्यमी, महिला तथा युवा समूह, ग्रामीण समुदाय र साना व्यवसायसम्म पुग्छ। पर्यटनले गाउँ–गाउँमा रोजगारी सिर्जना गर्छ, स्थानीय उत्पादनको बजार विस्तार गर्छ र समग्र आर्थिक गतिविधिलाई चलायमान बनाउँछ।
नेपालसँग प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, धार्मिक स्थल, हिमाल, साहसिक पर्यटन, आरोग्य पर्यटन र जैविक विविधताजस्ता विश्वमै दुर्लभ सम्भावना छन्।
आवश्यक कुरा भनेको यी सम्भावनालाई दीर्घकालीन दृष्टिकोणसहित योजनाबद्ध रूपमा विकास गर्नु हो। यदि सरकारले स्पष्ट नीति, पाँच वर्षे पर्यटन गुरुयोजना, गुणस्तरीय पूर्वाधार र प्रभावकारी अन्तर्राष्ट्रिय प्रवद्र्धनलाई प्राथमिकता दियो भने आगामी पाँच वर्षमै नेपालको पर्यटन क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याउन सकिन्छ।
सरकार, निजी क्षेत्र, स्थानीय तह र समुदायबीच सशक्त साझेदारी स्थापित गर्न सके पर्यटन नेपालको आर्थिक समृद्धिको प्रमुख इन्जिन बन्न सक्छ। अब सम्भावनाको मात्र चर्चा गर्ने समय होइन, त्यसलाई परिणाममा रूपान्तरण गर्ने गरी योजनाबद्ध र प्रतिबद्ध भएर काम गर्ने समय आएको छ।















प्रतिक्रिया दिनुहोस्