काठमाडौं । लोकतान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो)मा इबोला संक्रमण तीव्र रूपमा फैलिँदा मृतक संख्या ९६७ पुगेको छ। हालसम्म दुई हजार ४२३ जनामा संक्रमण पुष्टि भएको छ भने पाँच प्रान्तका ४७ स्वास्थ्य क्षेत्रमा रोग फैलिएको छ।
डीआर कंगो सरकारका अनुसार ४६९ जना संक्रमित उपचारपछि निको भएका छन् भने हाल ७३४ जना बिरामी उपचार वा निगरानीमा रहेका छन्। संक्रमणले अग्रपंक्तिमा खटिएका १२१ स्वास्थ्यकर्मीलाई समेत प्रभावित बनाएको छ, जसमध्ये ३६ जनाको मृत्यु भएको छ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले संक्रमण अझै नियन्त्रणमा नआएको जनाएको छ। डब्ल्यूएचओका इटुरी प्रान्तका घटना व्यवस्थापक थियर्नो बाल्डेका अनुसार दीर्घकालीन अस्थिरता, द्वन्द्व, विस्थापन तथा जनसंख्याको उच्च आवतजावतका कारण संक्रमण फैलिन अनुकूल अवस्था बनेको छ।
इटुरी प्रान्तको अड्जा स्वास्थ्य क्षेत्रमा समेत संक्रमण पुष्टि भएसँगै इबोला नयाँ क्षेत्रमा विस्तार भइरहेको छ। गत मे १५ मा घोषणा गरिएको प्रकोपको केन्द्र इटुरी प्रान्त नै रहेको छ, जहाँ कुल संक्रमितमध्ये ९० प्रतिशतभन्दा बढी र मृत्युका करिब ८० प्रतिशत घटना दर्ज भएका छन्।
डब्ल्यूएचओले अनौपचारिक खानी गतिविधि, सुरक्षा चुनौती तथा युगान्डा र दक्षिण सुडानसँगको सीमापार आवागमनका कारण संक्रमण नियन्त्रणमा थप चुनौती थपिएको जनाएको छ। संक्रमण सीमापार फैलिन नदिन डीआर कंगो र युगान्डाले सीमा क्षेत्र कासेनीमा सञ्चालन गरिएको मोबाइल प्रयोगशालाको संयुक्त प्राविधिक मूल्यांकनसमेत गरेका छन्।
















प्रतिक्रिया दिनुहोस्