काठमाडौं। प्रधानमन्त्री वालेन शाहले पुँजी बजारका सरोकारवालासँग सोमबार गरेको छलफलको सकारात्मक प्रभाव शेयर बजारमा देखिएको छ। साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४१.७० अंकले बढेर २७१९.२४ बिन्दुमा पुगेको छ।
यसअघि शुक्रबार नेप्से ७९ अंकले बढेको थियो । लगातार दुई कारोबार दिनमै बजार १२० अंकले उकालो लागेको हो। सोमबारको वृद्धिसँगै नेप्से परिसूचक एक महिनाकै उच्च विन्दुमा पुगेको छ। यसअघि जेठ २९ गते नेप्से २७२४ अंकमा पुगेको थियो ।
प्रधानमन्त्रीले सोमबार पुँजी बजारको वर्तमान अवस्था, सुधारका उपाय तथा नीतिगत विषयमा नियामक निकाय, स्टक ब्रोकर र लगानीकर्ताका प्रतिनिधिहरूसँग सिंहदरबारमा छलफल गरेका थिए। उक्त संवादको प्रभाव बजारमा लगानीकर्ताको मनोबल बढाएको देखिएको छ। आज कारोबार रकममा समेत वृद्धि भएको छ। सोमबार ३४३ कम्पनीका १ करोडभन्दा बढी कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ५३ करोड रुपैयाँको शेयर किनबेच भएको थियो । आज २३९ कम्पनीको शेयर मूल्य बढेको छ भने ३२ कम्पनीको घटेको छ। पाँच कम्पनीको मूल्य स्थिर रह्यो
सोमबार १२ वटा उपसमूहका सूचक बढेका छन्। उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै ३.२१ प्रतिशतले वृद्धि भएको छ। अन्य समूह २.८१ प्रतिशत, जलविद्युत् २.७९ प्रतिशत, होटल तथा पर्यटन १.९८ प्रतिशत, लगानी समूह १.५५ प्रतिशत र विकास बैंक समूह १.४८ प्रतिशतले बढेका छन् । त्यस्तै बैंकिङ समूह ०.५५ प्रतिशत, फाइनान्स ०.९३ प्रतिशत, जीवन बीमा ०.८४ प्रतिशत, माइक्रोफाइनान्स ०.३७ प्रतिशत, निर्जीवन बीमा ०.४४ प्रतिशत र व्यापार समूह १.१४ प्रतिशतले बढेका छन्। यस्तै, म्युचुअल फन्ड समूह भने ०.०२ प्रतिशतले घटेको छ ।
सोमबार सबैभन्दा धेरै कारोबार आँखुखोला जलविद्युत् कम्पनीको भएको छ। कम्पनीको करिब २९ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ । त्यसपछि रिलायन्स स्पिनिङ मिल्सको २४ करोड, रिडी पावरको २० करोड, कर्पोरेट डेभलपमेन्ट बैंकको १९ करोड र नेसनल हाइड्रोपावरको १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। हालै सूचीकृत एभरेस्ट कलरको शेयर मूल्य पनि १५ प्रतिशतले बढेको छ। रिजलाइन इनर्जीको मूल्य १३.९५ प्रतिशत, श्रीनगर एग्रिटेकको १०.९५ प्रतिशत, सोलु हाइड्रोपावरको ९.९३ प्रतिशतले उकालो लागेको छ।
प्रधानमन्त्रीले नियामक निकायका प्रमुख र लगानीकर्तालाई छलफलमा बोलाएर बजारमा देखिएको गिरावटका प्राविधिक तथा नीतिगत कारणबारे जानकारी लिँदै सुधारका लागि आवश्यक कदमबारे सुझाव मागेका मागेका थिए। प्रधानमन्त्रीले बजार स्थायित्वका लागि तत्काल गर्नुपर्ने सुधार र दीर्घकालीन नीतिगत व्यवस्थाबारे चासो राखेर छलफल गरेको बताइएको छ।















प्रतिक्रिया दिनुहोस्