काठमाडौं। ट्राभल तथा पर्यटन क्षेत्रमा सफल उद्यमीका रूपमा स्थापित श्रेषु आचार्यले आफ्नो व्यावसायिक यात्रा फेसन तथा लाइफस्टाइल क्षेत्रमा विस्तार गरेकी छन्। उनले काठमाडौंको धुम्बाराहीमा महिलामुखी फेसन तथा लाइफस्टाइल शोरुम ‘कोसिस लाइफ स्टाइल’ को औपचारिक शुभारम्भ गरेकी हुन्।
धुम्बाराहीस्थित मर्क्योर होटलको छेउ तथा सुकेधाराबाट पीपलबोटतर्फ करिब १०० मिटरको दूरीमा रहेको शोरुमको उद्घाटन कार्यक्रममा ग्राहक, शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै आचार्यले व्यवसायको सुरुआतमै अपेक्षाभन्दा बढी साथ, सहयोग र उत्साह प्राप्त भएको बताइन्। उनले भनिन्, “आज मेरो व्यवसाय औपचारिक रूपमा सुरु भयो। मैले सोचेभन्दा धेरै शुभेच्छुक उपस्थित हुनुभयो। सबैको माया, विश्वास र साथले मलाई थप जिम्मेवार र उत्साहित बनाएको छ।”
‘Elegance, Luxury, Style & You’ भन्ने अवधारणासहित सञ्चालनमा आएको शोरुममा महिलाहरूका लागि उच्चस्तरीय पहिरन, ब्रान्डेड झोला, सनग्लास, परफ्युम, जुत्ता तथा विभिन्न आकर्षक फेसन एसेसरिज उपलब्ध गराइएको छ।
आचार्यले आफ्नो सफलताको श्रेय व्यक्तिगत प्रयासभन्दा पनि ग्राहक, परिवार, शुभेच्छुक र सहकर्मीहरूको निरन्तर साथलाई दिँदै भनिन्, “मेरो व्यावसायिक यात्रामा साथ दिनुहुने ग्राहक, शुभचिन्तक, परिवार तथा सधैं हौसला र प्रेरणा दिने मेरी सहकर्मी मुकिताजीप्रति म विशेष आभारी छु। उहाँहरूको सहयोगबिना यो सफलता सम्भव हुने थिएन।”
गुणस्तरीय फेसन सामग्रीलाई सुलभ मूल्यमा उपलब्ध गराउने उद्देश्यसहित सञ्चालनमा आएको कोसिस लाइफ स्टाइल नेपाली फेसन बजारमा महिलाहरूका लागि नयाँ गन्तव्य बन्ने विश्वास लिइएको छ। उद्घाटनकै दिन शोरुममा ग्राहकहरूको उल्लेख्य आकर्षण देखिएको आयोजकले जनाएको छ।
















प्रतिक्रिया दिनुहोस्