Advertisement
Advertisement
Corporate Samachar
१० भाद्र २०८३, बुधबार
Advertisement
Advertisement

रसुवा बाढीपछि चार जिल्लातर्फका सवारी काठमाडौंमै रोकिए, उद्धारका लागि सेना–प्रहरी परिचालन

रसुवा बाढीपछि चार जिल्लातर्फका सवारी काठमाडौंमै रोकिए, उद्धारका लागि सेना–प्रहरी परिचालन
विज्ञापन
Advertisement

काठमाडौं । रसुवाको स्याफ्रुबेँसी, टिमुरेलगायतका क्षेत्रमा बुधबार बिहान बाढी आएपछि सरकारले उद्धार, खोज तथा राहत कार्यलाई तीव्र बनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

सरकारले बाढीको जोखिममा रहेका तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सार्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ।प्रधानमन्त्री बालेन्द्र शाहले बाढीपछि उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा सम्बन्धित निकायलाई परिचालन गरिएको जानकारी दिएका छन्। प्रभावित क्षेत्रतर्फ अन्य जिल्लाबाट समेत थप जनशक्ति पठाइएको उनले बताएका छन्।

प्रधानमन्त्री शाहका अनुसार सम्भावित उद्धार तथा राहतका लागि मेडिकल टिमसहित नेपाली सेनाका दुईवटा हेलिकप्टर प्रभावित क्षेत्रतर्फ पठाइएको छ। निजी हेलिकप्टर कम्पनीलाई समेत उद्धार तथा खोज कार्यका लागि तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ।

बाढीबाट थप प्रभावित हुनसक्ने क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान निरन्तर सूचना तथा अलर्ट जारी गरिएको छ। आवश्यकताअनुसार थप एम्बुलेन्स तथा मेडिकल जनशक्ति प्रभावित क्षेत्रमा पठाउने प्रक्रिया अघि बढाइएको प्रधानमन्त्री शाहले बताएका छन्। यसैबीच, रसुवामा ठूलो बाढी तथा पहिरो आएपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरीले रसुवा, नुवाकोट, चितवन र धादिङतर्फ जाने सवारीसाधनलाई काठमाडौंमै रोकेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीका अनुसार बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै ती जिल्लातर्फ जाने सवारीसाधनलाई रोकिएको हो।

बाढीका कारण पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडक तथा मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न र नगराउन सरकारले आग्रह गरेको छ। प्रधानमन्त्री शाहले विपद् व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाएर मेडिकल टिम, स्काउट, रेडक्रस लगायतका निकायसँग समन्वय गरी आवश्यक कदम चाल्न निर्देशन दिएको बताएका छन्। यसैबीच, सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बसिरहेको छ। बाढीबाट उत्पन्न अवस्थाबारे थप आवश्यक निर्णय लिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजे विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकसमेत बोलाइएको छ।

प्रधानमन्त्री शाहले प्रभावित तथा जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा बस्न आग्रह गर्दै आफन्तसँग सम्पर्क हुन नसकेमा सरकारी निकायबाट जारी हुने उद्धारसम्बन्धी अपडेट कुर्न आग्रह गरेका छन्। थप जानकारी तथा राहतसम्बन्धी सूचनाका लागि १२३४ नम्बरमा सम्पर्क गर्न सकिने बताइएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit