काठमाडौं। नेपालमा यामाहाको नयाँ रेट्रो–स्टाइल मोटरसाइकल एक्सएसआर–१५५ आधिकारिक रूपमा सार्वजनिक भएको छ।
नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइड्सले मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो २०२६ मार्फत एक्सएसआर–१५५ को बिक्री सुरु गरेको हो। कम्पनीले एक्सएसआर–१५५ लाई रेड, ब्ल्याक र ग्रे गरी तीन कलर भेरियन्टमा उपलब्ध गराएको छ। यसको रेड भेरियन्टको मूल्य ५ लाख ३९ हजार ९०० रुपैयाँ, ब्ल्याकको ५ लाख ४४ हजार ९०० रुपैयाँ र ग्रे भेरियन्टको ५ लाख ५९ हजार ९०० रुपैयाँ तोकिएको छ।

रेट्रो डिजाइन र आधुनिक प्रविधिको संयोजन गरिएको एक्सएसआर–१५५ दैनिक प्रयोगलाई ध्यानमा राखेर तयार गरिएको कम्पनीले जनाएको छ । मोटरसाइकलमा डेल्टा बक्स फ्रेम, गोलाकार एलईडी हेडलाइट, टियरड्रप आकारको फ्युल ट्यांक तथा फ्ल्याट सिंगल–पिस सिट दिइएको छ । मोटरसाइकलको तौल १३७ किलोग्राम रहेको छ भने यसमा १२० एमएम ग्राउण्ड क्लियरेन्स र १० लिटर क्षमताको फ्युल ट्यांक रहेको छ । एक्सएसआर–१५५ मा १५५ सीसी, सिंगल–सिलिन्डर, फोर–स्ट्रोक, फोर–भल्भ, एसओएचसी, एफआई तथा भीभीए प्रविधियुक्त इन्जिन जडान गरिएको छ । उक्त इन्जिनले अधिकतम १८.४ पीएस पावर र १४.२ एनएम टर्क उत्पादन गर्छ । यसमा ६–स्पीड गियरबक्ससँगै असिस्ट र स्लिपर क्लच उपलब्ध छ ।
सस्पेन्सनतर्फ अगाडि टेलिस्कोपिक यूएसडी फोर्क र पछाडि स्विङआर्म लिंक मोनोसक दिइएको छ । सुरक्षाका लागि मोटरसाइकलमा डबल डिस्क ब्रेक र डबल–च्यानल एबीएस रहेको छ । यस्तै, ट्युबलेस टायर तथा कलर–म्याचिङ अलोय ह्वील पनि यसको प्रमुख विशेषतामा पर्छन् । यामाहा एक्सएसआर–१५५, यामाहाको आर१५ र एमटी–१५ मा प्रयोग भएको समान १५५ सीसी इन्जिन प्लेटफर्ममा आधारित मोडल हो । यसका कारण एक्सएसआर–१५५ मा पनि सोही इन्जिन प्रविधि प्रयोग गरिएको छ ।
रेट्रो डिजाइनका मोटरसाइकल रुचाउने ग्राहकलाई लक्षित गर्दै एक्सएसआर–१५५ नेपाली बजारमा ल्याइएको एमएडब्लू राइड्सले जनाएको छ। नाडा अटो शोमा सार्वजनिक भएसँगै कम्पनीले यसको बिक्री तथा बुकिङसमेत सुरु गरेको छ ।
















प्रतिक्रिया दिनुहोस्