Advertisement
Advertisement
Corporate Samachar
८ भाद्र २०८३, सोमबार
Advertisement
Advertisement

उद्घाटनको एक महिनापछि आजदेखि नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि खुला

उद्घाटनको एक महिनापछि आजदेखि नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि खुला
विज्ञापन
Advertisement

काठमाडौं । नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबारदेखि निजी सवारी साधनका लागि खुला गरिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

९ जनासम्म यात्रु क्षमता भएका कार, जीप, भ्यानलगायत निजी सवारी साधनलाई सोमबारदेखि सुरुङमार्ग प्रयोग गरी आवतजावत गर्न अनुमति दिइएको हो। नागढुंगा सुरुङ आयोजना कार्यालयका अनुसार निजी सवारी साधनले हाल परीक्षण सञ्चालनअन्तर्गत निःशुल्क सुरुङ प्रयोग गर्न पाउनेछन् ।

गत साउन ११ गते पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सुरुङमार्गको औपचारिक उद्घाटन गरेका थिए । उद्घाटनपछि सुरुआती चरणमा एम्बुलेन्स, दमकल, सुरक्षा निकायलगायत अत्यावश्यक सेवाका सवारी साधनलाई मात्र सुरुङ प्रयोग गर्न दिइएको थियो । आयोजना कार्यालयका अनुसार सोमबार परीक्षणस्वरूप सुरुङमार्ग एकतर्फी सञ्चालन गरिएको हो भने मंगलबारदेखि दुईतर्फी सञ्चालनमा ल्याउने तयारी छ । निजी सवारी साधनलाई निश्चित समयका लागि मात्र सुरुङ प्रवेश दिइएको छ। हाल बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सुरुङ सञ्चालन गरिनेछ ।

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग नेपालको यातायात पूर्वाधारमा महत्वपूर्ण आयोजना हो। मुख्य सुरुङ करिब २.६८ किलोमिटर लामो छ भने यसको समानान्तर उद्धार सुरुङसमेत निर्माण गरिएको छ। सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुंगा खण्डमा हुने घुमाउरो सडक यात्राको समय उल्लेख्य रूपमा घट्ने अपेक्षा गरिएको छ ।

जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भएको आयोजनामा जापानी निर्माण कम्पनी हाज्मा–आन्दो कर्पोरेसनले मुख्य निर्माणको जिम्मेवारी लिएको थियो। आयोजनाको सुरुआती लागत करिब २२ अर्ब रुपैयाँ अनुमान गरिएको भए पनि निर्माणमा भएको ढिलाइ, भौतिक संरचनामा परिवर्तन, अमेरिकी डलरको विनिमय दरमा भएको वृद्धि तथा पश्चिमतर्फको पहिरो नियन्त्रण र जग्गा अधिग्रहणलगायत कारणले लागत निकै बढेको छ। सुरुङमार्ग र पहुँचमार्गसहित आयोजनाको कुल लागत करिब २४ अर्ब रुपैयाँ पुगेको आकलन छ । जापानको आधिकारिक विवरणअनुसार आयोजनामा जापानी पक्षको सहुलियतपूर्ण ऋण करिब २२.३ अर्ब जापानी येन अर्थात् करिब २१.२ अर्ब नेपाली रुपैयाँ बराबर रहेको छ।

सुरुङमार्गको नियमित सञ्चालनपछि भने निजी सवारी साधनसहित विभिन्न वर्गका सवारीबाट शुल्क लिने व्यवस्था गरिएको छ। नियमित सञ्चालनमा कार तथा भ्यानले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ। मिनिबस, टिपरले भित्रँदा ११५, बाहिरिँदा ८० रुपैयाँ, बस र ट्रकले भित्रँदा २६०, बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्ने हुन्छ। साथै, हेभी ट्रकले भित्रँदा ६०० र बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्ने गरी सरकारले शुल्क निर्धारण गरिसकेको छ।

यसैबीच सोमबारदेखि गुर्जुधारास्थित फ्लाइओभरको बाटोसमेत सञ्चालनमा ल्याइएको छ। सुरुङमार्ग र फ्लाइओभर सञ्चालनमा आएसँगै नागढुंगा–काठमाडौं प्रवेश तथा बाहिरिने मुख्य सडक खण्डमा हुने सवारी चाप र यात्रा समय घट्ने अपेक्षा गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit