काठमाडौं । भोटेकोशी नदीमा आएको आकस्मिक भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङका १३ वटा जलविद्युत आयोजना प्रभावित भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अनुसार बाढीबाट सञ्चालनमा रहेका तथा निर्माणाधीन गरी ती आयोजनाको कुल ७५४.४२ मेगावाट विद्युत उत्पादन क्षमतामा प्रभाव परेको छ ।
इप्पानले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार रसुवा जिल्लामा सञ्चालनमा रहेका करिब २३६ मेगावाट क्षमताका पाँच आयोजना र निर्माणाधीन करिब ३४२.४२ मेगावाट क्षमताका तीन आयोजनामा असर परेको छ। त्यस्तै, नुवाकोटमा सञ्चालनमा रहेका करिब १२३ मेगावाट क्षमताका चार आयोजना र निर्माणाधीन करिब ५२.६ मेगावाट क्षमताका दुई आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको इप्पानले जनाएको छ ।
यसरी रसुवामा मात्रै आठ आयोजना र करिब ५७८.४२ मेगावाट तथा नुवाकोटमा छ आयोजना र करिब १७५.६ मेगावाट क्षमतामा प्रभाव परेको देखिन्छ। इप्पानका अनुसार बाढीबाट प्रभावित आयोजनाका बाँध, हेडवक्र्स, पावर हाउस, पहुँचमार्ग, प्रसारण संरचना, निर्माण सामग्री तथा अन्य भौतिक संरचनामा गम्भीर क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । इप्पानले माथिल्लो त्रिशूली–३ ‘बी’ हब सबस्टेसनमा पुगेको क्षतिका कारण भौतिक संरचनामा प्रत्यक्ष ठूलो क्षति नपुगेका कतिपय आयोजना पनि राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद हुन पुगेको जनाएको छ ।
इप्पानले बाढी प्रभावित क्षेत्रमा विद्युत आयोजनामा कार्यरत तथा फसेका सम्पूर्ण कामदार, कर्मचारी र प्राविधिकको तत्काल खोजी, उद्धार तथा सुरक्षित स्थानमा स्थानान्तरणलाई पहिलो प्राथमिकता दिन सरकार तथा सुरक्षा निकायसँग आग्रह गरेको छ । संस्थाले विज्ञप्तिमा भनेको छ, ‘यस विपद्को घडीमा ऊर्जा उत्पादकहरूको संस्था इप्पान प्रभावित समुदाय तथा विद्युत क्षेत्रसँगै रहेको र आवश्यक सहयोगका लागि तयार रहेको स्पष्ट गर्दछ ।’ इप्पानले प्रभावित आयोजनाका प्रवर्द्धक कम्पनी तथा निजी क्षेत्रका ऊर्जा उद्यमीलाई आफ्ना स्रोत, जनशक्ति, उपकरण तथा साधनसहित उद्धार तथा राहत कार्यमा सक्रिय रूपमा परिचालन हुनसमेत अनुरोध गरेको छ ।
त्यसैगरी, बाढीबाट क्षतिग्रस्त विद्युत आयोजना तथा प्रसारण संरचनाको यथाशीघ्र क्षति मूल्यांकन, पुनर्निर्माण तथा विद्युत प्रणालीमा पुनः जोड्ने कार्यलाई राष्ट्रिय प्राथमिकता दिन सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभागलगायत सम्बन्धित निकायसँग इप्पानले आग्रह गरेको छ । क्षतिग्रस्त आयोजनाको पुनर्निर्माणका लागि आवश्यक नीतिगत सहजीकरण, वित्तीय तथा प्राविधिक सहयोग, बीमा दाबी प्रक्रियामा सहजीकरण तथा प्रसारण पूर्वाधारको शीघ्र पुनर्निर्माण गर्नसमेत इप्पानले माग गरेको छ ।
इप्पानले बाढीबाट प्रभावित जलविद्युत आयोजनाको क्षतिको विस्तृत विवरण संकलन तथा अभिलेखीकरण गर्ने जनाएको छ। संस्थाका अनुसार तत्कालीन उद्धारदेखि दीर्घकालीन पुनर्निर्माणसम्म सरकार, सुरक्षा निकाय, निजी क्षेत्र, स्थानीय समुदाय तथा सबै सरोकारवालाबीच प्रभावकारी समन्वय आवश्यक छ ।
















प्रतिक्रिया दिनुहोस्