काठमाडौं । पूँजीबजारका व्यक्तिगत लगानीकर्ताले धितोपत्र कारोबारमा अब घटेको दरमा पूँजीगत लाभकर तिर्नुपर्ने भएको छ। सरकारले व्यक्तिगत लगानीकर्ताका लागि अल्पकालीन र दीर्घकालीन दुवै प्रकारको पूँजीगत लाभकर घटाएपछि नयाँ दर मंगलबारदेखि कार्यान्वयनमा आएको हो।
नयाँ व्यवस्थाअनुसार ३६५ दिनभन्दा कम अवधि धितोपत्र कायम राखेर कारोबार गर्ने अल्पकालीन व्यक्तिगत लगानीकर्ताले ५ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्नेछ। त्यस्तै, ३६५ दिनभन्दा बढी अवधि धितोपत्र कायम राख्ने दीर्घकालीन लगानीकर्ताका लागि पूँजीगत लाभकर ३ दशमलव ७५ प्रतिशत कायम गरिएको छ।
यसअघि चालु आर्थिक वर्ष २०८३-०८४ को बजेटमार्फत अल्पकालीन लगानीकर्ताको पूँजीगत लाभकर ५ प्रतिशतबाट बढाएर ७ दशमलव ५ प्रतिशत तथा दीर्घकालीन लगानीकर्ताको ७ दशमलव ५ प्रतिशतबाट बढाएर १० प्रतिशत पुर्याइएको थियो। त्यसको केही समयमै सरकारले नयाँ दरमार्फत व्यक्तिगत लगानीकर्तामाथिको करभार घटाएको हो।
पूँजीबजार सुधारका लागि अर्थ मन्त्रालयले भदौ २९ गते अघि सारेको २१ बुँदे कार्ययोजनामा व्यक्तिगत लगानीकर्ताको पूँजीगत लाभकर घटाउने प्रस्ताव गरिएको थियो। सोही प्रस्तावका आधारमा भदौ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले करको दर घटाउने निर्णय गरेको थियो।
मन्त्रिपरिषद्को निर्णय असोज ५ गते नेपाल राजपत्रमा प्रकाशित भएपछि मंगलबारदेखि नयाँ करदर कार्यान्वयनमा आएको हो। ‘आर्थिक ऐन, २०८३’ ले दिएको अधिकार प्रयोग गर्दै सरकारले आयकर ऐन, २०५८ बमोजिम लाग्ने पूँजीगत लाभकरको दर समायोजन गरेको हो।
यता, संस्थागत लगानीकर्ताको हकमा भने १० प्रतिशत पूँजीगत लाभकरको व्यवस्था यथावत् रहेको छ। धितोपत्र कारोबारबाट भएको नाफामा भारित औसत लागतका आधारमा पूँजीगत लाभकर गणना हुँदै आएको छ।
नयाँ व्यवस्थासँगै व्यक्तिगत लगानीकर्ताले विशेषगरी दीर्घकालीन लगानीमा यसअघि प्रस्ताव गरिएको भन्दा कम कर तिर्नुपर्ने भएको छ। पूँजीबजार सुधारको कार्ययोजनाअन्तर्गत करसम्बन्धी व्यवस्था पुनरावलोकन गरिनुलाई बजार सुधारका विभिन्न पहलमध्ये एकका रूपमा हेरिएको छ।














प्रतिक्रिया दिनुहोस्