काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको विजेताले एक करोड ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको पुरस्कार राशि सार्वजनिक गरेको हो।
यसपटक उपाधि जित्ने टोलीले गत संस्करणको तुलनामा ४० लाख रुपैयाँ बढी पुरस्कार पाउनेछ। अघिल्लो संस्करणको विजेता लुम्बिनी लायन्सले एक करोड १० लाख रुपैयाँ प्राप्त गरेको थियो। यसैगरी, प्रतियोगितामा दोस्रो हुने टोलीले ८० लाख रुपैयाँ पाउनेछ भने तेस्रो र चौथो हुने टोलीले क्रमशः ४० लाख र ३० लाख रुपैयाँ प्राप्त गर्नेछन्। यसअनुसार शीर्ष चार टोलीलाई पुरस्कारस्वरूप कुल तीन करोड रुपैयाँ वितरण गरिनेछ। नेपाल क्रिकेट संघका कोषाध्यक्ष पदम बहादुर
खड्काका अनुसार प्रतियोगितामा क्यानसँग सम्बन्धित ७० देखि ७५ करोड रुपैयाँ र विभिन्न टोलीको खर्चसमेत जोड्दा कुल कारोबार करिब १ अर्ब ५० करोड रुपैयाँ पुग्ने अनुमान छ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा सोमबार देखि सुरु हुने प्रतियोगिता मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा अघिल्ला दुई संस्करणमा सहभागी आठ फ्रेन्चाइज टोलीले नै प्रतिस्पर्धा गर्नेछन्। तेस्रो संस्करणमा पुरस्कार राशि वृद्धिसँगै प्रतियोगिताको प्राविधिक र अन्तर्राष्ट्रिय पक्षमा समेत महत्त्वपूर्ण परिवर्तन गरिएको छ। यसपटक अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आधिकारिक मान्यता प्राप्त भएको छ भने पहिलोपटक निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) पनि लागू गरिनेछ।
आईसीसीको मान्यताअनुसार प्रतियोगितामा खेलाडीले बनाउने रनलाई ‘लिस्ट ए’ क्रिकेटको अभिलेखमा समावेश गरिनेछ। यसले खेलाडीको व्यक्तिगत प्रदर्शनलाई अन्तर्राष्ट्रिय क्रिकेटको आधिकारिक तथ्यांकसँग जोड्नेछ। यस संस्करणमा अस्ट्रेलियाका डेभिड वार्नर, वेस्ट इन्डिजका आन्द्रे रसेल, दक्षिण अफ्रिकाका डेभिड मिलर र बंगलादेशका शाकिब अल हसनजस्ता चर्चित विदेशी खेलाडीको सहभागिताले पनि प्रतियोगितालाई थप आकर्षक बनाएको छ। विदेशी खेलाडीको अनुबन्धमा गरिएको सहजता र कीर्तिपुरस्थित मैदानमा सुधारिएका सुविधाले समेत एनपीएलको तेस्रो संस्करणलाई विशेष बनाएको छ।
पुरस्कार राशि वृद्धि, डीआरएस प्रणालीको प्रयोग, आईसीसीको मान्यता र अन्तर्राष्ट्रिय खेलाडीको उत्साहजनक सहभागितासँगै यसपटकको एनपीएल नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण प्रतियोगिताका रूपमा अघि बढेको देखिएको छ। आठ टोलीबीच हुने प्रतिस्पर्धामा उपाधिसँगै व्यक्तिगत प्रदर्शन र खेलाडीका लागि अन्तर्राष्ट्रिय पहिचान बनाउने अवसरसमेत रहनेछ ।














प्रतिक्रिया दिनुहोस्