काठमाडौं । समाचार लेखेकै आधारमा विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई कार्यालयमै पुगेर नियन्त्रणमा लिने तथा अन्य पत्रकारको खोजी गर्ने प्रहरी गतिविधिप्रति राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले गम्भीर आपत्ति जनाएको छ।
रास्वपाले शुक्रबार जारी गरेको विज्ञप्तिमार्फत पत्रकारमाथि भइरहेको धरपकडले प्रेस स्वतन्त्रता, नागरिकको सुसूचित हुन पाउने अधिकार र लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रश्न उठाएको जनाएको छ।
लोकतन्त्रको प्राण र सौन्दर्य स्वायत्त, सक्षम तथा उत्तरदायी संस्थाहरू रहेको उल्लेख गर्दै रास्वपाले नागरिकको आवाज मुखरित गर्ने सञ्चार जगत्को भूमिका लोकतान्त्रिक व्यवस्थामा अग्रपङ्क्तिमा रहने बताएको छ। कानुन कार्यान्वयनको आवरणमा स्वतन्त्र प्रेसलाई भयभीत बनाउने, सञ्चारगृहको गरिमामाथि प्रहार गर्ने र लोकतान्त्रिक संस्थाहरूलाई सङ्कुचित पार्ने गतिविधि लोकतान्त्रिक आचरणअनुकूल हुन नसक्ने पार्टीको भनाइ छ।
प्रेस स्वतन्त्रतामाथिको कुनै पनि प्रहार नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकारमाथिकै कुठाराघात भएको रास्वपाले जनाएको छ। पत्रकारिताको विश्वव्यापी मूल्य, मान्यता र अभ्यासअनुसार समाचारको स्रोतको गोपनीयता रक्षा गर्नु सञ्चारकर्मीको व्यावसायिक अधिकार, दायित्व र पेसागत धर्म भएको पनि विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित समाचारप्रति कसैको विमति, गुनासो वा कानुनी प्रश्न भए त्यसको परीक्षण र निरूपणका लागि राज्यले स्थापित गरेका निश्चित विधि, न्यायिक प्रक्रिया तथा वैधानिक निकायमार्फत अघि बढ्नुपर्ने रास्वपाको धारणा छ। सञ्चारमाध्यमलाई नियमन गर्ने अधिकारप्राप्त संस्थाहरू क्रियाशील हुँदाहुँदै स्थापित कानुनी र संस्थागत प्रक्रियालाई छलेर सञ्चारकर्मीमाथि धरपकड गर्नु विधिको शासनको उल्लङ्घन भएको पार्टीले उल्लेख गरेको छ।
समाचार लेखेकै आधारमा केही सञ्चारकर्मीलाई नियन्त्रणमा लिइएको र अन्यको खोजी भइरहेको समाचारका सम्बन्धमा निष्पक्ष, पारदर्शी र यथार्थ छानबिन गरी तत्काल सत्यतथ्य सार्वजनिक गर्न रास्वपाले सम्बन्धित निकायसँग माग गरेको छ। गैरकानुनी रूपमा नियन्त्रणमा लिइएका सञ्चारकर्मीलाई ससम्मान र बिनासर्त तत्काल रिहा गर्न पनि पार्टीले जोडदार माग गरेको छ।
कुनै पनि भय, त्रास र अनुचित दबाबमा नपरी निर्भीकतापूर्वक सत्य, तथ्य र निष्ठाको पत्रकारिता निरन्तरता दिन सञ्चारकर्मीलाई आह्वान गर्दै रास्वपाले सञ्चार जगत्प्रति ऐक्यबद्धता जनाएको छ।
सञ्चारकर्मीको पेसागत मर्यादा, भौतिक तथा मनोवैज्ञानिक सुरक्षा र संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको रक्षाका पक्षमा आफ्नो अडान सम्झौताहीन रहने उल्लेख गर्दै पार्टीले सञ्चारकर्मी तथा सञ्चारमाध्यमको अधिकार सुनिश्चितताका लागि सधैँ अग्रमोर्चामा उभिने जनाएको छ।















प्रतिक्रिया दिनुहोस्