काठमाडौं । अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्दै आएको हिमालय एयरलाइन्सको वित्तीय अवस्था एक वर्षमै कमजोर बनेको छ । कम्पनीको कारोबार २१.७ प्रतिशतले घट्दा नाफामा रहेको एयरलाइन्स आर्थिक वर्ष २०२५/२६ मा १ अर्ब ४२ करोड रुपैयाँभन्दा बढी खुद घाटामा पुगेको छ ।
कम्पनीले आर्थिक वर्ष २०२४/२५ मा १४ अर्ब ६१ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । तर, आर्थिक वर्ष २०२५/२६ मा यस्तो आम्दानी घटेर ११ अर्ब ४३ करोड ३० लाख रुपैयाँमा सीमित भएको छ । एक वर्षमै कम्पनीको कारोबार ३ अर्ब १७ करोड ७० लाख रुपैयाँले घटेको हो। यसअघि आर्थिक वर्ष २०२३/२४ मा कम्पनीले १४ अर्ब ३७ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यसले पछिल्लो आर्थिक वर्षमा कम्पनीको कारोबार तीन वर्षयताकै न्यून रहेको देखाउँछ ।
कारोबारमा आएको गिरावटसँगै कम्पनीको नाफा पनि दबाबमा परेको छ। आर्थिक वर्ष २०२४/२५ मा २० करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनी आर्थिक वर्ष २०२५/२६ मा १ अर्ब ४२ करोड २० लाख रुपैयाँ खुद घाटामा गएको छ । त्यस्तै, कम्पनीको सञ्चालन नाफा मार्जिनसमेत सकारात्मक अवस्थाबाट नकारात्मक बनेको छ। आर्थिक वर्ष २०२४/२५ मा १० प्रतिशत रहेको कम्पनीको पीबीआईएलडीटी मार्जिन आर्थिक वर्ष २०२५र/२६ मा ऋणात्मक भएको छ । कम्पनीको ग्रस क्यास एक्रुअल पनि नकारात्मक छ। कम्पनीको आम्दानी घट्नुमा अन्तर्राष्ट्रिय उडानका केही रुटमा आएको अवरोध, मध्यपूर्वमा बढेको भूराजनीतिक तनाव, हवाई इन्धनको उच्च मूल्य तथा प्रमुख बजारमा यात्रुको माग कमजोर हुनु मुख्य कारण रहेको इक्राको रेटिङ प्रतिवेदनमा उल्लेख छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा आएको उतारचढाव र सञ्चालन खर्चमा भएको वृद्धिले पनि कम्पनीको वित्तीय अवस्थामा थप दबाब सिर्जना गरेको छ ।
एक वर्षमै कमजोर बन्यो वित्तीय अवस्था
कम्पनी घाटाले हिमालय एयरलाइन्सको वित्तीय संरचनासमेत कमजोर बनाएको छ। सञ्चित घाटाका कारण कम्पनीको ट्यान्जिबल नेटवर्थ ऋणात्मक बनेको छ । यसको अर्थ कम्पनीको कुल सम्पत्तिबाट अमूर्त सम्पत्ति र दायित्व घटाउँदा प्राप्त हुने खुद सम्पत्तिको मूल्य ऋणात्मक अवस्थामा पुगेको हो । कम्पनीको चालु अनुपातसमेत घटेको छ । आर्थिक वर्ष २०२४/२५ मा ०.७९ गुणा रहेको चालु अनुपात आर्थिक वर्ष २०२५/२६ मा ०.६८ गुणामा झरेको छ । यसले कम्पनीको अल्पकालीन दायित्व भुक्तानी गर्ने क्षमतामा दबाब रहेको देखाउँछ । त्यस्तै, ब्याज भुक्तानी क्षमता मापन गर्ने इन्ट्रेस्ट कभरेज रेसियो पनि नकारात्मक बनेको छ । अघिल्लो आर्थिक वर्षमा २.१७ गुणा रहेको यस्तो अनुपात पछिल्लो आर्थिक वर्षमा ऋणात्मक भएको रेटिङ प्रतिवेदनमा उल्लेख छ ।
३ अर्ब रुपैयाँको बैंक कर्जाको रेटिङ
कमजोर वित्तीय अवस्थाबीच हिमालय एयरलाइन्सले ३ अर्ब रुपैयाँ बराबरको अल्पकालीन बैंकिङ सुविधाको क्रेडिट रेटिङ गराएको छ । केयर रेटिङ नेपालले केयर-एनपी ए४(CARE-NP A4) रेटिङ प्रदान गरेको छ । कुल रेटिङ गरिएको रकममध्ये २ अर्ब १८ करोड रुपैयाँ गैरकोषमा आधारित बैंकिङ सुविधा र ८२ करोड २ लाख रुपैयाँ प्रस्तावित बैंकिङ सुविधा रहेको छ । केयर-एनपी ए४ रेटिङले समयमै वित्तीय दायित्व भुक्तानी गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ। कम्पनीको सञ्चित घाटा, ऋणात्मक ट्यान्जिबल नेटवर्थ, जहाज लिजसम्बन्धी ठूलो दायित्व तथा कमजोर नगद प्रवाहले रेटिङमा दबाब सिर्जना गरेको प्रतिवेदनमा उल्लेख छ ।
हिमालय एयरलाइन्सले हाल चारवटा एयरबस जहाजमार्फत अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्दै आएको छ । कम्पनीसँग १८० सिट क्षमताका तीनवटा एयरबस ए३२०–२१४ र १४४ सिट क्षमताको एउटा एयरबस ए३१९–११५ जहाज छन् ।कम्पनीले आफ्ना सबै जहाजमा इकोनोमी क्लासका सिट राखेको छ। विशेषगरी मध्यपूर्व, दक्षिण एसिया तथा चीनका विभिन्न गन्तव्यमा उडान गर्दै आएको कम्पनीले नेपाललाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्ने सेवा प्रदान गर्दै आएको छ । कम्पनीको आगामी वित्तीय अवस्था सुधार गर्न कारोबार पुनः बढाउनुका साथै सञ्चालन खर्च नियन्त्रण, आन्तरिक नगद प्रवाहमा सुधार र वित्तीय दायित्व व्यवस्थापन महत्त्वपूर्ण हुने रेटिङ प्रतिवेदनले औँल्याएको छ ।















प्रतिक्रिया दिनुहोस्